१६ चैत २०८०, शुक्रबार

नेकपा ढोरपाटन नगर कमिटीका पदाधिकारीहरुले लिए सपथ

बागलुङ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगर कमिटीका पदाधिकारीहरुले सोमबार सपथ लिएका छन । नेकपा जिल्ला कमिटी बागलुङको निर्देशन तथा सरकुलर अनुसार बुर्तिबाङमा आयोजिक प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका सांसद तथा नेपाल कम्यूनिष्ट पार्टी जिल्ला कमिटि बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले सदस्यहरुलाई सपथ खुवाएका हुन ।

कार्यक्रममा बोल्दै सापकोटाले नेपालको संविधानले जनतालाई दिएको मौलिक हक र अधिकार संसारका कुनै पनि लोकतान्त्रीक संविधानमा नभएको दाबी गरे । नेपालको संविधानले जनतालाई धेरै अधिकार सम्पन्न बनाएको भन्दै सांसद सापकोटाले समाबेशी र समानुपातीक प्रतिनिधित्व प्रणालीको सुनिश्चित पनि गरेको बताए । 

कांग्रेस भित्र हिन्दु राज्यको माग जोडका तोड चलिरहेको बताउँदै उक्त विषय संविधान ध्वस्त पार्ने कुरा भएको उनको भनाई छ । कम्यूनिष्टहरुसँग नभएर राजासँग मिलेर जानुपर्छ भन्ने जस्ता थुप्रै अतिवादी सोच र चिन्तनहरु कांग्रेसमा भएको उल्लेख गर्दै उनले संविधानको सहि कार्यान्वयन, संविधानले हासिल गरेका उपलब्धीहरुको रक्षा र संविधानले दिएको अधिकारहरुलाई सुनिश्चित गर्नका निम्ती नेकपाको सरकार आवश्यकता परेको दाबी गरे । 

सांसद सापकोटाले संविधानको कार्यार्थ र रक्षा गर्न, मुलुकलाई समृद्ध र विकास निर्माणमा अगाडी बढाउन, समाजबाद तर्फ अगाडी बढ्न, ६२÷६३ को जनआन्दोलनका सबै उपलब्धीलाई संस्थागत गर्नका निम्ती नेकपा एमाले र माओवादी विच पार्टी एकता भएको बताए । उनले संघियता देशमा आएपछि देशमा धेरै ठुला उपलब्धी भएको तर जनताले बुझ्न नसकेको समेत बताए ।

सपथ ग्रहण कार्यक्रमपछि बसेको कमिटिको प्रथम बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिले जेष्ठ ५ गते आइतबार ढोरपाटन नगरपालिकामा चरम अनियमितता भएको भन्दै नगरपालिका विरुद्ध प्रकाशित गरेको प्रेश विज्ञप्ती निराधार, कपोलकल्पीत, झुट रहेको र सिंगो पार्टि कमिटि, नगर प्रमुखलाई समेत जोडेर अपमान तथा जनतामा भ्रम सृजना गर्ने कुचेष्टा गरेको भन्दै त्यसको घोर भ्रत्सना गर्ने निर्णय गरेको छ । 

त्यसैगरी वडा स्तरिय सपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने निर्णय सहित कार्यतालिका समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत यहि जेष्ठ ७ गते वडा नं. १, २, ४ र ५ मा जेष्ठ ९ गते वडा नं. ३, ८ र ९ मा र वडा नं. ६ र ७ मा जेष्ठ ८ गते सपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पार्टिले जनाएको छ ।

यस्तै निसिखोला ७ बाट ८ जना विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको निसीखोला गाउँ कमिटि अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । 

 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्