८ बैशाख २०८१, शनिबार

आन्तरिक पर्यटकीयस्थल बन्दै रानी तलाउ

नेपालगञ्ज । नेपालगञ्जस्थित पुनर्निर्मित रानीतलाउ आन्तरिक पर्यटकीयस्थल बन्दै गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित रानी तलाउको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । प्रत्येक दिन ३०० भन्दा बढी मानिस रानीतलाउ अवलोकन गर्न आउने गरेका छन् । बिदाको दिन भने भ्याइनभ्याई हुने गरेको रानीतलाउ सञ्चालनार्थ वडा कार्यालयबाट जिम्मेवारी पाएका कर्मचारी ऋषि मिश्राले बताउनुभयो ।

“अरू बेलाभन्दा बिदाको बेला धेरै मान्छे आउने गरेका छन्,” मिश्राले भन्नुभयो, “बिदाको दिनमा एक हजार ५०० भन्दा बढी मान्छेले टिकट काटेर घुम्ने गरेका छन् ।” बिदाका दिनमा बच्चासहित सपरिवार घुम्न आउने भएकाले धेरै घुइँचो हुने गरेको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले दिनभर काममा खटिने उद्योगी, व्यापारी, पेशाकर्मी, गृहिणी र विद्यार्थीका लागि जलविहार गरी थकाइ मेटाउन रानीतलाउ एउटा उपयुक्त गन्तव्य बन्दै गएको उल्लेख गर्नुभयो ।

खजुराबाट रानीतलाउ घुम्न आएकी सरिता हमालले डुङ्गा चढ्न पाइने सुनेकाले हेर्न आएको बताउनुभयो । नेपालगञ्जमै डुङ्गा चढेर घुम्न पाउँदा आनन्द आएको उहाँले उल्लेख गर्नुभयो । धेरैजसो नेपालगञ्जकै स्थानीयवासी आउने गरे पनि बाहिरी जिल्लाबाट काम विशेषले आउने सर्वसाधारणसमेत रानीतलाउ पुग्ने गरेका छन् ।

रानीतलाउमा प्रवेश शुल्क रु पाँच लिने गरिएको छ भने जलविहारका लागि एक फन्को लगाएको रु २५ शुल्क लिने गरिएको छ । हाल चार वटा डुङ्गामार्फत जलविहार गर्ने गरिएको छ । बिदाको दिनमा चार वटा डुङ्गाले सेवा दिन अपुग हुने गरेको मिश्राले बताउनुभयो । ८ नं वडा कार्यालयले रानीतलाउ सञ्चालन गर्दै आएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको रु २२ लाख ७८ हजार लागतमा रानी तलाउको पुनर्निर्माण गरिएको हो । नगरप्रमुख डा धवलशम्शेर राणा पहिलो पटक नगरप्रमुख भएको बेला २०५६ सालमा रानीतलाउको जीर्णोद्धार गरी नौका विहार सञ्चालन गरिएको थियो ।

पदबाट बाहिरिएसँगै रानीतलाउमा जलविहार गर्ने सुविधा पनि अन्त्य भएको थियो । अहिले उहाँकै सक्रियतामा रानीतलाउमा पुनः जलविहार गर्ने वातावरण बनेको छ ।

नगरप्रमुख डा राणाले ऐतिहासिक रानीतलाउलाई जीवन्त राख्दै नगरको पयर्टन प्रवद्र्धनमा टेवा दिन नेपालगञ्ज उपमहानगरपालिका लागिरहेको बताउनुभयो । रानीतलाउको चारैतिर पर्खाल निर्माण गरी जीर्ण बनेका भौतिक संरचना पुनर्निर्माण गरी रङरोगन गरिएको छ ।

बालबालिकाका लागि उद्यान, कटेज, बटुवा बस्नका लागि कुर्ची, खाजा, नास्ताका लागि क्यान्टिनको व्यवस्था गरिएको उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले जानकारी दिनुभयो ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्