७ बैशाख २०८१, शुक्रबार

जलाशयको नगर बन्दै घोराही 

दाङ । केही वर्षयता घोराही उपमहानगरले महत्वपूर्ण योजनाका रूपमा जलाशय निर्माणलाई तीव्रता दिएको छ । विगत दुई वर्ष अगाडिदेखि घोराहीमा शुरु भएको जलाशय निर्माणकार्य अहिले निकै फलदायी, सफल र सबैको आकर्षणको केन्द्र बनेको छ । अहिले घोराहीका सबैजसो वडामा जलाशय बनेका छन भने केहीमा बन्ने तयारीमा छन ।

जलाशय निर्माणपछि कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्न थालेपछि र गाउँले रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो । शुरुमा यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि यहाँको जनताको दैनिकीमा समेत परिर्वतन भएको र धेरैको रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाएको हो ।

उपमहानगर इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार उपमहानगरभित्र अहिले १५ जलाशय बनिसकेका छन भने अरु पाँच निर्माणको तयारीमा छन । उपमहानगरले गत वर्षसम्म यस क्षेत्रमा १२ जलाशय निर्माण गरेको थियो भने तीन जलाशय पहिले नै थिए । अघिल्लो वर्षसम्म उपमहानगरले जलाशय निर्माणका लागि मात्रै करीब रु पाँच करोड खर्च गरेको थियो ।

चालू आर्थिक वर्षमा पाँच जलाशय थप बनाउन लागिएको छ । नयाँ बन्ने जलाशयका लागि रु साढे दुई करोड खर्च गर्न लागिएको इञ्जिनीयर श्रेष्ठले बताए । उनका अनुसार चालू आर्थिक वर्षमा घोराही–१ सुर्केडाँगीमा रहेको चेपखोलामा रु एक करोडको लागतमा निकै ठूलो र फराकिलो जलाशय बन्न लागेको छ । जहाँ प्रदेश सरकारको तर्फबाट रु ५० लाख र उपमहानगरले रु ५० लाख खर्च गर्न लागेको छ ।

यस्तै वडा नं २ को बलरामपुरमा रु २५ लाख, वडा नं १८ को गिठेपानीमा रु २५ लाख, वडा नं १३ को जङ्खोलीमा रु ५५ लाख र वडा नं १० को नारायणपुरमा रु ३६ लाखको लागतमा जलाशय निर्माण हुन लागेका हुन ।

उपमहानगरले पानीविनाको कृषि र सुन्दर गाउँको परिकल्पना गर्न नसकिने भन्दै उपमहानगरलाई जलाशयको नगर बनाउन थालेको छ । नगरले जलाशयलाई पहिलो प्राथमिकतामा राखेका कारण यहाँका स्थानीयवासीले पनि जलाशय निर्माणको माग धेरै गर्ने गरेका छन ।

इञ्जिनीयर श्रेष्ठका अनुसार धेरै जनताले जलाशयको माग गरिरहेका छन । अझै पनि वडा नं ४ को रोहीनीखोला, वडा नं ५ लक्ष्मीपुरको अमारे सोता, वडा नं १३ को बाहुनडाँडालगायतका क्षेत्रमा अझै पनि जलाशयको टड्कारो आवश्यकता रहेको र ती स्थानमा आगामी दिनमा जलाशय निर्माण गर्ने उपमहानगरले जनाएको छ । घोराही उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन विभिन्न ठाउँमा कृत्रिम जलाशय बनाउँदै आएको छ । ढिकपुरगाउँको वरिपरि तीन जलाशय बनाएको छ ।

किसानलाई सहज होस र व्यावसायिक बनुन भन्ने उद्देश्यले नै जलाशय निर्माणलाई उच्च प्राथमिकतामा राखेको नगरप्रमुख नरुलाल चौधरीले बताए । सिँचाइसँगै पानीको स्रोत बढाउने, पर्यटकलाई आकर्षण गर्ने, कुवा, जरुवा नसुकुन र गाउँ हरियाली बनाउन जलाशयको अवधारणा लिएको प्रमुख चौधरीको भनाइ छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्