१५ चैत २०८०, बिहीबार

‘बिक्ने चिन्ता छैन, धेरै फलाउने प्रतिस्पर्धा’

गुल्मी । गुल्मीमा उत्पादन भइरहेको कफी स्वदेशका ठूला सहरसँगै जापान, फ्रान्स र कोरियालगायत मुलुकमा निर्यात भइरहेको छ । यसबाट विदेशी मुद्रा आर्जन हुन थालेपछि कफी उत्पादक उत्साही छन् । अन्न बालीबाट भन्दा ५/६ गुना बढी फाइदा मिल्न थालेपछि उनीहरू हौसिएका छन् ।

नगदेबालीले ग्रामीण क्षेत्रका कृषक स्वरोजगार उन्मुख भएका छन् । ५ वर्षमै फल लाग्ने भएकाले पढेलेखेका युवामा अन्नबाली मासेर कफी खेती गर्ने होड चलेको छ । जिल्लाका १२ वटै स्थानीय तहमा खेती विस्तार भएको छ । करिब ३ हजार कृषकले खेती गरिरहेका छन् । १/२ वटादेखि ३ हजारसम्म कफीका बोट लगाउने कृषक भएको बिरेन्द्र के.सीले कान्तिपुरको लागि समाचार लेखेका छन् ।

रुरु गाउँपालिका १ की मना भट्टराईले खेतबारीमा कफी रोपेकी छन् । १८ रोपनीमा २ हजार ५ सय बोट छन् । ‘अन्नबालीभन्दा ५/६ गुणा बढी आम्दानी हुन्छ, त्यसैले यतातिर लागेकी छु,’ उनले भनिन्, ‘बिरुवा रोपेको ५ वर्षमै आम्दानी दिन्छ । मलजल, गोडमेल र स्याहार गरेपछि धेरै वर्षसम्म फलिरहन्छ ।’

किसानका लागि कफी पेन्सनसरह बनेको छ । ‘भविष्य उज्ज्वल छ,’ उनले भनिन्, ‘नबिक्ने चिन्ता छैन । बरु कसरी धेरै फलाउने भन्ने प्रतिस्पर्धा छ ।’ उनका अनुसार ४ वटा समूह मिलेर बनेको रुरु कफी सहकारी संघमा गाउँभरिको कफी संकलन हुन्छ । संघमा आबद्ध ७५ जनामध्ये ६ जना मात्र पुरुष छन् । मनाले बगैंचामा ५ हजार ५ सय बिरुवा उत्पादन गरेको बताइन् ।

समूह र संघमा किसान भेला भएर खेतीसम्बन्धी छलफल गर्छन् । ‘कसको कुन बोटमा कति कफी फल्यो, छलफल हुन्छ,’ संघकी अध्यक्ष रहेकी मनाले भनिन्, ‘धेरै फलाउने होडबाजीले उत्पादनमा वृद्धि भएको छ ।’

उनले साढे २ लाख रुपैयाँ बचत गरेकी छन् । जिल्ला सहकारी संघमार्फत कोरिया, जापानलगायत देशमा कफी पुगेको उनले बताइन् । ६० लाख रुपैयाँ गाउँमा भित्रिएको छ । ‘सधैं फल लाग्छ,’ उनले भनिन्, ‘गाउँमा विदेशी मुद्रा भित्रिएपछि हामी उत्साहित भएका छौं ।’ घरखर्च र छोराछोरीको पढाइका लागि कोही पनि विदेश जानु नपर्ने उनले बताइन् ।

नयाँ गाउँकी कमला थापाले भिरालो बारीमा खेती गरेकी छन् । अन्नखेती गर्दा ६ महिना खान पुग्दैनथ्यो । बारीमा रोपेका २ सय बोट कफीबाट मनग्य आम्दानी भइरहेको उनले बताइन् । रुरु र छत्रकोट गाउँपालिकामा कफी उत्पादन, प्रशोधन र खरिदबिक्री हुन्छ । बलेटक्सारको भण्डारीडाँडामा कफी अनुसन्धान कार्यक्रम सञ्चालन हुँदै छ ।

गाउँमै रहेका संकलन केन्द्रमा जम्मा गर्छन् । जिल्ला सहकारी संघले खरिद गर्छ । स्वदेश र विदेशको मागअनुसार प्रशोधन गरेर संघले बिक्री गर्छ । जिल्ला संघका अध्यक्ष यमबहादुर थापाले कफीको बोटमा गबारोलगायत रोग लागे पनि विषादी छर्न मनाही गरेकाले गुणस्तरीय र अर्गानिक भएको बताए ।

‘कफीको जन्मभूमि गुल्मी हो,’ उनले भने, ‘जिल्लाको पहिचान बनेको छ । कृषक स्वरोजगार बनेका छन् ।’ अहिले माग थेगिनसक्नुछ । जति उत्पादन गरे पनि बिक्री नहोला भन्ने छैन । ‘अर्गानिक र खानलाई मिठो भएकाले बेग्लै पहिचान र महत्त्व छ,’ उनले भने, ‘यहाँ आउने पर्यटक र विभिन्न कार्यक्रममा आएकाले कफी रुचाउँछन् र लिएर जान्छन् ।’

संघमा ४ टन पार्चमेन्ट र १६ टन कफी संकलन हुन्छ । ८ टन जापान, कोरिया र फ्रान्समा निर्यात हुन्छ । बाँकी स्वदेशमा बिक्री भइरहेको संघका व्यवस्थापक युवराज आचार्यले बताए । ‘गाउँमा विभिन्न संकलन केन्द्रबाट कफी किन्छौं,’ उनले भने, ‘आधा किलोदेखि क्विन्टलसम्म खरिद गछौं ।

कृषकलाई तपाई उत्पादन गर्नुस्, खरिद गर्ने जिम्मा हाम्रो हो भनेका छौं ।’ बिक्रीको सुनिश्चित गरेपछि बर्सेनि कृषकको संख्या थपिँदै छ । संघ, प्रदेश र स्थानीय सरकारले विदेशजाने युवालाई सहुलियतमा अनुदान दिएर कफी खेतीको दीर्घकालीन योजना अघि सारे प्रत्येक किसान आत्मनिर्भर बन्ने उनले बताए ।

संघका अध्यक्ष थापाका अनुसार सन् १९९५ मा बर्माबाट फर्कंदा गुल्मी आँपचौरका लीला गिरीले कफीको बीउ ल्याए । रोपेपछि ५ वर्षमा फल्यो । आफैं ढिकी–जाँतोमा कुटेर खान थाले । बिस्तारै छिमेकीले रोपे । ०३८ सालमा तत्कालीन राजा वीरेन्द्र साह कृषकको घरमा पुगे ।

कृषकको मागअनुसार कफी खेती विस्तारका लागि वीरेन्द्रले सिँचाइ सुविधा पुर्‍याए । बजारीकरणका लागि मेसिन दिए । ०४२ सालमा आँपचौरमा कफी विकास केन्द्रको स्थापना भयो । त्यसपछि आँपचौरसहित जिल्लाभर कफी खेती विस्तार भयो । अहिले ४१ जिल्लामा विस्तार भएको छ ।

गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र स्याङजा जिल्ला हेर्ने गरी तम्घासमा कफी सुपरजोनको कार्यालय स्थापना भएको छ । जोन प्रमुख उमानाथ भण्डारीले पहिलो चरणमा क्षेत्र छनोटको काम सकिएपछि सूचीकृत गर्ने र समिति गठन प्रक्रिया अघि बढेको बताए । १५० रोपनी क्षेत्रफल निर्धारण गरेर क्लस्टरमा कृषकलाई आबद्ध गराएर खेती गर्ने योजना जोनको छ ।

‘विदेशी मागअनुसार ५ प्रतिशत पनि कफी पुर्‍याउन सकेका छैनौं, प्रत्येक किसानलाई उत्साहित बनाएर कफीमा आबद्ध बनाउने कार्यक्रम छ,’ उनले भने । गुल्मीसहित ५ जिल्ला कफी खेतीका लागि उर्वर भूमि मानिन्छन् ।

स्वायत्त अधिकारसहितका स्थानीय तहले पनि कफी खेतीलाई प्राथमिकतामा राखेका छन् । बजेट विनियोजन गरेर कफी खेतीबाट सम्बद्ध पालिका बनाउने योजनामा उनीहरू छन् ।

सबैभन्दा धेरै मुसिकोट नगरपालिकामा छ । २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गबारो रोग नियन्त्रण, कफीका बिरुवा उत्पादन गर्ने र कृषकलाई प्रोत्साहनलगायतका कार्यक्रम रहेको नगरले जनाएको छ । अरू पालिकाले पनि बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेका छन् । -ईकान्तिपुर डट कमबाट

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्