१५ चैत २०८०, बिहीबार

समुदायको लगानीमा बुद्ध बिहार निर्माण हुँदै

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारबाट करीब एक किलोमिटरको दूरीमा सुन्दर र शान्त वातावरणमा रहेको बुद्ध बिहारमा शान्तिका अग्रदूत भगवान गौतमबुद्धका उपदेश लेखिएको छ । गौतम बुद्धका अति प्रभावशाली उपदेशसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकषर््िात गर्ने गरी पूर्वाधार विस्तारसमेत गरिएको छ ।

बेनीबजार, मङ्गलाघाटबाट पदमार्ग तथा सवारीसाधनको प्रयोग गरी पुगिने बिहारमा सहजै प्रवेश पाइन्छ । बुद्ध शिक्षा प्राप्तिका लागि त्यहाँ रहेकाको स्वागत तथा बिहारबाहिर र भित्रको वातावरणले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । भगवान बुद्धका बारेमा सुनेर पनि बुद्ध शिक्षाका बारेमा जानकारी नभएकालाई बिहारको प्रवेशद्वारदेखि बुद्धको मूर्ति रहेको क्षेत्रसम्म पुग्ने बेलामा भित्तामा सजाइएका भनाइसहितका तस्वीरले समेत ज्ञान प्राप्तिमा सघाउँछ ।

हरेक व्यक्तिको जीवनमा शान्तिको अनुभूति नगर्दासम्म समाज र राज्यमा शान्ति नुहने भएकाले पनि मानिसले जन्मसँगै अपरिहार्य लिएर आउने दुःखजस्तै शारीरिक, मानसिक, पीडा, शोकलाई समेत बुद्ध शिक्षाले प्रष्ट व्याख्या गरेको छ । बुद्ध शिक्षाको प्रचारप्रसारका लागि म्याग्दी बौद्ध सङ्घको पहलमा निःशुल्क जग्गा, आर्थिक सहयोग तथा चन्दा सङ्कलन गरी बनाइएको बिहारसहितको भौतिक संरचनाले समेत बजार नजिककै नयाँ पर्यटकीय गन्तव्यको रूपमा बिहारलाई चिनाउन सफल भएको छ ।

स्थानीय समुदायले करीब रु ६० लाख आर्थिक सङ्कलन तथा निःशुल्क जग्गासहितको सहयोगबाट बुद्ध बिहारको निर्माण गरेसँगै बुद्ध बिहारलाई समेत पर्यटकीयस्थलका रुपमा विकास गरिएको म्याग्दी बौद्ध सङ्घका अध्यक्ष यजनलाल शाक्यले बताउनुभयो ।

शाक्यले एशियाका तारा विश्वज्योति भगवागन् बुद्धको उपदेश र शिक्षालाई बजारदेखि ग्रामीण क्षेत्रसम्म प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०५३ मा पहिलोपटक खुला बुद्धजयन्ती समारोह गरी २०५४ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी सङ्घ गठन भएको थियो । बौद्ध चैत्यको निर्माण गरेपछि बुद्ध शिक्षाको महत्वका बारेमा प्रचारप्रसारसहित समुदायकै लगानीमा भौतिक संरचना निर्माण गरिएको अध्यक्ष शाक्यको भनाइ छ ।

सदरमुकाम आसपासमा घुम्न तथा छोटो समय रमाउन चाहने स्थलको अभावलाई बुद्ध बिहारले पूरा गरेको छ । करीब दुई रोपनीमा फैलिएको बिहारमा बस्ने स्थान, फ्रि वाइफाइ तथा विभिन्न प्रजातिका फूलले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने महिला बौद्ध सङ्घकी अध्यक्ष टकसरा रानाले बताउनुभयो । “शिक्षा र भ्रमण दुवैका लागि बिहारमा पूर्वाधार विस्तारमा प्राथमिकता दिइएको छ, पछिल्लो समय जिल्ला बाहिरबाट घुम्न आउनेको रोजाइमा समेत परेको छ”, रानाले भन्नुभयो । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्