१६ चैत २०८०, शुक्रबार

कर्मचारी अभावले समस्या परेको छ : अध्यक्ष खत्री

गुल्मीका १२ स्थानीय तहहरुमध्ये चन्द्रकोट गाउँपालिका पनि एक हो । जनतालाई छिटो–छरितो सेवा दिने भनी संघियता कार्यान्वयनको चरणअन्तरगत स्थानीय तह गठन गरिएतापनि चन्द्रकोट गाउँपालिका भने सचिवविहिन बनेको छ । भएको कर्मचारी सबै समायोजनमा गएपछि सचिवविहिन गाउँपालिका बन्न पुगेको हो । तरपनि गाउँपालिकाले समृद्ध गाउँपालिका बनाउने लक्ष्य भने जारी राखेको छ । धरातल अनलाईनका लागि चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीसँग हुमाकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अशं 

गाउँपालिकाको अहिलेसम्म गरेका मुख्य काम बताइदिनुस न 

हामीले सुशासनमा जोड दिएका छौँ । सर्वप्रथम त कार्यालय स्थापना हुँदा र त्यसको व्यवस्थापनमा नै धेरै समय खर्च भयो । त्यसपछि पनि थुप्रै काम गरेका छौँ । शिक्षा क्षेत्रमा सबै विद्यालयमा बाल विकास केन्द्रलाई नयाँ ढङ्गले व्यवस्थापन गरेका छौँ । 

विद्यालयहरुलाई प्रविधीमैत्री बनाउन सवै विद्यालयमा विद्युतीय हाजिरी जडान, कम्युटर र प्रिन्टर वितरण, ‘एक विद्यालय एक बगैँचा’ निर्माण कार्यक्रम सम्पन्न गरिसकेका छौँ । स्मार्ट स्वास्थ्य चौकी निर्माण, सबै स्वास्थ्य चौकीमा फर्निचर व्यवस्थापन, औषधी उपलब्धता, सुक्ष्म स्वास्थ्य शिविर लगायतका काम सम्पन्न गरिसकेका छौँ । 

त्यस्तै कृषि र पशुमा उत्पादन बढाउन आधुनिक औजारको वितरण गरेका छौँ । भने सबै वडाबाट गाउँपालिका केन्द्रसम्म पुग्ने १÷१ वटा मुख्य सडकको स्तरोन्नती गरी पिच कार्य सुरुवात गरेका छौँ । ‘एक घर, एक धारा’ निर्माण, पर्यटकिय र धार्मिक क्षेत्रको संरक्षण र सम्वर्धनका कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् । 

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि आफुले गरेका कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

पुरै सन्तुष्ट त को र कहिले हुन सकिन्छ र ! जनविश्वास टुटाउने काम गरिएको छैन । सकारात्मक छु । जनताले हाम्रो अध्यक्ष भनेर गर्व गर्ने अवस्था सिर्जना गर्ने कुरामा लागिपरेको छु ।  

स्थानीय सरकार सञ्चालनको मुख्य दायित्व के रहेछ ?

स्थानीय सरकार सञ्चालनको मुख्य काम नै नागरिकलाई सेवा दिने हो । नागरिकको नजिकको सरकार भएकोले नै सेवा प्रवाहबाट नागरिकलाई सुःखी र खुशी बनाउनु हो । ठूला–ठूला भौतिक निर्माणको आशा देखाउनु भन्दा पनि स–साना कामबाट नै वास्तविक सुखी नागरिकमा आउने हुँदा स्थानीय सरकारले यस्ता कुराहरुमा ध्यान पु¥र्याउनुपर्ने रहेछ । 

गाउँपालिकामा पर्याप्त मात्रमा कर्मचारी छन् कि छैनन् ?

५ नं. प्रदेशको शुरुबाटै सबैभन्दा थोरै कमैचारीबाट सञ्चालित हो चन्द्रकोट गाउँपालिका । हाम्रो अवस्था संवेदनशील छ । अझ कर्मचारी समायोजनपछि त झन हाम्रो अवस्था निकै दयनीय भएको छ । आठवटै वडामा वडा सचिव हुनुहुन्न । गाउँ कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, सह–लेखापाल र दुई जना खरिदार हुनुहुन्छ । प्राविधिक शाखामा करारका कर्मचारी हुनुहुन्छ । जम्मा ३६ जना कर्मचारी हुनुपर्नेमा गाउँपालिकामा अति न्यून मात्रामा कर्मचारी हुनुहुन्छ । जसले गर्दा जनतालाई सेवा दिन निकै कठिन परेको छ । 

कर्मचारी अभावले के र कस्ता काममा समस्या परेको छ ?

कर्मचारी अभावको मुख्य समस्या त बजेट कार्यान्वयनमा नै हो । मैले माथि भने जस्तै स्थानीय सरकारको पहिलो काम नागरिकलाई सेवा प्रवाह गर्नु नै हो । तर कर्मचारी अभावले चुस्त दुरुस्त काम गर्नमा असर पर्ने नै भयो । काम गर्ने कर्मचारी हुनुहुन्न । तर जनताले जनप्रतिनिधिले काम गरेनन् भन्छन् । यी र यस्तै समस्या खेप्दै आएका छौँ ।

त्यसो भए अहिले कसरी काम चलाउनु भएको छ ?

गाउँ कार्यपालिकाको कार्यालयमा भएका कर्मचारीबाट वडा सचिवको पञ्जीकरणको काम गर्न गराउनु पर्ने बाध्यता साह्ै अप्ठयारो अवस्था सिर्जना भएको छ । एक कर्मचारीलाई विभिन्न शाखामा कामको जिम्मेवारी दिदाँ समयमा काम सम्पन्न गर्न निकै गाहे भएको छ । तथापी कर्मचारीलाई कार्यालयमै खाजाको व्यवस्थापन गरिएको छ । कार्यविधि नै बनाएर कर्मचारीलाई बढी समय काम गरेवापत ४० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था मिलाईएको  छ ।

कर्मचारी ल्याउनेबारे कहिँ कतै पहल गर्नुभएन ? 

कर्मचारीको आकर्षणको लागि गरिएको प्रयास माथि नै उल्लेख गरियो । खास गरी हाम्रो जस्ता स्थानीय तह कर्मचारी  समायोजनमा रोजाई नपर्नु नै समस्या हो भने लोकसेवा आयोगमा हाम्रा स्थानीय उत्पादन नहुनु अर्को समस्या हो । पहल गर्ने काममा कञ्जुस्याई गरिएको छैन तर समायोजनमा कर्मचारीले संघ, प्रदेश र सुगमका स्थानीय तह रोज्ने मौका पाउँदा समस्या सिर्जना भएको छ । यसको अर्थ कर्मचारीप्रति गुनासो पोखेको होइन तर राज्यले संघियताको सहि ढङ्गले कार्यान्वयनको लागि कर्मचारी आवश्यक मात्रामा पठाउनुपर्छ । यदि केन्द्रले पठाउन नसके स्थानीय तहलाई त्यो जिम्मेवारी दिनुपर्छ । 

केन्द्र सरकारको सहयोग कस्तो छ ?

माथिल्ला सरकारको सहयोग सकारात्मक नै छ । खास गरी भौतिक निर्माणमा सहयोग हुँदै आएको छ । तर केन्द्र सरकारले समयमा कर्मचारी समायोजन प्रक्रिया नटुङागाएर थप कर्मचारीको भर्ना लोकसेवा मार्फत गर्ने कुरा छिटो गर्नुपथ्र्यो त्यो हुन सकिरहेको छैन । जसले धेरै स्थानीय तह र केही प्रदेशलाई कर्मचारी अभाव भएको हो । त्यसैलाई केन्द्र  सरकारको असहयोग भन्नु पर्छ । 

जनप्रतिनिधिहरु ठेक्कापट्टामै संलग्न भए भन्ने गुनासो छ नि ?

जनप्रनिधिको बिचमा ठूलो भिन्नता छ । तपाईले भने जस्तै विभिन्न कुरामा रमाउने जनप्रतिनिधि छन् । गाउँपालिका अध्यक्षको हिसावले यो ५ वर्षमा मेरो व्यक्तिगत सम्पत्ती मेरा कारणले थपियो भने मैले अख्तियारको दुरुपयोग गरेको ठहर्नुपर्छ र भष्ट्राचारी सावित हुनुपर्छ । त्यसैले मैले हाम्रो स्थानिय तह भित्र सवै जनप्रतिनिधिलाई हाम्रो आचरण, स्वभाव, जीवनशैली सरल हुनुपर्छ भन्ने कुरामा निर्देशित गरेको छु ।

संघियता महङ्गो भयो भन्ने प्रश्न गरिरहेको वेला हामी भत्तामुखी र सुविधाभोगी भइयो भने यो लोकतन्त्र प्रति जनताको धारणा नकारात्मक हुन्छ । वास्तवमा गाउँको नागरिकले हाम्रा हरेक व्यवहार हेरेर संघियता सञ्चालनप्रतिको धारणा बनाउने हुँदा जनप्रतिनिधि पारदर्शी, अनुशासित र उच्च नैतिकता बोकेको हुनुपर्छ । ठेक्का पट्टाको प्रसङ्ग निकाल्नु भयो त्यो त सोच्ने कल्पना गर्ने होइन । म त विदेश भ्रमणमा गएको आफूले नियामानुसार लिन मिल्ने भत्ता रु ४ लाख पनि नलिने जनप्र्रतिनिधि हो । हेर्नुस वास्तवमा दावाको साथ भन्न सक्छु म खुला किताव हुँ पढनुस र म प्रतिको धरणा बनाईदिनुस ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

जनप्रतिनिधि र कर्मचारी दुई फरक–फरक तरिकाले आएपनि एउटै उदेश्य जनताको सेवा मिलेर गर्नु हुन्छ । एकले अर्कालाई सम्मान गर्नुपदर्छ, एकले अर्काको पिर मर्का बुझ्नुपर्छ र सहयोगी बन्नुपर्छ भन्ने नीति अपनाईएको छ । चन्द्रकोट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच सुमधुर सम्बन्ध भएकै कारणले काममा सहज मिलेको छ ।

तपाईको कार्यकाल अवधिभर चन्द्रकोट गाउँपालिकावासीको मुहार कसरी फेर्ने योजना बनाउनुभएको छ ? 

हाम्रो यो ५ वर्षे कार्यकालमा हामी स्थानीय सरकार सञ्चालन विदाई हुँदै गर्दा हाम्रा नागरिकमा चेतनाको विकास गर्ने, शिक्षा र स्वास्थ्यमा विभिन्न सूचकको वृद्धि गर्ने, नागरिकलाई पेशासँग जोडने, नागरिकलाई कर्तव्यवोधसहित अधिकार प्राप्तिको लागि उत्साह बनाउने, भौतिक निर्माणमा आशातित सफलता प्राप्त गर्ने र सवै नागरिकको नजरमा इमान्दार र परिश्रमका साथ ५ वर्षे कार्यकाल सम्पन्न गरेको आभाष दिनुपर्छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्