७ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुको सबैभन्दा पुरानो हाट बजार अव्यवस्थित, स्थानीय र यात्रुलाई हैरानी

कपिलवस्तु । कपिलवस्तुको सबैभन्दा पुरानो हाट बजार गजेहडालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने सर्वसाधारणले माग गरेका छन ।

साताको एक दिन बिहीवार वाणगङ्गा नगरपालिकाको गजेहडामा लाग्ने हाट बजार सडकमै लाग्दा स्थानीयवासीलाई आवाजतजावत र यात्रुलाई समस्या हुने गरेको छ । हाट बजार व्यवस्थित नहुँदा सबैलाई समस्या देखिएको हो । सडकमै दैनिक उपभोग्य वस्तु, तरकारी, कपडा पसललगायत सामग्रीले सडक भरिएको हुन्छ । बजारको दिन सो स्थानमा सवारी चलाउनसमेत मिल्दैन । गजेहडा वजारको सडकमै बजार लगाउँदा सवार गर्न निकै गाह्रो भएको स्थानीयवासी मन्तु थारुले बताउनुभयो ।

“बजार निकै पुरानो हो तर यसलाई व्यवस्थापन गर्नुपर्ने र नगरले वैकल्पिक व्यवस्थापन गर्नु जरुरी रहेको उहाँको भनाइ छ । बजार व्यवस्थित नहुँदा किनमेल गर्न असहज हुने गरेको सर्वसाधारण बताउँछन । गजेहडा बजार व्यवस्थित नहुँदा सबैलाई गाह्रो भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईँले बताउनुभयो । यसको व्यवस्थापनमा सबैले ध्यान पु¥याउनु पर्ने उहाँको भनाइ छ । गजेहडा बजार विकास समितिका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले अब बजारलाई व्यवस्थित गरिने बताउनुभयो । बजार व्यवस्थित गर्नका लागि जनप्रतिनिधिसहितको सर्वपक्षीय भेला भएको र आगामी दिनमा सडकमा बजार नलगाउने, सडकभित्रको बजारमा कृषिजन्य सामग्रीको मात्र बजार राख्ने सहमति भएको उहाँ बताउनुहुन्छ ।

स्थानीय, सर्वसाधारण, नागरिक, राजनैतिक दल र जनप्रतिनिधिबीच छलफल गरिएको थियो । वाणगङ्गाका उपप्रमुख चक्रपाणि अर्यालले अब छिट्टै बजारको व्यवस्थापन गरिने बताउनुभयो । पर्याप्त सार्वजनिक जग्गा नहुँदा सडकमै बजार लाग्दै आएको जनाउँदै उहाँले अब यसको निकास निकालिने दृढता व्यक्त गर्नुभयो ।

यसैबीच वाणगङ्गा – ४ जीतपुर क्षेत्रका पसलको मंगलबार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको समन्वयमा नगर क्षेत्रका विभिन्न पसलको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा अधिकांश पसल नवीकरण नगरिएको, म्याद सकिएका सामान राखिएको, पसलमा उपभोक्तामूल्य सूची टाँस नगरिएको पाइएको छ । उपप्रमुख अर्यालको नेतृत्वमा भएको अनुगमन टोलीले ४ नम्बर बजार क्षेत्रका करीब २२ पसलको अनुगमन गरेको थियो । 

टोलीले लेखन सामग्री, होटल, किराना, फलफूल पसलको अनुगमन गरेको हो । अनुगमनपछि टोलीले पसल नवीकरण गर्न, मूल्यसूची राख्न तथा म्याद गुज्रेका सामान नराख्नका लागि सचेत गराएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्