बेसाहारा जीवनसँग संघर्ष गर्दै गरेका पौरखी ‘चटपट बोए ’ को कथा

गुल्मी । चटपट बोए । १५ बर्षीय दिपक । दैनिक उपल्लो तम्घासदेखि खानीगाँउ चौडाहासम्म चोक–चोकमा भेटिन्छन् । चटपट मात्रै हैन, बोली पनि मिठ्ठो छ । त्यसैले परैदेखे पनि सबैले ‘चटपट बोए ’  भनेर बोलाउँछन् । उनी चटपट बेचेरै आफु पालिएका छन् । भाईको पालन पोषण र पढाई उनकै काँधमा छ । दिउँसभरमा एक हजारदेखि १५ सयको चटपट बेच्छन् । दैनिक खर्च कटाएर सरदरमा पाँचदेखि सात सय आम्दानी हुने गरेको छ । 

६ बर्षदेखि बेसाहारा

दिपक र अर्जुनको घर प्युठान गौमुखी गाउँपालिका २ अर्खा हो । उनलाई मजदुरीकै क्रममा आमाले तम्घासमा जन्माइन । दिपक नौ बर्षको हुँदा आमाको मृत्यु भयो । बुबा मानसिक रोगी छन् । तीन बर्ष अघि दिपकले भाई अर्जुनलाई छिमेकीकोमा छोडर वुटवल झरे । विभिन्न होटलमा काम गरेर करिव ५० हजार कमाए । त्यो पैसा बोकेर गत बर्ष फागुनमा तम्घास आए । दुई महिना मुसिकोट होटलमा काम गरे । सोचे जस्तो भएन, त्यो पनि छोडेर भगवति मन्दिर कोठा भाडा लिए । दुई भाईले चटपट व्यापार थाले । 

१२ बजेनै बिद्यालय छोड्छन

आमासँगै बाल्यकालमै श्रमिक बनेका दिपकले पढ्न पाएनन् । गाउँकै स्कुलमा दुई कक्षासम्म पढे । उनी जेनतेन अक्षर चिनेपछि आमासँगै काम खोज्न हिँडे । अहिले बल्ल उपल्लो तम्घास माविको कक्षा ३ मा भर्ना भए । भाईलाई कक्षा १ मा भर्ना गरे । 

‘मेरो भन्दा भाईको पढाईको चिन्ता भएर भर्ना गरे’ उनले धरातल अनलाईनसँग भने, ‘मैले पनि तीन पिरेड पढिरहेको छु ।’ उनले दिउँसो १२ देखि साँझ ७ बजेसम्म चटपट नबेचे गुजरा चल्दैन । त्यसैले पढाई छोडनुपर्ने बाध्यता दिपकलाई छ । 

आफै पौरख गर्छु 

दिपक दैनिक बिहान ५ बजे उठ्छन् । दिउँसो बेच्ने चटपटको सवै सामग्रीहरु ठिक्क पार्छन् । साढे नौ बजे स्कुल पुग्छन् । १२ बजे स्कुलबाट फर्किन्छन् । कोठा भाडा मासिक एक हजार हो । त्यो बाहेक बिद्युत, खानेपानी, ग्यास, चामल र तरकारी गरेर मासिक पाँचदेखि सात हजार खर्च हुने दिपकले बताए । 

चटपटबाट मासिक १० देखि १२ हजार कमाई भएपनि खर्च कटाएर चार/पाँच हजार बचत गर्ने उनको भनाई छ । जन्मदर्ता नभएका कारण बैंकमा खाता खोल्न समस्या भएको दिपकले गुनासो गरे । ‘म सँग सीप छ, अब अरुकोमा काम गर्दिन, आफै पौरख गर्ने हो’ उनले भने, ‘मलाई अहिले जन्मदर्ता र पछि नागरिकता भए पुग्छ ।’

डान्सर बन्ने सोखमा अर्जुन

दिपक र अर्जुन केहि दिन अघि उपल्लो तम्घास माविको बार्षिक उत्सवमा पुगे । बार्षिक उत्सवमा आफैसँगैका धेरै साथीले अविर लगाएर पुरस्कार पाए । त्यो देखेर अर्जुनलाई पनि पढ्ने रहर जाग्यो । ‘धेरैले अविर र पुरस्कार पाएको देखेपछि भाइले पढ्ने रहर ग¥यो’ उनले धरातल अनलाईनसँग भने, ‘पढेपछि डान्सर बन्ने उसको सोख रहेको छ ।’ दिपकलाई समयमै पढ्न नपाएको प्रति पछुतो लागेको छ । उनले बिद्यालयमा भविष्य खोज्ने बेलामा आफ्नै उमेरका बिद्यार्थीहरुलाई चटपटे बेच्दा कहिलेकाहीँ दुख लाग्ने गरेको बताए । 

अनुशासनमा नमुना दाजुभाई

बिद्यालयका प्रध्यानाध्यापक राममणी पन्थीले उपल्लो तम्घासमा भर्खरै भर्ना भएका दुई दाजुभाई अनुशासनको नमुना भएको बताए । उनले उनीहरुको बोली, बानी व्यावहार र सरसफाईबाट आफुहरु प्रभावित भएको बताए । पन्थीले अहिले आफुहरुले निशुल्क भर्ना गरेर कापी कलम पोशाकको व्यावस्थापन गरिरहेको बताए ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय