तथ्याङ्क र खानी विधेयक पारित

रुपन्देही । प्रदेश नं ५ प्रदेशसभाले आज दुई विधेयक पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्र्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयक सर्वसम्मत पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो ।

बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले तथ्याङ्क सम्बन्धी र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले खानी अन्वेषणसम्बन्धी विधेयक सभामा प्र्रस्तुत गर्नुभयो । आजको बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रदेश नं ५ सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको थियो ।

अपहरणमा संलग्नलाई कारवाही माग

रुपन्देहीका पत्रकार विन्दु चौहानकी छोरी अपहरणको घटनाले आज प्रदेशसभाको बैठकमा प्रवेश पायो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य सुनिता ठठेरले समाचार लेखेकै कारण पत्रकारकी छोरी अपहरणमा पर्नु विडम्बना भएको बताउँदै अपहरणमा संलग्नलाई कारवाहीको माग गर्नुभयो । उहाँले भन्नुभयो, “समाचार लेखेकै कारण पत्रकारका परिवार असुरक्षित हुनु राम्रो भएन, सरकारको यसतर्फ ध्यान जानुपर्छ ।”

प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, दिनेश पन्थी, कुरमती ढेगा, रुन्धावती शर्मा, दीपा विकलगायतले बजारमा कालोबजारी बढेका कारण अनुगमनमा ध्यान दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकको विशेष समयमा प्रदेशसभा सदस्य वैजनाथ कलवारले प्रदेशमा सुशासन कायम राख्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको न्यूनीकरणका लागि पहल गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय