सचेतना जगाउन नागरिक शिक्षा बहस कक्षा 

कपिलवस्तु । जिल्लाका दुई गाउँपालिकामा नागरिक शिक्षासम्बन्धी सचेतनामूलक बहस कक्षा सञ्चालन गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र र आइएम सुइडिसको साझेदारीमा कक्षा सञ्चालन गरिएको हो । मायादेवी गाउँपालिका–३ फुलिकाका दुई स्थान र शुद्धोधन गाउँपालिका–१ का पतेरिया र वडा नं २ को नन्दनगरका चार स्थानमा कक्षा सञ्चालन गरिएको हो । 

स्थानीय सीमान्तकृत समुदायका दलित, जनजाति महिला, सुकुुम्वासी, अति विपन्न नागरिकहरुलाई स्थानीय सरकार तथा सेवा प्रदायक निकायबाट उपलब्ध गराउने सेवासुविधाबारे सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ कक्षा सञ्चालन गरिएको कार्यक्रमका शिक्षा तथा युवा थिम लिडर रामरेखा बरुणले जानकारी दिए ।

एक वर्षसम्म सञ्चालन हुने कक्षामा स्थानीय सरकारबाट उपलब्ध गराउने सेवा तथा सुविधा, वडामा रहेका सेवा प्रदायक निकायले गर्नुपर्ने कार्य, जनप्रतिनिधिको काम कर्तव्य र अधिकार तथा समुदायमा आफ्ना अधिकार स्थापित गर्न नीतिगत बहसबारे कक्षामा छलफल हुने उहाँको भनाइ छ । बहसमा तीन वडाका १५ वर्षदेखि ५० वर्ष उमेर समूहका ३५० भन्दा बढी महिलाको सहभागितामा दैनिक दुई घण्टा छलफल सञ्चालन हँुदै आएको छ ।

छलफल केन्द्रमा सहभागी महिलाले आफ्नो व्यक्तित्व विकाससँगै विद्यालयबाहिर रहेका बालबालिकाको पहिचानका लागि घरदैलो अभियान तथा शिक्षामूलक सचेतना कार्यक्रम सञ्चालन गरेको बताइएको छ । बहसमा सहभागी सुकमती थारूले भनिन, “जनप्रतिनिधिलाई निर्वाचित गराए पनि उनीहरुकोे काम कर्तव्य र अधिकार के हो भन्ने थाहा थिएन तर कक्षामा सहभागी भएपछि गाउँपालिकाका तथा नगरपालिकाले के काम गर्ने रहेछ भन्ने कुरा बिस्तारै बुझ्न थालेका छौँ ।”

स्थानीय सहजकर्तामार्फत नागरिक शिक्षा कक्षामा राज्यले दिने सेवासुविधा, स्थानीय निकायको काम, शिक्षा, सामाजिक लेखा परीक्षण, सामाजिक स्रोत नक्सा, महिला अधिकार र आफ्नो हकअधिकारका विषयमा छलफल भई समस्या समाधानका लागि प्रयास गरिने संस्थाले जनाएको छ । संस्थाले पाँच वर्षको अवधिमा ३० स्थानमा कक्षा सञ्चालन गरी करीब दुई हजारभन्दा बढी महिलालाई अभियानमूलक क्रियाकलपामा सहभागी गराउने योजना बनाएको संस्थाका अध्यक्ष तेजप्रसाद आचार्यले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय