राजेश हमाललाई देख्दा ‘ट्वा’ परेका शंकरले जब उनैलाई नचाउन थाले...

बाँकेको वागेश्वरीस्थित मनकामनापुर । गाउँको एक विद्यालय नजिकै खजुरामा ‘शत्रु’ भिडियो फिल्मको सुटिङ हुँदै थियो ।

अभिनेत्री मौसमी मल्ललाई कमल राईले नृत्य गराउँदै थिए । आजभन्दा झण्डै ३ दशकअघि भिडियो फिल्म खुबै बन्थे । गाउँमा सुटिङ भनेपछि हेर्न जानेको जमात पनि ठूलै हुन्थ्यो ।

‘२०४७ सालतिरको कुरा होला,’ मोडल तथा नृत्य निर्देशक शंकर बिसी लोकान्तरसँगको कुराकानीमा सम्झन्छन्, ‘त्यो सुटिङ हेर्न विद्यालयका साथीसहित म पनि पुगेको थिए ।’

स्कूले विद्यार्थी शंकरले सुटिङलाई राम्रोसँग नियाले । नृत्य निर्देशक कमल राईले नृत्य सिकाएको देखेपनि शंकरमा पनि नृत्यप्रतिको मोह बढ्दै गयो ।

केही समयपछि ‘कामना’ पत्रिकामा कमल राईद्वारा नृत्य सिकाइने सम्बन्धी एउटा विज्ञापन देखे । उनले त्यो विज्ञापनलाई कैचीले काटे । अनि आफ्नो पर्समा सुरक्षित राखे । २०५१ सालमा एसएलसी परीक्षा दिए, परीक्षामा उत्तीर्ण भए । अनि पर्सबिचको कागजसँग आफ्नो भविष्य साँच्दै उनी काठमाडौं आए ।

‘पहिले सुटिङमै उहाँलाई देखिसकेको थिए । पत्रिकामा विज्ञापन देखेपछि उहाँसँगै नृत्य सिक्ने अठोट गरें,’ शंकर भन्छन्, ‘एलएलसी सकेपछि नृत्य सिक्ने चाहनामा काठमाडौं आएँ ।’

शंकरमा नृत्यप्रतिको रुचि सानैदेखि थियो । ४–५ वर्षको उमेरदेखि नै । गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा २ कक्षामा पढ्दै गर्दा विद्यालयबीच नृत्य प्रतियोगिता हुने भयो । साथी शिक्षकले उनलाई नृत्यका लागि आग्रह गरे । उनी नृत्य प्रतियोगितामा भाग लिए, सान्त्वना भए । त्यसपछि उनको नृत्यप्रतिको रुचि बढ्दै गएको थियो । गाउँमा हुने बिहे, पुजाआजा तथा रेडियोमा गीत घन्किना साथ उनको खुट्टा चलिहाल्थ्यो ।

‘घरमा कोही पाहुना आएपनि मलाई नाच भन्नुहुन्थ्यो । म पनि के कम नाचिहाल्थ्यें,’ उनी भन्छन्, ‘तर कहाँबाट सिके भन्ने आफैंलाई पनि थाहा छैन ।’ सानैदेखि चलचित्र खुबै हेर्थे शंकर । चलचित्रमा देखिने औधी रुचि थियो उनको । त्यसका लागि नृत्य अनिवार्य छ भन्ने उनलाई लाग्थ्यो ।

काठमाडौं आएपछि…

एलएलसी पश्चात् २०५१ सालताका काठमाडौं आएका शंकरले निकै मेहनतका साथ नृत्य निर्देशक कमल राईको अफिस फेला पारे । बिजुली बजार उनको अफिस थियो । औपचारिक प्रशिक्षणका लागि कमलको अफिस पुगेका शंकर स्कूलको डान्स प्रतियोगिता । गाउँ, जिल्लामा हुने प्रतियोगिताबाट नृत्यको अनौपचारिक ज्ञान भने हासिल गरिसकेका थिए । उनी नृत्य सिक्न कमल राईसँग पुगे । उनले एउटा गीतमा नृत्य गर्न लगाएर शंकरको परीक्षा लिए । सानैदेखि नृत्य भनेपछि पाइला अघि सारिहाल्ने शंकरको नृत्यलाई कमलले रुचाए ।

तिम्ले कहीँ नृत्य सिकेको हो ? प्रश्न सुनेपछि शंकरले जवाफ फर्काए, ‘गाउँमा हुने, पूजाआजा, बिहे, विद्यालयमा हुने प्रतियोगिताबाट सिकेको हुँ ।’ त्यसपछि शंकर नृत्य निर्देशक राईसँग नृत्य सिक्न थाले । जल शाह, श्याम भट्टराई, विराज भट्ट उनका साथी थिए ।

राजेश हमाललाई पहिलो पटक देख्न पाउँदा

नृत्य सिक्दै जाँदा शंकरलाई कमलले कोरस नाच्नका लागि सुटिङमा लैजान थाले । जुन शंकरको पनि सपना थियो । उनी पहिलो पटक ‘अवतार’ चलचित्रमा कोरस नाँचे । गौरी मल्ल र सिमान्त उदासको अभिनय रहेको ‘लुकी लुकी चोरी चारी।।।’ बोलको गीतमा कोरस नाचेको शंकर सम्झन्छन् ।

उनलाई नृत्य निर्देशक कमलले अर्को चलचित्र ‘कान्छा’को सुटिङमा लैजाने भए । ‘२०५३ सालतिरको कुरा होला,’ शंकर सम्झँदै भन्छन्, ‘त्यसमा राजेश हमाल हिरो हुनुहुन्थ्यो । पहिलो पटक राजेश हमालललाई देख्दैछु भनेपछि मलाई रातभर निन्द्रा लागेन । कति बेला उज्यालो होला र राजेश हमाललाई देखौंला भन्ने भयो ।’

बालाजुमा सुटिङ थियो । उनी एकाबिहानै त्यहाँ पुगे । उनले राजेशलाई देख्न धेरै घण्टा कुरे । अन्नतः राजेश १ बजे मात्र उपस्थित भए । त्यो समय अहिलेजस्तो मेला महोत्सव हुँदैनथ्यो । राजेश हमाललाई देख्न पाउनु मात्र पनि धेरै ठूलो कुरा थियो । राजेश आउना साथ एक जना कुर्सी लिएर, अर्का छाता आढोउन, अर्का मेकअप गरिदिन गए ।

त्यो देखेर शंकर सोच्थे – हिरो भएपछि कुर्सीमा बस्न पाइदो रहेछ, छाता ओढाइदिने छुट्टै मानिस हुँदा रहेछन् । म पनि हिरो हुन पाए त १ शंकरमा कताकता हिरो हुने हुटहुटी बढ्दै गयो ।

राजेशसँग जोडिएका शंकरसँग अर्को रमाइलो किस्सा पनि छ । उनी राजेशसँग सोही चलचित्रमा पहिलोपटक कोरसमा नाँच्दै थिए । साथमा दिलिप रायमाझी, सुशील क्षेत्री, श्याम घिमिरे लगायत कोरसमा नाच्नेहरू थिए । ‘राजेश दाईको साइडमा नाच्ने रहर थियो । तर म नयाँ भएर पछाडि नाच्नुपर्यो । सुशील र दिलिप दाई सिनियर हुनुहुन्थ्यो । उहाँहरू राजेश दाईको नजिक रहेर नाच्नुभयो,’ शंकर सम्झन्छन् ।

राजेशलाई देखेर ट्वा पर्ने शंकर जब उनलाई नै नचाउन थाले

शंकरले २०५३ सालदेखि डान्स सेन्टरमा डान्स सिकाउन थाले । क्यासिनोमा नाँच्ने साथै स्कूलमा डान्स सिकाउन थाले । उनको डान्स सेन्टरमा आर्यन सिग्देल, बाबु बोगटी, दिपाश्री निरौला लगायतले डान्स सिके । समय चल्दै गयो ।

२०५५÷५६ सालतिर दिलिप रायमाझी वसन्त रायमाझीका सहायक थिए । ‘दिलिप दाइले ‘भानुभक्त’ चलचित्रमा नायकमा अवसर पाउनुभयो । त्यतिबेला उहाँहरूबीच एउटा सहायक चाहियो भन्ने कुरा भएछ । दिलिप दाईले मलाई सिफारिस गर्नुभयो,’ शंकर भन्छन्, ‘स्वर्गीय दिपक रायमाझीले मेरो प्रस्तुति हेर्नुभयो र ओके गर्नुभयो ।’ तत्पश्चात् शंकरले ‘परेली’ चलचित्रमा सहायक नृत्य निर्देशकको रुपमा काम गर्ने अवसर पाए । जुन चलचित्रको नायक राजेश हमाल थिए । राजेश र विपना थापा अनि रमेश उप्रेती र दीपाश्री निरौलालाई शंकरले नचाए ।

राजेशलाई देखेर ट्वा पर्ने शंकर उनै राजेशलाई पहिलो पटक नचाउनुपर्दा ‘नर्भस’ भएको अनुभव सुनाउँछन् । त्यतिबेला राजेशले भनेछन्, ‘तपाईलाई त कहाँ देख्या जस्तो लाग्यो ?’ शंकरले राजेशसँग त्यसअघि नै २५ वटाजति चलचित्रमा कोरस नाचिसकेका थिए । तर कोरसलाई खासै वास्ता नगर्ने भएर राजेशको नजरमा उनी परेका थिएनन् । त्यसपछि भने शंकर निरन्तर चलचित्रमा कोरियोग्राफी गर्दै गए ।

हिरो बन्ने पक्कापक्की थियो तर…

२०५७ सालतिर चलचित्र गरिरहेको समयमा निर्देशक नारायण पुरीले उनलाई चलचित्रमा हिरो लिने निर्णय गरे । शंकरले नारायणको संयम नर्सरीमा पढ्दा डान्स सिकाउँथे । सुनिल थापाको छोराछोरीलाई डान्स सिकाउँथे ।

‘छोराको टिचर पनि हो, राम्रो नाच्छ भनेर चलचित्रमा लिने निर्णय गर्नुभएको थियो,’ उनी सम्झन्छन् । तर दुर्भाग्य देशमा संकटकाल लाग्यो र त्यो चलचित्र नबन्ने भयो । ‘शंकरको नायक बन्ने सपना शीर्षकमा पत्रिकामा पनि समाचार आएको थियो । तर हिरो बन्ने सपना तुहियो,’ उनले भने । त्यसपछि भने शंकर म्यूजिक भिडियोतिर लागे । तर हिरो बन्ने सपना भने ज्यूँका त्यूँ थियो । उनले २०५८ सालमा ‘चमेलीको तेल’ बोलको दोहोरी गीतमा अभिनयसँगै निर्देशन गरे ।

संघर्ष गर्दै जाँदा उनलाई कामको खाँचो भएन । २०५८ सालतिरै उनले ‘कही मिलन कही बिछोड’ र ‘सन्तानको मायामा’ लगायतका चलचित्रमा नृत्य गरे ।

‘सुपारी चाम्रो’ जसले शंकरलाई रातारात हिट बनायो

शंकर चलचित्र तथा म्यूजिक भिडियोमा काम गर्दै गए । २०६१ सालताका जतिबेलासम्म उनी ५० बढी म्यूजिक भिडियोमा काम गरिसकेका थिए । सोही समय ‘सुपारी चाम्रो’ बोलको लोकदोहोरी गीत सार्वजनिक भयो ।

एकनारायण भण्डारीको शब्द संगीत रहेको गीतमा विमलराज क्षेत्री र बिष्णु माझीको श्वर रहेको छ । जुन गीतमा शंकर बिसी र सम्झना बुढाथोकीको अभिनय रहेको छ । निर्देशन पनि शंकरकै रहेको छ । ‘त्यो गीत यतिधेरै चल्यो, भीसीडीको व्यापार कल्पनाभन्दा धेरैमाथि भयो,’ शंकर भन्छन्, ‘त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।’

शंकर सुपारी चाम्रो गीत सार्वजनिकसँगै रातारात हिट भए । गीतसंगीत क्षेत्रमा उनको चर्चा ह्वात्तै बढ्यो । त्यसपछि उनका ‘लालुपाते नुघ्यो भुँइतिर’, ‘नजाउ है सानु पधेंरीमा’, ‘तिते करेली’ लगायतका थुप्रै हिट गीत आए । पहिलो गीतबाट शंकर र सम्झनाको जोडी मोडलिङमा चम्कियो । शंकर र सम्झनाले मात्रै ३ सय बढी म्यूजिक भिडियोमा सँगै काम गरेका छन् । लोकदोहोरी भिडियोमा शंकरको जोडी पार्वती राईसँग पनि खुबै जम्यो । पार्वतीसँग पनि शंकरले ३ सय बढी भिडियोमा काम गरेका छन् ।

२०६४ सालतिर लोकदोहोरी भिडियोमा जमेका कलाकारलाई लिएर ‘बेरोजगार’ नामको चलचित्र निर्माण भयो । शंकरले लिड भूमिका निर्वाह गरेको चलचित्र चलेन । ‘सगुन श्रेष्ठ, म अनि विनोद श्रेष्ठ लीडमा थियौं, डाइरेक्टर पनि नयाँ हुनुहुन्थ्यो,’ शंकर भन्छन्, ‘चलचित्र नचलेपछि अब भिडियोतिर नै लाग्नुपर्छ भन्ने भयो ।’ केही चलचित्रको अफर नआएको पनि होइन । तर शंकरले काम गरेनन् । त्यसपछि उनी निरन्तर भिडियोतिरै काम गरे । चलचित्रमा कोरियोग्राफी गर्दै गए । उनले नेपालका प्रायः सबै कलाकारलाई नचाइसकेका छन् ।

‘वर्ल्ड रेकर्ड प्रक्रियामा, चाँडै चलचित्र निर्देशन गर्छु’

हालसम्म आइपुग्दा शंकरले २ हजार बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् । त्यति नै भिडियोमा मोडलिङ गरिसकेका छन् । उनै शंकर एउटा दाबीका साथ ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने प्रक्रियामा रहेको बताउँछन् ।

कुनै पनि व्यक्तिले हालसम्म यति धेरै भिडियोमा अभिनय नगरेको भन्दै उनले वल्र्ड रेकर्डमा नाम लेखाउने तयारी थालेका छन् । ‘बलिउड र हलिउडमा पनि कसैले यतिधेरै भिडियोमा अभिनय गरेको छैन,’ शंकर भन्छन्, ‘आफूले अभिनय गरेका भिडियो संकलन गरेर पठाएको छु, प्रक्रियामा छ ।’

शंकरको अर्को चाहाना छ चलचित्र निर्देशन गर्ने । ‘२ वर्ष अगाडिदेखि कमेडी स्क्रिप्ट लेखेको थिए । त्यो स्क्रिप्ट राइटरलाई हेर्न दिएको छु,’ उनी भन्छन्, ‘१ वर्षभित्र चलचित्र निर्देशन गर्नेछु ।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय