८ बैशाख २०८१, शनिबार

सादा पोशाकमा दुव्र्यसनीका घरघरमा प्रहरी

बागलुङ । गत फागुन २५ गतेदेखि जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी ग¥यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपासमा रहेका दुव्र्यसनीको पहिचान भएको छ ।

प्रारम्भिक चरणमा सादा पोशाकमा खटिएको प्रहरीले दुव्र्यसनीको पहिचान गरेको हो । झण्डै एक हप्ताको प्रयासपछि दुई समूहमा आबद्ध आठ प्रहरीको समूहले ४० दुव्र्यसनी रहेको पत्ता लगाएको थियो । पहिचान भएका दुव्र्यसनीलाई प्रहरीले पक्राउ भने गरेको छैन । लागुऔषध दुव्र्यसनी कम गर्न अभियान चलाएको प्रहरीले दुव्र्यसनी र उनीहरुको परिवारलाई एकै ठाउँमा राखेर परामर्श दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

आफ्नै छोराछोरी दुव्र्यसनीमा लागेको विषयमा जानकारीसमेत नभएको परिवारमा पुगेका प्रहरीले लागुऔषध दुव्र्यसनीको असर र त्यसबाट परिवार तथा समाजमा पर्ने असरका विषयमा जानकारी गराउने गरेको छ । प्रहरीले लागुऔधष प्रयोगकर्तालाई पक्राउ गरेर कारवाही गर्ने कानूनी आधार नभएका कारण उनीहरुको पहिचान गरेर परामर्श दिने गरिएको शर्माले जानकारी दिनुभयो ।

पहिचान भएका सबै दुव्र्यसनी प्रारम्भिक चरणको प्रयोगकर्ता भएकाले उनीलाई पारिवारिक वातावरणबाट सुधार गर्न थालिएको उहाँले बताउनुभयो । अहिले पनि प्रहरीले उनीहरुको घरघरमा पुगेर परिवार र सेवनकर्ता सबैलाई राखेर परामर्श दिने गरेको छ ।

लागुऔधको प्रयोग र व्यापारलाई नियन्त्रण गर्न सशक्त अभियान चलाइरहेको प्रहरीले थप २७ जनाको पहिचान गरेर पक्राउ नै गरेको छ । पक्राउ परेकामध्ये १३ प्रारम्भिक चरणकै प्रयोगकर्ता रहेकाले परामर्शपछि तारेखमा छोडिएका छ भने दुई वर्षभन्दा धेरै निरन्तर लागुऔषध प्रयोग गर्दै आएका छ जनालाई सुधार केन्द्र पठाइएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताउनुभयो ।

प्रहरीकै पैसा बोकेर फरार

जिल्लामा लागुऔषको प्रयोग भइरहेको जानकारी पाएको प्रहरीले ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने प्रयास गरेको भएपनि असफल भएको जनाएको छ । साधा पोशाकमा प्रयोगकर्ताको रुपमा लागुऔषध खरीद गर्न पुगेका प्रहरीलाई नै ओसारपसारमा संलग्न एक व्यक्तिले रु १० हजार ५०० ठगेर बेपत्ता भएका छन् ।

पर्वतको मालढुङ्गामा लागुऔषध खरीदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔषध लिन भन्दै हिँडेका कुमार भनेर चिनिने एक व्यक्ति बीचैबाट फरार भएको शर्माले जानकारी दिनुभयो । “पहिले पैसा लिएर लागुऔषध दिने उनीहरुको सिस्टम हुँदोरहेछ, हामीले सोहीअनुसार रङ्गेहात पक्राउ गर्ने प्रयास ग¥यौँ”, उहाँले भन्नुभयो, “तर बिक्री गर्ने व्यक्ति पैसा लिएर फरार भयो ।” जिल्ला र आसपासका क्षेत्रमा उक्त व्यक्ति नरहेको र खोजी भइरहेको शर्माले बताउनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्