चैते धान खेती लोप हुने खतरा

पर्वत । पर्वतका कृषकहरुले चैतेधान लगाउन छोड्दै गएका छन् । जिल्लाको पैयुँ गाउँपालिका, जलजला र कुश्मा नगरपालिकाका खेतमा चैतेधान लगाउने चलन थियो । तर, पछिल्लो समय किसानहरु चैतेधान लगाउन छोड्दै गएका छन् । 

सिँचाईको अभाव, जनशक्ति नहुनु र अनुदान कटौती जस्ता कारणले कृषकहरुले चैतेधान रोप्न बिस्तारै छोड्न थालेको बताएका छन् ।कृषि ज्ञान केन्द्रका अनुसार ६ वर्षअघि जिल्लाभर सात सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाई हुने गरेको थियो । अहिले मुस्किलले सय रोपनीमा मात्रै खेती हुने गरेको छ । 

किसानहरुलाई चैतेधान प्रति आकर्षित गराउन साविकको कृषि विकास कार्यालयले तीन वर्षअघि कृषि कार्यालयले नै अनुदानको कार्यक्रम ल्याएको थियो ।

चैते धान लगाएबापत किसानलाई प्रतिरोपनी २ सय ५० रुपैयाँका दरले अनुदान रकम किसानले पाउँथे । तर, स्थानीय तह कार्यान्वयनमा आएपछि अनुदानले दिने बजेट काटियो । पैयुँका कृषि संयोजक भबिलाल विकका अनुसार अनुदान नपाउने भएपछि कृषकहरुले चैतेधान रोप्न छोडेका हुन् । 

कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका कृषकहरुले पनि अहिले बिस्तारै चैतेधान छोड्दै गएका छन् । कुश्माका कृषक खकन पुरीले अनुदान कटौती, जनशक्तिको अभाव र सिँचाईको समस्याका कारण धान रोप्न छोडेको बताउनुभयो ।

किसानले सिएच–४५, चैते–२, चैते–४ र चैते–६ जातको धान लगाउँदै आएका छन् । यीमध्ये सिएच–४५ बढी फल्ने जातमा पर्छ । यसको उत्पादन प्रति हेक्टर साढे ३ टन हुने प्राविधिकहरू बताउँछन् । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतको २८ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमध्ये ९ हजार ७० हेक्टरमा वर्षे र २ हजार हेक्टरमा चैते धानको खेती हुने सम्भावना छ ।

बाह्रै महिना सिँचाइ हुने सबै खेतमा चैते धानको खेती विस्तार गर्ने योजना स्वरूप ल्याइएको अनुदान कार्यक्रम स्थगित भएपछि खाद्यान्न आयात प्रतिस्थापनको लक्ष्य विफल भएको ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मीले बताउनुभयो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय