१६ चैत २०८०, शुक्रबार

गौतमबुद्ध विमानस्थल धावनमार्ग निर्माण कार्य ठप्प

बुटवल । निर्माणको काम अन्तिम चरणमा रहेका बेला अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ । सरकारी लापरबाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य रोकिएको हो ।

सरकारी कमजोरीकै कारण यस आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइतबारबाट रोकिएको छ । ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले यसअघि सम्पन्न भइसकेको कामको समेत भुक्तानी नपाएको भन्दै आइतबारबाट धावनमार्ग बनाउने काम रोकेको हो ।

ठेकेदार कम्पनीका अनुसार अहिले यस विमानस्थल निर्माण आयोजनामा नगद प्रवाहको समस्या भएको छ । लामो समयदेखि भइसकेको कामको भुक्तानीका लागि आयोजनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तोकता गरेको थियो । सम्पन्न भइसकेको कामबापत प्राप्त हुनुपर्ने भुक्तानीका लागि मन्त्रालयले फाइल बेलैमा एसियाली विकास बैंकमा नपठाउँदा ठेकदार कम्पनीले समयमा भुक्तानी नपाएको हो ।

यस्तो अवस्थामा नदीजन्य गिट्टी बालुवाको आपूर्तिमा पनि समस्या भोग्नुपरेको सो आयोजनाले जनाएको छ । दाङ, चितवन र बुटवलबाट आयोजनाका लागि गिट्टी बालुवा ल्याउनसमेत अहिले विभिन्न क्षेत्रमा अवरोध भएको सो आयोजनाले जनाएको छ । ठेकदार र स्थानीय तहबीच कुरा नमिलेर क्रसरजन्य सामग्रीको आपूर्ति रोकिँदा आयोजनाका लागि आवश्यक निर्माणजन्य वस्तु आपूर्तिमा समेत समस्या भएको जानकारी गराउँदै सो आयोजनाले यस्ता समस्या समाधान नगरिए विमानस्थल समयमै सम्पन्न गरेर सञ्चालनमा ल्याउन चुनौती थपिएको बताएको छ । राजधानी दैनिकमा खबर छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्