८ बैशाख २०८१, शनिबार

मुख्यमन्त्री पोखरेल र चीनको कान्सु प्रदेशका गर्भनर थाङबीच भेटवार्ता

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र चीनको कान्सु  प्रदेशका गर्भनर थाङ रनच्यानबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र सम्भावनाबारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित धेरै बौद्ध संस्कृतिसँग सम्बन्धित सम्पदास्थलहरु रहेको र ती क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी लाभ लिने गरी योजना अघि सारिएको मुख्यमन्त्रीले बताए ।
 
गर्भनर रनच्यानले प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुशी लागेको बताए । उहाँले नेपाल र चीन बीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउँदै सम्बन्धलाई मजबुत र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने बताए । द्विपक्षीय सहकार्यमार्फत सांस्कृतिक तथा पर्यटन क्षेत्रमा धेरै गर्न सकिने उनको भनाई थियो । उनले प्रदेश ५ को अवस्थाबारे मुख्यमन्त्रीबाट जानकारी पाएपछि प्रदेश ५ र कान्सु  प्रदेशको अवस्था मिल्दोजुल्दो भएको बताए । कान्सु प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवद्र्धन गरी राम्रो लाभ लिएको जानकारी दिदै नेपाल आउने स्याउमध्ये आधा भन्दा धेरै कान्सुबाट आउने बताए ।

भेटवार्तामा मुख्यमन्त्रीले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिने बताए । स्याउ उत्पादन राम्रो रहेको र नेपाल आउने स्याउको ठूलो हिस्सा कान्सुबाट आएको जानकारी पाएपछि मुख्यमन्त्रीले नेपालको हिमाली क्षेत्रमा पनि स्याउको सम्भावना राम्रो रहेको र प्रविधि हस्तान्तरणको अपेक्षा लिएको बताए । पर्यटन प्रवद्र्धनमा कान्सुको अनुभव यहाँ काम लाग्ने भएकाले द्विपक्षीय  अनुभव आदानप्रदानलाई बढाउँदै लैजानुपर्ने मुख्यमन्त्री पोखरेलले बताए ।

यसैगरी द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री पोखरेल र गर्भनर थाङको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्सु  प्रदेशका सांस्कृतिक तथा पर्यटन  निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गरिएको हो ।
 
सांस्कृतिक आदान प्रदान र पर्यटन पवद्र्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण आदान प्रदान बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने समझदारीपत्रमा उल्लेख छ ।

त्यसैगरी, रुपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चर बीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति भएको छ । सहमतिपत्रमा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की र गाननान स्वायत्त प्रिफेक्चरका डेपुटी गर्भनर शी चानयानले हस्ताक्षर गरी सहमति पत्र आदानप्रदान गरेका हुन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्