सानीभेरीको तिरैमा रहेको पर्यटकीय स्थल देउराली गुफा ओझेलमा

रुकुम पूर्व । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र सानीभेरीको तिरैमा रहेको पर्यटकीयस्थल देउराली गुफा ओझेलमा परेको छ । संरक्षण र प्रचारप्रचारको अभावले सो गुफा सङ्कटमा परेको हो ।

सानीभेरीको तिरैमा रहेको गुफा सदरमुकाम रुकुमकोटदेखि पाँच किलोमिटरको दूरीमा छ । गुफामा चैतेदशैँ र नयाँ वर्षको दिनमा मेला लाग्ने गर्दछ । वरपर डाँडैडाँडाले घेरिएको गुफाको अगाडिबाट सुसाउँदै सानीभेरी नदी बगिरहेको छ ।

गुफाभित्र रहेका सबै कलाकृति तोडफोड भएको पाइन्छ । केही वर्ष अगाडिसम्म ढुङ्गामा कुँदिएका मूर्तिहरुले सजिएको देउराली गुफा हेरेर सबै मोहित हुन्थे । पहिले गुफा दुई तलाको थियो । अहिले एक तला बन्द भइसकेको छ । गुफाभित्र जताततै घँुडासम्म डुबाउने पानी छ । माथिबाट तपतप पानी चुहिरहन्छ । गुफाभित्र थुप्रै चरा पनि पाइन्छन् ।

गुफा पुरै अँध्यारो छ । भित्र जाँदा बत्ती लिएर जानुपर्छ । गुफाभित्र पस्दा पानीले सबैलाई निथ्रुक्कै हुने गरी भिजाए पनि बाहिर निस्कने बित्तिकै एकै छिनमा सबै पानी ओभाएर जान्छ । चिसोको अनुभव पनि नहुने भएकाले यहाँ आइपुग्ने सबै पर्यटक चकित हुन्छन् ।

देउराली गुफा हेर्न छिमेकी जिल्लाका साथै अन्य विभिन्न स्थानबाट थुप्रै पर्यटक आउने गरेपनि यसको संरक्षणतर्फ अहिलेसम्म कसैको पनि ध्यान पुगेको छैन । गुफा अगाडि २०/२५ जनाभन्दा बढी मानिस अटाउन सक्ने खालको आँगनसमेत छैन । मेला लाग्दा भीरमा भए पनि कोचिएर ९०/१०० जनासम्म अटाउँछन् ।

पहिले गुफाभित्र विभिन्न आकृतिका मूर्तिहरु थिए । पञ्चेबाजा, वाद्यवादनका सामग्री, सानो बच्चालाई दूध चुसाउँदै जातो घुमाइरहेको, ढीकी कुट्दै गरेको, भालुको मुख, हात्ती, विभिन्न देवीदेवताका मूर्ति तथा पत्थरबाट बनेका मालालगायत अनौठा खालका भित्तामा टाँसिएका थुप्रै मूर्तिहरु थिए । ती मूर्तिले त्यहाँ पुग्ने मानिसलाई आकर्षित गर्थे तर अहिले ती मूर्ति गुफाको भित्तातिर कतैपनि देखिँदैनन् । कहीँकतै टुटेफुटेका निशाना मात्र देखिन्छन् ।

सिस्ने गाउँपालिका–५ का सूर्यबहादुर नेपालीका अनुसार ५५ वर्ष अगाडि देउराली गुफाबाट छिरेर भित्रभित्रै पाँच किलोमिटर पर बागदुला र तीन किलोमिटर पर खानीदुलाबाट बाहिर निस्कने ठाउँ थियो । देउराली गुफाभित्रबाट धेरै परसम्म पनि जाने ठाउँ देखेपछि परीक्षणका लागि चमेरा छोपेर त्यसलाई रङ्ग घसेर देउराली गुफामा राखिदिएको र त्यो चमेरा केही समयपछि खानीदुलाबाट बाहिर निस्किएको थियो ।

बागदुलामा पनि यसरी नै परीक्षण गरिएको थियो । त्यहाँ गएर फोहर गर्नुहुँदैन, झुटो कुरा बोल्नु हुँदैन, त्यहाँका चराहरुलाई मार्नु हुँदैन र मूर्तिमा क्षति पनि पु¥याउनु हुँदैन । यदि त्यसो गरेमा अनर्थ हुने किवंदन्ती रहेपनि अहिले त्यस्तो छैन । उहाँले भन्नुभयो, “आजकल सब ठीक उल्टो भएको छ, खानीदुला र बागदुलाको स्थिति के छ, कसैलाई थाहै छैन ।”

संरक्षण र प्रचारप्रचारको अभावले देउराली गुफा ओझेलमा पर्दै गएको सिस्ने गाउँपालिका–५ का जयबहादुर मल्लले बताउनुभयो । यसको संरक्षण र प्रचारप्रचारमा कसैले ध्यान नदिने हो भने जिल्लालाई पर्यटनको क्षेत्रमा ठूलो घाटा लाग्ने उहाँको भनाइ थियो । विसं २०६५/६६ मा गुफा संरक्षणका लागि पहिलो पटक गाविसबाट रु २५ हजार र दोस्रो पटक रु ५० हजार छुट्याइएको थियो । त्यो रकमले गुफा वरिपरिको झाडी हटाइ पिल्लर उठाएर एउटा ढोका निर्माण गरिएको मल्लले बताउनुभयो ।

उहाँका अनुसार विसं २०७० मा सञ्चालन गरिएको कमलदह पर्यटन महोत्सवबाट सङ्कलन भएको रु ७० हजारले त्यहाँसम्म पुग्न खनेर बाटो बनाइएको थियो । त्यो भन्दा पछाडि गुफा संरक्षणतर्फ कसैले ध्यान दिएका थिएनन् । गुफासम्म पुग्नलाई सहज बाटो पनि छैन ।

भीरको बाटो जोखिम मोल्दै मानिस त्यहाँ पुग्ने गरेका छन् । वडा र गाउँपालिकास्तरको बजेटले नपुग्ने भएकाले गुफा संरक्षणका लागि डिपिआर बनाएर प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढ्ने सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय