७ बैशाख २०८१, शुक्रबार

महायज्ञमा एकैदिन तीस लाख बराबरको दान सङ्कलन

पाल्पा । जिल्लाको पुर्वखोला गाउँपालिका १ को जनमार्ग माध्यमिक विद्यालयमा सञ्चालित महायज्ञबाट एकैदिन तीस लाख बराबरको दान संकलन भएको छ । प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञको छैठौँ दिन उक्त रकम सङ्कलन भएको हो । 

प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले महायज्ञका अवसरमा विद्यालयको प्रगतिको कामना गर्दै भवन निर्माणका लागि केन्द्र सरकार, प्रदेश सरकार र व्यक्तिगत तवरबाट रु ७० लाख बराबरको रकम सहयोग गर्ने घोषणा गरेसँगै हालसम्म रु एक करोडभन्दा बढी दान रकम सङ्कलन भएको जानकारी दिनुभयो ।

विद्यालयको शैक्षिक विकासका लागि आफ्नै वडामा रहेको विद्यालयमा भएको महायज्ञमा पूर्वखोला– १ सिलुवाले एघार लाख एघार हजार एक सय एघार रुपियाँ प्रदान गरेको छ । यो रकम वडा कार्यालयको निर्णयअनुसार प्रदान गरिएको वडाध्यक्ष भोगबहादुर थापाले जानकारी दिनुभयो । यो अहिलेसम्मकै यस महायज्ञमा दान गरिएको ठूलो राशि हो । 

त्यस्तैगरी विद्यार्थीको उज्ज्वल भविष्य र विद्यालयको संस्थागत विकासका लागि भनेर दोस्रो स्थानमा दान गर्ने व्यक्ति पूर्वखोला– १ सिलुवा रोमन्दीका लक्ष्मण ढकाल रहनुभएको छ । उहाँले आफ्नो सपरिवारको तर्फबाट तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ प्रदान गर्नु भएको हो । तेस्रो स्थानमा पूर्वखोला– १ सिलुवा रोमन्दीकै मीनराज ढकालले रु एक लाख पचपन्न हजार दान गर्नुभएको छ ।

पाँचौँ दिन करीब रु २२ लाख रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक श्यामबहादुर दिशाले जानकारी दिनुभयो । विद्यालयको लक्ष्य प्राविधिक शिक्षा सञ्चालन गर्ने भए पनि दान गर्नेले विद्यालयको संस्थागत र भौतिक पूर्वाधार विकासमा समेत सहयोग गरेको उहाँले बताउनुभयो । 

हालसम्म महायज्ञमा रु एक लाख भन्दामाथि दान गर्ने संस्था र व्यक्ति गरी जम्मा १४ जना पुगेको छ । महायज्ञ अवधिभर रु दुई करोडसम्म दान सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ मूलआयोजक समितिका संयोजक गिरमान आले बताउनुहुन्छ । प्राविधिक शिक्षा सँगसँगै महायज्ञबाट सङ्कलित रकम भौतिक पूर्वाधारमा खर्च गरिने बताइएको छ । 

भौतिक पूर्वाधार अभावका कारण झट्टै नै प्राविधिक शिक्षा सञ्चालन गर्न नसकिने विद्यालयले जनाएको छ । महायज्ञमा दानदाता र भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय शैलीमा कथावाचन भइरहेको छ । वैशाख २३ गते देखि शुुरु भएको महायज्ञ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्