७ बैशाख २०८१, शुक्रबार

ढाड दुख्ने समस्या छ भने यसरी गर्नुहोस घरमै उपचार !

ढाड दुख्ने समस्याले धेरैलाई हैरान बनाएको हुन्छ । चिकित्सककहाँ बिरामी धाउनुको प्रमुख समस्यामध्ये यो पनि एक हो । सही उपचार नपाएको खण्डमा यसले धेरै समस्या निम्त्याउन सक्छ ।

कसैकसैलाई अशक्त पनि बनाउँछ ।अस्ट्रेलियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयका अनुसन्धानकर्ता प्रोफेसर रसेली बचविन्डरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय विशेषज्ञहरूको टोलीले गरेको अध्ययनअनुसार सही उपचारको अभावमा लो ब्याक पेन दुख्ने समस्या तीव्र दरमा बढ्दो छ ।

धनी राष्ट्रहरूले उहिल्यै अपनाएर असफल भइसकेको उपचार प्रणाली अहिले गरिब तथा तेस्रो विश्वका मुलुकहरूमा प्रयोग भइरहेको छ। यो चिन्ताको विषय हो । समस्यालाई विस्तृतमा बुझ्न अल्पकालीन (तत्काल हुने) दुखाइ र दीर्घकालीन दुखाइको स्पष्ट चित्र बुझ्नुपर्ने हुन्छ।

भर्खरै लागेको चोट, कहीँ कतैबाट खसेर ढाडमा परेको प्रभाव वा धेरै भार उठाउँदा यस्तो समस्या देखिएको हुन सक्छ । कारण धेरै छन्। करङमा देखिएका इन्फेक्सन वा अन्य स्वास्थ्यसम्बन्धी समस्याले पनि यस्तो अवस्था आउँछ ।

त्यसैले चिकित्सकहरूले बिरामीको पृष्ठभूमि र पहिले देखिएको समस्यालाई ध्यानमा राखेर उपचार अघि बढाउँछन् । बिरामीको दैनिक व्यवहारलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

मसल्स च्यातिएमा वा ढाडलाई सपोर्ट गर्ने लिगामेन्ट मसल्समा प्रभाव परेमा यस्तो हुन सक्छ । यस्तो अवस्थामा तल्लो ढाड दुख्ने सम्भावना धेरै हुन्छ । यस्तो दुखाइ ६ हप्ताभन्दा लामो समय हुँदैन ।

घरमै उपचार गरेर पनि यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यस्तो अवस्थामा तातो पानी वा आइस प्याकले सेक्ने, श्वासप्रश्वाससम्बन्धी अभ्यास गर्ने, ढाड र घाँटीलाई हल्का चलाउने र दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।

दीर्घकालीन दुखाइ १२ साताभन्दा लामो समयसम्म ढाड दुखिरहने अवस्था हो । तपाईंले घरेलु उपचार, व्यायाम तथा पेनकिलर सेवन गर्दा पनि दुखाइ कायम रहने अवस्था हो ।

सुरुसुरुमा ढाड दुख्दा बेवास्ता गर्नुभयो र राम्ररी उपचार गर्नुभएन भने यस्तो अवस्था आउन सक्छ । उमेरले पनि यसमा प्रभाव राख्छ ।नसा च्यापिएको, करङमा समस्या भएको, करङ भाँचिएको तथा हाडसम्बन्धी समस्या देखिएमा यस्तो हुन सक्छ । यसले तपाईंलाई दैनिक रूपमा सताउँछ ।

लक्षण खराब हुँदै गयो र दैनिक रूपमा समस्या देखियो भने तपाईंले घरमै उपचार गरेर सम्भव हुँदैन । चिकित्सकसँग उपचारका लागि परामर्श गर्नुपर्ने हुन्छ ।नेपाल र एसियाली राष्ट्रमा धेरैमा ढाड दुख्ने समस्या देखिन्छ । बालबालिकालाई किताबको भारी बोकाएर स्कुल पठाउँदा पनि यस्तो समस्या हुन्छ ।

दैनिक रूपमा धेरै भार उठाउने जोकोहीलाई ढाडमा समस्या हुन सक्छ । उनीहरूको मसल्स थकित हुन्छ र दुख्न थाल्छ । बालबालिकाको स्कुल ब्यागको तौल उनीहरूको शरीरको वजनकोे १५ देखि २० प्रतिशत मात्रै हुनुपर्छ ।

फिटनेसको कमीका कारण पनि यस्तो समस्या देखिन्छ । तपाईंले दैनिक रूपमा ३० देखि ४५ मिनेट हिँड्ने र मसल्स तन्काउनका लागि १५ देखि २० मिनेट व्यायाम वा योगा गर्न आवश्यक छ ।

शरीरलाई चलायमान बनाउनुभएन भने अंगहरू निष्क्रिय हुन थाल्छन् ।यस्तो अवस्थामा यो समस्या देखिन सक्छ । शारीरिक श्रम गर्ने व्यक्तिको तुलनामा नगर्ने व्यक्तिलाई यस्तो समस्या देखिने सम्भावना धेरै रहन्छ ।

धूम्रपानले फोक्सोको क्यान्सर मात्रै हुन्छ भन्ने सोच्नुभएको छ भने त्यो पनि गलत हो । ढाडदुखाइको प्रमुख कारणमध्ये यो पनि एक हो ।

जोन्स हप्किन्स विश्वविद्यालयले गरेको अध्ययनअनुसार धूम्रपानले ढाडदुखाई बढाउँछ ।यसले क्याल्सियमको सोजन घटाउँछ र नयाँ हड्डीको विकासमा पनि अवरोध गर्छ । जसका कारण समस्या देखिन सक्छ ।

अत्यधिक धूम्रपान गरेर निरन्तर खोक्ने गर्नाले पनि ढाड दुख्छ । अर्को कारण मोटोपन पनि हो । धेरै वजन हुँदा ढाडमा धेरै स्ट्रेस पर्छ । जसका कारण समस्या देखिन सक्छ । शारीरिक सक्रियता अत्यधिक पर्ने काममा ठूलो भार उठानुपर्ने, धकेल्नु वा तान्नुपर्ने हुन सक्छ ।

यस्तो अवस्थामा करङमा प्रभाव पर्छ ।जसका कारण चोटपटक वा ढाड दुख्ने समस्या देखिन सक्छ । दैनिक रूपमा कुर्सीमा बस्ने र हिँडडुल नगर्ने व्यक्तिमा पनि यस्तो समस्या देखिन्छ ।

त्यसैले यसका लागि दैनिक रूपमा कम्तीमा ३० देखि ४० मिनेट हिँड्ने, १५ देखि २० मिनेटसम्म शरीरलाई चलायमान बनाउने र कडा श्रम गर्नेहरूको हकमा पनि सन्तुलित रूपमा थकाइ पनि मारेर श्रम गर्ने गर्नुपर्छ ।

धेरैलाई फिजियोथेरापीको विषयमा थाहा नहुन सक्छ । यस्तो थेरापी शरीरको सक्रियता र अभ्यासका विषयमा ५ देखि ८ वर्षसम्मको अनुभव र प्रशिक्षण लिएका तालिमप्राप्त स्वास्थ्यकर्मीहरूले गराउँछन् ।

ढाड दुख्ने समस्याको प्रकृति, अल्पकालीन वा दीर्घकालीन हेरेर उपचार गरिन्छ । अल्पकालीन अवस्थामा घरमै उपचार गर्दा पनि हुन्छ भने दीर्घकालीन समस्या देखिएमा फिजियोथेरापिस्टसँग परामर्श गर्नुपर्ने हुन्छ ।

शल्यक्रियामा धेरै खर्चनुअघि तपाईंले फिजिकल थेरापिस्टलाई भेट्नुभयो भने सहज समाधान मिल्न सक्छ । उनीहरूले विभिन्न पद्धति अपनाएर तपाईंको मसल्स र करङमा देखिएको समस्यालाई ठीक गर्न प्रयास गर्नेछन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्