१६ चैत २०८०, शुक्रबार

पाल्पाली चुकाउनी : कसरी बनाउने रैथाने स्वादको चुकाउनी ?

तपाईं पाल्पा जाँदै हुनुहुन्छ ? कुनै पाल्पाली कहाँ पाहुन लाग्नुभएको छ ? त्यसो भए तपाईंले छुटाउनै नहुने कुरा छ, चुकाउनी । अर्थात पाल्पाली चुकाउनी । शहरका कतिपय भोजनालयमा पनि तपाईंले यो परिकार पाउनुहुनेछ । तर, पाल्पाको रैथाने स्वाद पो नमिल्ने हो कि ?

पाल्पालाई चिनाउने दुई कुरा छन्, कपडा र खानेकुरा । पहिलो, पाल्पाली ढाका । दोस्रो, पाल्पाली चुकाउनी । नेपालले विश्व बजारमा निर्यात गर्ने स्वदेशी उत्पादन हो, पाल्पाली ढाका । अहिले शहरका फेसन बजारमा पनि ढाकाले प्राथमिकता पाउन थालेको छ । कतिपय फेसन डिजाइनरले ढाकालाई महत्व दिएका छन् । त्यसैगरी तिहार जस्ता पर्वमा पनि ढाकाको टोपीले उच्च महत्व पाउने गर्छ ।

पाल्पाको ढाका जस्तै सर्वपि्रय परिकार हो, चुकाउनी ।

 

 

हुन त हामीकहाँ यस्ता थुप्रै खानेकुरा छन्, जसले अपेक्षित व्यापकता पाउन सकेको छैन । तपाईं सुदूर पूर्वको कुनै गाउँमा पुग्नुहोस् वा पश्चिमको दूर-दराजमा । केही न केही रैथाने परिकारको स्वाद फेर्न सक्नुहुनेछ । त्यहीका उत्पादनबाट, त्यहीका चुल्होमा पाक्ने खान्कीको स्वाद तपाईंले अन्यत्र फेला पार्न सक्नुहुन्छ । यस्ता थुप्रै रैथाने परिकार छन्, जसले हाम्रो जिब्रो लोभ्याउँछ । एक पटक चाखेपछि मन अघाउँदैन ।

चुकाउनी के हो ?

चुकाउनी खासमा अचार हो । भात, चिउरा, रोटी आदिसँग खान सकिन्छ । चुकाउनी मात्र खाए पनि हुन्छ ।

आलु र दहीको मिश्रणबाट बन्ने यो अचार स्वादिलो मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ । स्वादिलो र स्वस्थ्यकर भएकाले नै चुकाउनी पाल्पा, तानसेनमा सीमित रहेन । शहरका भोजनालयले आफ्नो मेनुमा यसलाई समेट्यो । नेपाल बाहिर अर्थात विदेशी भान्सामा समेत अहिले चुकाउनी परिकार पाउन थालिएको पारखीहरु बताउँछन् ।

कसरी बनाउने चुकाउनी ?

चुकाउनी बनाउन धेरै समय लाग्दैन, न त श्रम नै । हाम्रो भान्सामा दैनिक उपलब्ध हुने सामाग्रीबाट सहजै चुकाउनी बनाउन सकिन्छ । एक पटक देखेपछि जो कोहीले आफ्नै हातले चुकाउनी बनाउन सक्छन् ।

चुकाउनी बनाउन के-कस्ता सामाग्री जुटाउने त ?

१. आलु (उसिनेको)

२. दही

३. प्याज

४. खुर्सानी

५. धनियाँ

६. कागति

७. तोरीको तेल

त्यसैगरी नुन, मेथी, बेसार आदि चाहिन्छ ।

बनाउने विधि

आलुलाई धेरै नगल्ने ढंगले उसिन्नुपर्छ । त्यसलाई स-सना टुक्रामा काट्ने । यसरी टुक्रा बनाएको आलुमा नुन राख्ने । काटेर टुक्रा बनाएको प्याज मिसाउने ।

अब यसमा छोप लगाउनुपर्छ । छोपको लागि सिलाम वा तील पिँधेर उक्त आलुमा मिसाउनुपर्छ ।

तोरीको तेल तताउने । त्यसमा केही मेथी फुराउने र आलुको माथिबाट राख्ने । त्यसैगरी रातो खुर्सानी र बेसार झानेर आलुमा खन्याउने ।

अब आलुमा ति सबै कुरालाई मजाले घोलेर दही मिसाइदिने । त्यसमाथि ताजा कागतिको रस चुहाउने । धनियाँको पातलाई माथिबाट छर्किने ।

चुकौनी यसरी तयार हुन्छ । यसलाई तपाईं आफ्नो मर्जी अनुसार भात, रोटी आदिसँग खान सक्नुहुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्