७ बैशाख २०८१, शुक्रबार

राजाको फोटो च्यात्ने मुसो 

ज्ञानहरी आचार्य स्वर्गीय भैसक्नु भो । उहाँ रेसुङ्गा बहुमुखी क्याम्पसका स्थापनाकालका क्याम्पस प्रमुख, महेन्द्र माविका प्रधानाध्यापक, पछि सन्धिखर्कको पाणिनी क्याम्पसमा क्याम्पस प्रमुखको रुपमा रहनुभएको थियो । उहाँ मुर्धन्य शिक्षाबिद, कुशल व्यवस्थापक मात्र नभएर खाटी बहुदलबादी पनि हुनुहुन्थ्यो । 

सरकारी र सार्बजनिक संस्थाहरुका कार्यालयमा राजामहाराजा र रानीहरुका तस्बिर बहुदलकालमा पनि सजाएर राख्ने चलन थियो । राजाकै प्रत्यक्ष शासन हुने पन्चायतकालमा त राजाको फोटा झन महत्वका साथ राखिन्थ्यो रे । 

कुरा पञ्चायतकालकै हो, तम्घासमा रहेको महेन्द्र माविको कार्यालयमा रहेको राजा बिरेन्द्रको फोटो बहुदल हर्नेका सन्तान भन्दै ज्ञानहरी आचार्यले च्यातिदिनुभएछ । उहाँ अलि कडा प्रधानध्यापक भएकोले राजाको फोटो च्यात्दा कोहि चु बोल्न सकेनन रे । 

‘रे’ किन भनेको भनी मैले देख्या हैन सुनेको कुरा भएर ‘रे’ भन्या हो है । एउटा सुलसुलेले नजिकै भएको सिडियो अफिस पुगेर राजाको फोटो च्यातेको कुरो लगाइदिएछ । पञ्चायतकाल राजाको शासन तर राजाकै फोटो च्यातिनु सिडिओलाई खपिसक्नु हुने कुरा भएन । भाउन्ने हुँदै गएछ महेन्द्र मावि तिर । 

सबै मास्टरलाई एकैठाउँमा जम्मा गराएर को हो फोटो च्यात्ने ? किन च्यातियो फोटो ? भन्दै सोधेछ कोहि चु बोल्दैनन । ज्ञानहरिकै अगाडी उनको बिरोधमा बोल्ने आँट कसैको थिएन । कोही नबोलेपछी भोलिसम्म जसरी पनि च्यात्नेवाला चाहियो भन्ने फर्मान जारी गरेर सिडियो फर्कियो ।

साझ ज्ञानहरी घर गए, पुरानो मुसेरी खोजे अनि मुसालाइ चारो राखिदिएर मुसालाई पासो थापेछन । मुसा मुसेरिमा कैद भो । 

अर्कोदिन अफिस खुल्नसाथ मुसासहितको मुसेरी लिएर ज्ञानहरी सिडियोको अगाडि उपस्थित भएछन । मुसोलाई सिडियोको टेबलमै राखेर हो यही मुसो हो श्रीमान राजाको फोटो च्यात्ने भन्दा सिडियो टवा परेछन । जिल्लाले मात्र नभै त्यो भेगले अति सम्मान गर्ने ज्ञानहरीलाई सिडिओले केही भन्न सकेनछन । 

यो त भो पञ्चायतको कुरा अहिले गणतन्त्र आइसक्यो तर कोही कसैलाइ राजा जस्तो हुने रहर छ । राजाको पालामा झैँ सरकारी अडडाहरुमा आफ्ना बडेमानका फोटा झुण्डाउने रहर गरिसकेका छन । अब आफ्नो आत्म प्रशंसामा रेडियो एवम टिभिबाट गित बजाउन लगाउन सक्छन । शहर बजारका चोकचोकमा शालिक ठडयाउन लगाउन पनि सक्छन । यी सब सामन्ती संस्कारका अवशेष हुन । यो गलत हो । 

चम्चाको काम भाडो रित्तो गराउनु हो । चम्चाहरुका कुरा सुनेर सामन्ती संस्कारलाइ अपनाउनुलाई गणतन्त्रमा कुनै हालतमा सहि मान्न सकिँदैन । सामन्ती संस्कार, राजसी ठाँट अपनाउनेका फोटा धुजाधुजा पारिदिने मुसा खोज्ने दिन आउला कि न आउला ?

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्