७ बैशाख २०८१, शुक्रबार

असुरक्षित गर्भपतन गर्दा मृत्युको मुखमा १३ वर्षिय बालिका

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको गर्भलाई आफैँ गर्भपतन गर्न खोजेकी थिइन । गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियुमा उपचार भइरहेको छ ।

ती बालिकाले तीन महीनाको गर्भ फाल्न गर्भपतन गराउने औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो । प्रहरी उपरीक्षक पौडेलले नेपालगञ्ज उपमहानगरपालिका–१० बाट उद्धार गरी अस्पताल भर्ना गरेको बताए । प्रहरीले गस्ती गर्ने क्रममा बालिकालाई रोइरहेको अवस्थामा फेला पारेको थियो । “बालिका र उनको परिवारसँग कुरा बुझ्दा बालिकाको अवस्था गम्भीर भएकाले तत्काल भेरी अस्पताल उपचारका लागि ल्यायौँ” उनले भने । बालिकाले असुरक्षितरुपमा गर्भपतन गर्ने औषधि सेवन गराउँदा अत्यधिक रक्तश्राव भइरहेको छ ।

प्रहरी उपरीक्षक पौडेलले भने “भेरीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगेका हौँ । अहिले बालिका आइसियुमा छिन । घटनाको गहन अनुसन्धान भइरहेको छ ।” 

१३ वर्षीय बालिका के कसरी गर्भवती भइन र उनलाई कसले वा कसरी गर्भपतन गराउन खोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए । रगतको कमी भएकी बालिकालाई बचाउन यतिबेला सबैतिर रगतका लागि आग्रह गरिएको छ । 

‘एबी’ नेगेटिभ रगत समूहकी ती बालिकालाई रगतदान गर्न प्रहरीले अनुरोधसमेत गरेको छ । अत्यधिक रक्तश्रावपछि उनको शरीरमा रगतको मात्रा कमी भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, उनको शरीरमा दुई दशमलव चार पिन्ट रगत मात्र रहेको छ । अत्यधिक रक्तश्राव भएपछि नेपालगञ्ज भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । भेरी अस्पतालमा उपचारार्थ बालिकाको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर लगिएको होे ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्