७ बैशाख २०८१, शुक्रबार

बालमैत्री बनाऔँ हाम्रो व्यवहार !

हामी सानो छँदा रातीमा अबेरसम्म ननिदाउँदाको दिन आमा, हजुरआमाहरुले भन्नुहुन्थ्यो “ननिदाए भुत आउँछ, चिम्म गरेर निदाउनुपर्छ ।” त्यसपछि डरले आमाको छातीमा फलाममा चुम्बक टाँसिएजस्तै टाँसिएर निदाइन्थ्यो । एकैचोटी अर्को दिन बिहान उठ्दा नत भुत देखिन्थ्यो नत आमासँग भुत आयो कि आएन भनेर सोधिन्थ्यो । 

भुत कस्तो हुन्थ्यो, कत्तिको ठुलो हुन्थ्यो, कहाँ बस्थ्यो ? आयो भने के गथ्र्यौँ ? यी र यस्ता प्रश्न मनभित्र नै खेलिरहन्थे । नत आमासंग सोधिन्थ्यो, नत हामीलाई आमाले नै भन्नुहुन्थ्यो । भुतको डरमा कति काम जबरजस्त गरिएको रहेछ, उमेर बढ्दै जाँदा बिस्तारै आफै थाहा हुँदै गयो । 

भुत केवल हामीलाई ठेगानमा ल्याउने आमा हजुरआमाको काइदाको तरीका रहेछ भनेर । बाल्यकालको कल्पनाको भूतले अहिलेसम्म पनि मेरो मनमा नराम्ररी त्रासको डेरा जमाएर बसेको छ ।

२०७६ बैशाख ३१ गते अनलाइनखबरमा प्रकाशित विद्यालयले तपाईको बच्चालाई मनरोगी त बनाउँदै छैन  भन्ने शिर्षकको लेख पढ्दा दिनहुँ होमवर्कको ओझिलो भारी बोक्ने मेरो ५ वर्षीय छोरालाई सम्झें झलझली । मैले बाल्यकालको भूतलाई सम्झिएँ अनि सम्झिएँ होमवर्क गर्न नमान्दा भुतजस्तै डर देखाउन प्रयोग गरिने छोराका सर् अनि मिसहरु । 

हामीमध्ये धेरैजसोका बच्चाहरुले होमवर्क गर्न मानेनन् भने हामी भन्छौं होमवर्क गर्ने भए गर, नत्र मिसलाई, मेडमलाइ, सरलाई फोन गरिदिन्छु, बोलाइदिन्छु । अनि बच्चाले चुपचाप डरैडरमा होमवर्क गर्छ, सिध्याउँछ ।   

हामी छोराछोरीले होमवर्क गरेकोमा सर, मिसलाई भनिदिने हाम्रो गज्जबको तरिका सफल भएकोमा फुरुंग हुन्छौँ, गर्व गछौ र  यसैलाई सफलता ठान्छौँ। तर हामीले कहिल्यै सोच्दैनौँ कि हाम्रो छोराछोरीको मानसिकतामा सर मिसको इमेज कस्तो छ ? भुतजस्तो वा साथीजस्तो ? हुनसक्छ, कतिपय महँगो शुल्क लिने मण्टेश्वरी विद्यालयमा बालबालिकाको सिकाइको तरिका पनि फरक होला । तर प्रायजसो नीजी विद्यालयमा सिकाउने तरिका अहिले पनि सुगा रटाई नै छ । शिक्षा व्यापार, व्यवसाय जस्तो बनिदिँदा त्यसको अप्रत्यक्ष भार कलिला मस्तिष्कमा पर्दछ । खेल्दै,  रमाउँदै, हाँस्दै सिक्ने बेलामा सानै उमेरदेखि घोक्न र रट्न बाध्य छन् बच्चाहरु । यो त भयो विद्यालयको कुरा ।

अब अभिभावकको कुरा गरौं । धेरैजसो समय बालबालिकाले घरमै बिताउने भएकोले अभिभावक उनीहरुका मुख्य मार्गदर्शक हुन् भनिन्छ ।बच्चालाई हामीले गर्ने व्यवहार, दिइने वातावरण सबै कुराले उसको बानीको विकास हुने हो । यो विकासका लागि हाम्रो व्यवहार बालबालिकामैत्री हुनु जरुरी देखिन्छ । जसलाई उल्लेखित कुराहरुले केही सहयोग पुग्न सक्छ ।

आफ्नो बच्चालाई अरुसँग तुलना नगरौँ

सबै बच्चाहरुको रुचि, चाहना, क्षमता एउटै हुँदैन । उनीहरु हुर्केको घरपरिवारको वातावरण, साथीभाई, हुर्काइ, हेरचाह, खानपान सबै कुरा फरक फरक हुन्छन् । जसले उनीहरुको शारिरीक मानसिक लगाव र क्षमतामा पनि प्रभाव पारेको हुन्छ । तर यसको बुझाई शिक्षित भनिने अभिभावकमा पनि कमजोर देखिन्छ । 

अरुको बच्चासँग आफ्नो बच्चालाई तुलना गरेर उसलाई हीनताबोध हुने व्यवहार गर्नुहुँदैन । कक्षामा प्रथम नहुने बच्चाहरुले पनि अन्य थुप्रै राम्रा कामहरु गर्न सक्छन्, हाम्रो महत्वाकांक्षा उनीहरुमाथि नथोपरौँ।  

सानो सानो काममा स्याबासी दिउँ, हौसला बढाउँ 

बच्चाहरुले गर्ने स–साना कामहरु हुन्छन्, जस्तै आफ्नो सामानहरु ठीक ठाउँमा मिलाएर राख्ने, राम्रोसंग हात धुने यस्तै यस्त थुप्रै कामहरुमा हामीले उनीहरुलाई स्याबासी दिनु जरुरी छ ।  जसले उनीहरुको मनोबल बढाउन सहयोग गर्दछ ।
 
बच्चाहरुको सामाजिकीकरणमा ध्यान दिउँ 

अहिलेका बच्चाहरु मोबाइलको अत्यधिक प्रयोग, एकल परिवार, अभिभावकको ब्यस्त जीवनशैली लगाएतका कारणले सामाजिकीकरणबाट टाढा हुँदै गइरहेका छन् । 

आफन्त, मान्यजन, घरपरिवारसंगको भेटघाट, चिनजान पातलिंदा एक्लो हुँदै गइरहेका छन् । जसले उनीहरुको सामाजिकीकरणलाई कमजोर बनाउँदै लगेको छ । तसर्थ आजका अभिभावकले समय समयमा सार्वजनिक समारोह,  कार्यक्रम, बाहिरी परिवेश,  आफन्तसंगको नियमित भेटघाट र सम्बन्धमा पनि बच्चालाई सहभागी गराउन जरुरी छ । 

बच्चाको कुरा सुनौँ, प्रतिक्रिया तुरुन्तै दिउँ 

बच्चाहरुको स्वभाव जिज्ञासु हुन्छ, कैंयौ प्रश्नहरु उनीहरुको मनमा आउँदछ  । कुनै कुरा कसरी भयो ? किन भयो ? यी र यस्ता थुप्रै विषय उनीहरुको मनमा खेलिरहेका हुन्छन् । हामीलाई सामान्य र अनावश्यक लाग्ने विषय पनि उनीहरुका लागि महत्वपूर्ण हुन्छन् । 

हामीले झञ्झट नमानीकन प्रतिक्रिया दिंदा उनीहरुका लागि राम्रो सिकाई हुनसक्छ । प्रायजसो कामकाजी अभिभावकले बच्चाहरुको यस्तो कुरामा कम समय दिएको पाइन्छ । 

दिनभरको अफिसको कामको बोझले गर्दा बेलुका घरमा आउँदा थकान महसुस भइरहेको हुन्छ । बच्चासँग फ्रेस मूडमा कुरा गर्ने, कुरा सुन्ने गर्न जरुरी छ । जसले उनीहरुमा आत्मसम्मानको महसुस हुन्छ । 

बच्चाको खुसी खोजौँ, हाम्रो खुसीका लागि उनीहरुलाई बाध्य नबनाऔँ

औसतमा हामी अभिभावकले बच्चाहरुले जुन काम गर्दा हामीलाई खुसी मिल्छ, त्यही काम गर्न लगाइरहेका  हुन्छौँ। उनीहरु आफैलाई कुन कामले खुसी दिन्छ, त्यसको अलि कम वास्ता गरिन्छ । जस्तै भर्खर सफा कपडा लगाइदिएको बच्चा माटोमा नखेले हुन्थ्यो, कपडा फोहोर नबनाए हुन्थ्यो, सफा ठाउँमा थपक्क बसे हुन्थ्यो भन्ने हाम्रो चाहना हुन्छ । किनकि कपडा फोहोर भयो भने कपडा धुने काम हामीले गर्नुपर्छ, जसमा हाम्रो स्वार्थ छ । तर माटोमा साथीहरुसँग खेलेर बच्चाले पाउने खुसी अरुबाट मिल्दैन । यी र यस्ता थुप्रै विषय छन्, जुन बच्चाको मनोभावनासंग प्रत्यक्ष जोडिएका छन् ।

अहिले  विकासको क्रममा बालमैत्री संरचनाहरु बनिरहेका छन् । विद्यालयमा पिउने पानीको धारादेखि लिएर, शौचालयसम्म, कक्षा कोठामा राखिने टेबुल, डेस्क, बेञ्च लगाएत धेरै संरचना बालमैत्री बन्दैछन्, जुन सकारात्मक पक्ष हो । यसका साथै बालकको पहिलो पाठशाला घरभित्रका हामी अभिभावकको व्यवहार नै बालमैत्री हुन जरुरी छ । 

हामीले बच्चाहरुलाई दिने वातावरण, सिकाउने संस्कार र सामाजिकीकरण जस्ता पक्षहरुमा अझै पनि सुधार गर्न जरुरी छ । हामी जसरी  हुर्कियौ, त्यो विषय त्यतिबेलाको लागि स्वभाविक हो । तर हामी दोस्रो पुस्तालाई त्यही व्यवहार गर्नु जाहेज हुँदैन । बालमैत्री घरपरिवार, विद्यालय र समाज निर्माण गर्न सके भोली देशले असल नागरिक पाउन सक्छ । अबका बच्चाका शिक्षक, अभिभावक सबै उनीहरुका साथी बन्न जरुरी छ, जोसँग आफ्ना कुराहरु खुलेर भन्न सकुन्, बोल्न सकुन्, सहयोगीको महसुस गर्न सकुन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्