८ बैशाख २०८१, शनिबार

अपरिचित प्रेमिका

मानिसहरु भन्छन् नी, प्रेम गर्नेहरु हर चिजसँग डराउँदैनन् । तर म भन्छु, प्रेम गर्नेहरु जहाँ पनि, जहिले पनि, जोसँग पनि र जेसँग पनि डराउँछन् । केहि दिनको कम्युनिकेसन ग्याप भयो, बिस्र्यो कि भनेर डराउँछन् । हरपल कम्युनिकेसनमा रह्यो, उसलाई मोनोटोनस हुने हो कि भनेर डराउँछन् । अर्कैको स्टाटसमा लाइक/कमेन्ट देख्यो, नयाँ भेट्यायो कि भनेर डराउँछन् । घरमा बिहेको कुरा चल्यो, मनको मान्छे गुम्छ कि भनेर डराउँछन् । एक अर्कासँग अति निकट रह्यो, भविष्यमा उसले चाहेको खुसी दिन सकिदैन कि भनेर डराउँछन् । 

उसले यि हरफहरु यसरी भनि कि मानौँ उ यि हरफहरुसँग वर्षौँदेखि परिचित छे । यि हरफहरुसँग उ साँझ विहान स्मरणशक्ति खेल खेलेकी छे र सम्झना खोज्दा त कुरै छोडौँ, बिर्सिन खोज्दा पनि मुखमा फ्याट्ट आइहाल्छन् । उसले यि वाक्यहरु भनिरहँदा जानेरै आफ्ना आँखाहरु सानो बनाइरहेकि थिई र उसका दुबै आँखाका छेउतिर मुजाका हल्का धर्साहरु देखिएका थिए । उसको बोलीले स्पष्ट रुपमा निराशाको भारी बाकेको थियो । उसले एकआपसमा खप्ट्याएका आफ्ना खुट्टाहरु अघिल्तिर लामो पारेर बसेकी थिई र दुबै हातहरु छेउछेतिर टेकेकी थिई । बेलाबेलामा आउने हावाका झोक्काहरुले उसका सिल्की कपाललाई जिस्काइ रहन्थे । उ बोल्दै थिई म सुन्दै थिएँ । हाम्रो अगाडि सिङ्गो पोखरा शहर हाँसिरहेको थियो, सिवाय उ र म । 

हामी पोखराको लभ्ली हिलको भिरालो घाँसे मैदानमा बसिरहेका थियौँ । सुन्दर पोखराको सात्क्षात्कार गर्ने अरु केही जोडीहरु पनि परपरसम्म देखिन्थे । उनीहरु कोही अङ्गालोमा थिए, कोही एकअर्काको काखमा त, कोही हाते साङ्लोमा । तर उसको र मेरो दुरी कम्तीमा पनि दुई फिटको थियो । यो हाम्रो पहिलो डेट थियो, अझ भनौँ न मेरो त जीवन कै पहिलो । अरुहरुले आफ्नो पहिलो डेटमा के—कस्ता कुरा गर्छन्, थाहा छैन, तर ऊ अरु कसैको कुरा गरिरहेकि थिई । भनि हालौँ, म आफ्नो पहिलो डेटमा उसको खास मान्छेको कुरा सुनिरहेको थिएँ । 

बोल्दा बोल्दै केहीबेर ऊ मौन बसी । हावाका झोक्काहरुले बिथोलेर दायाँ आँखा ढाक्नेगरी तलतिर लत्रिएको सिल्कि कपाललाई हातले कानतिर सारी अनि मलाई पुलुक्क हेर्दै बोली, “अनि, तिम्रो सुनाऊ ।” उसले प्रसङ्ग बदल्न खोजिरहेकि छे भन्ने मलाई स्पष्ट थाहा भयो अनि मैले उहि कुरालाई निरन्तरता दिँदै सोधेँ, “कुरा हुन्छ उसङग ?” उसले आफ्ना दुवै ओँठहरु भित्र पर्ने गरी मुखलाई चेप्रो पारी अनि गालामा एक झलक डिम्पल देखाएर बोली, “त्यस्तो फोनमा, च्याटमा कुरा त हुँदैन तर कहिलेकाहीँ मेरा पोष्टहरुमा लभ रियाक्ट दिने गर्छ । उसको यहि एउटै रियाक्टले पनि सम्हालिन खोज्दै गरेको मनलाई फेरी बिथोल्दो रहेछ ।” 

उसको यहि वाक्यले हामीलाई धेरैबेर मौन बनायो । त्यो माहोल नै केहि बेग्लै थियो । मसँग सोध्ने अरु प्रशस्त प्रश्नहरु थिए । तर उसको खास मान्छेको ह्याङ ओभरले उसलाई मात्र होइन मलाई पनि छोएको थियो । हामी दुवैको नजर अध्यारो प्रकाशले ढाक्दै लगेको पोखरा शहरतिर थियो । साँझ पर्नै आँटेको थियो । लेकसाइडमा बिस्तारै रङ्गीबिरङ्गी बत्तिका रङहरु पोखिदैँ थिए । घर फर्कन लागेका यात्रुहरुको सवारी साधनले दिएका ट्वाँ—ट्वाँ र टुँ—टुँ आवाज बेलाबेलामा कानमा ठोक्किरहेको थियो । वरपरका अन्य जोडीहरु विस्तारै ओरालो झर्दै थिए । उसले आफ्नो दायाँ छेउतिर रहेको व्याग हातले तानेर काखमा राखी र बोली, “जाम है, रात प¥यो, दाइ कराउँछ ।” म हुन्छ भन्दै उठेँ । ऊ पनि उठी । ऊ अघि अघि म पछि पछि ओरालो झ¥यौँ । उसले आफ्नो स्कुटर पार्किङ गरेको ठाउँसम्म हामी केही बोलेनौँ । ऊ सरासर स्कुटरमा गई र डिक्की खोलेर आफ्नो हेलमेट झिकी । हातले कपाल मिलाई अनि हेलमेट लगाएर स्कुटरमा बस्दै भनी, “आऊ बस । म पु¥याइदिन्छु ।”

मैले भनेँ— “हैन ठिकै छ । म माइक्रोमा जान्छु ।”
 
स्कुटर स्टार्ट गर्दै फेरी बोली— “माइक्रो भनेको बेला पाउँछ त भन्या ?”

“पाइएन भने म साथीलाई फोन गर्छु । तिमी जाऊ ।”

“रिसाको त होइन नी ?”, ऊ केहि हाँसेजसो गरेर बोली ।

“अहिलेसम्म त छैन, तर फकाउन आउँछ भने रिसाउँछु नी ।” म जिस्केजस्तो गरी बोलेँ ।

ऊ फिस्स हाँसेर फेरी डिम्पल देखाई अनि बोली— “म पुगेर कल गर्छु ।” 

यति भनेर ऊ स्कुटरमा जानै लागेकि थिई । मैले रोकेँ अति आँट गरेरै भनेँ, “वर्तमानलाई खुसी बनाउन अतितलाई भुल्ने सामथ्र्य राख्नुपर्छ ।” उसले जिउलाई सिधा पारेर बाटोतिर हेरी । अपत्यारिलो पारामा “सायद” भनी र आफ्नो स्कुटरलाई अरु सयौँ सवारीका साधनहरुमा मिसाई । 

म रोडको साइडमा उभिएर माइक्रो कुरेँ । केहिबेरको कुराईपछि यात्रुहरुले कोचाकोच भरिएको माइक्रो आयो । ढोकामै झुण्डिएर भएपनि म बस्ने डेरासम्मको यात्रा तय गर्नु थियो मलाई । खलासीँ भाइले ढोकामा उभिनेसम्मको ठाउँ मिलाइदियो र अटी नअटी माइक्रो चढेँ । बाटोभरी मनमा अनेकौँ कुराहरु खेलिरहे । ऊप्रति थोरै दया र थोरै रिस देखाउँदै आफुले आफैलाई दुःख दिइरहेँ । साँच्चि ! अरुको बारेमा ज्यादा सोँच्नु पनि त पिरहरुलाई निमन्त्रणा दिनु रहेछ । 

माइक्रोबाट ओर्लिसकेर पनि करिब पाँच मिनेटको पैदल यात्रा गर्नु थियो । तरकारी किन्न जाने र तरकारी किनेर आउने मान्छेहरुको ओहोर/दोहोर चलिरहेको थियो । म सरासर कोठामा गएर मोबाइल हेरेँ । मोबाइलको म्यासेज आइकनमा रातो अङ्ग्रेजी अंक 1 देखियो । खोलेर हेरेँ । म्यासेज उसैको थियो । उसले रोमनमा लेखेकि थिई— ma gharma aipuge, ani timi pugeu ki nai ?

मैले कुनै जवाफ दिएन । मोवाइलको व्याट्रिले १५ प्रतिशत भन्दा कम पावर भएकाले चार्जमा जोड्न चेतावनी दियो । मोवाइल चार्जमा लगाएँ र बिहानको जुठो भाँडा माझ्न लागेँ । केही लुगाहरु धुनु थियो । बाथरुम गएर लुगा धोएँ । त्यही मौकामा कपाल पनि नुहाएँ । बाथरुमबाट कोठामा फर्किदा भित्ताको घडिले ९ बजाइसकेको थियो । खाना पकाउँ कि नपकाउँ भयो । केही छिनको मनोद्वन्द्वपछि भोकै बस्ने निधो गरेँ र चार्जबाट मोबाइल झिकेर खातमा पल्टिएँ । 

मोबाइल हेर्दा फेरी पनि उसैको म्यासेज थियो । यसपटक लेखिकि थिई— I am sorry ! gharma aja pahuna bhayekale phone garna sakina. Khana khayau ki nai ?

मैले फेरी पनि रिप्लाइ दिएन । मलाई उसँग रिस उठिरहेको थियो । फेसबुक खोलेर न्युज फिड हेरेर बसेँ । बोल्ने कोही नभएपछि यूट्युव खोलेँ । अमेरिकन गट ट्यालेन्टमा सानी नानीहरु एन्जेलिका हेल र सलिन टमले गाएको हेरेँ । दुवैको प्रस्तुतीले आखाँमा आँसु ल्याइदियो । केहीबेर ब्रिटिश गट ट्यालेन्टमा म्याजिसियनको म्याजिक शो पनि हेरेँ । यूट्युव हेर्दाहेर्दै मोवाइलको घडिले साढे १० बजाइसकेको थियो । सुत्नुपर्छ भन्ने मनमा लाग्दै थियो, त्यहि बेलामा म्यासेन्जरको घण्टी बज्यो— टिङ् ।

म्यासेन्जर खोलेँ । म्यासेज थियो, ‘लावारिस गर्ल’ बाट । ‘लावारिस गर्ल’ नामको आइडि डिएक्टिभेटेड भएको निकै समय भैसकेको थियो । मैले सहजै अनुमान लगाएँ, उसले यो आइडि फेरी एक्टिभेटेड गरिछ । म्यासेजमा लेखिएको थियो— “सबै अतितहरु बिर्सनलायक पनि त हुँदैनन् ।” 

म्यासेज साँझ हामी छुट्टिने बेलामा मैले उसलाई भनेको वाक्य “वर्तमानलाई खुसी बनाउन अतितलाई भुल्ने सामथ्र्य राख्नुपर्छ” तर्फ लक्षित थियो । यो कस्तो जवाफ हो ? यदि उसले आफ्नो अतितलाई बिर्सन सक्दिन भने उसलाई मैले पनि किन अतित बनाउने ? हृदयको कुनै कुनामा सियोले च्वास्स बिझाए जस्तो, आगोले पोले जस्तो, सिस्नु झम्झमाए जस्तो । उसको यहि जवाफले मलाई सबथोक भएजस्तो भयो । यो पटक भने रिप्लाई बटनमा थिचेँ । मनमा अनेक जवाफ आए, धेरै बेरसम्म टाइप गर्दै मेट्दै गरेँ ।  तर सेन्ड बटन थिच्ने हिम्मत जुटेन । अन्त्यमा थम्स अप (ओके) संकेतमा मेरो बुढी औँलाले स्पर्श ग¥यो ।

उसले मेरो थम्स अप म्यासेज सिन गरेको थाहा पाएँ । तर रिप्लाइ उसले पनि गरिन । म न्यूज फिड हेरेर बसेँ । करिब आधा घण्टासम्म न उसले टेक्स्ट गरी न मैले । उसको नामको ‘लावारिस गर्ल’ को आइडीमा देखिएको निलो थोप्लोले उ अझै पनि अनलाइन छे भन्ने मलाई स्पष्ट थाहा थियो । “सबै अतितहरु बिर्सन लायक पनि त हुँदैनन्” उसले लेखेको यहि वाक्यले मनलाई नराम्ररी थिचिरह्यो । मस्तिष्क पुरापुर खाली भएजस्तै, मुटुको तेज एक्कासी बढेजस्तै । मनमा अनेकौँ शब्दका तरङ्गहरुले छाल मारिरहे । दायाँ हातको बुढी औँलाले छिटो—छिटो मोवाइलको न्यूज फिडहरु स्क्रोल गरिरह्यो । न्यूज फिडमा के लेखिएका छन्, कसले कुन फोटो राखेको छ ? यि यस्ता कुराहरुको मतलब नगर्न सायद मस्तिष्कले नै औँला र आँखालाई निर्देशन दिइरहको थियो । जब मनमा एउटा कुराले पिरोलिरहेको छ त अन्य हजारौँ कुराहरुको वास्ता नगरिदो रहेछ । 

११ बज्नै लागेको थियो । उसले म्यासेज पठाई । उसले लेखेकि थिई—“तिम्रो यो थम्स अप साइनलाई मैले के भनेर बुझौँ ?” मैले बुझ्नै नसक्ने उत्तर त उसले पठाएकी थिईन । प्रश्न बरु मेरो पो हुनुपर्ने हो । उसको यो प्रश्नले झनक्क रिस उठ्यो । 

“सबै अतितहरु विर्सनलायक पनि त हुँदैनन्” यहि कपि गरेर तत्काल रिप्लाइ गरेँ ।

उसले ????? चिन्ह पठाएर प्रश्न गरी । 

“त्यसो भए तिम्रो यो वाक्यलाई के भनेर बुझौँ नि म ?” मैले पनि रिसले नै प्रतिप्रश्न गरेँ । 

मेरो यो प्रतिप्रश्नसँगै ऊ शान्त भई । ऊ केहिबेरमा अफलाइन भई । मलाई बेस्करी रिस उठिरहेको थियो । यि सबै कुराहरु बिर्सने प्रयास गरिरहेँ । तर मनमा अनेकौँ तर्क/वितर्कहरुको द्वन्द्व चलिरह्यो । उसको त्यही “सबै अतितहरु बिर्सनलायक पनि त हुँदैनन्” भन्ने वाक्यले नै मलाई थिचिरहेको छ भन्ने ऊ आफैले किन बुझ्न सक्दैन ? वास्तवमा बुझ्नै नसक्ने त ऊ पो थिई । उसलाई मन लाग्दा घण्टौँसम्म हाँसी—हाँसी कुरा गर्थी । मन लागेन, हाप्तौँसम्म बोल्दैनथी । च्याटमै नबोल्ने, फोनै नउठाउने पनि होइन तर उसका कुराहरु ‘अम’ र ‘हम’ मा सिमित रहन्थे । मलाई पनि रिस उठ्थ्यो र सम्पर्कबिहिन भएर बस्थेँ । मैले पनि वास्ता नगरेजस्तो गरेपछि आफैले बोलाउर्थीँ । अबदेखि बोल्दैन भनेर दिमागले कवुल गथ्र्यो, मनले फेरि कवुल फेर्न बाध्य बनाउँथ्यो । म त उसलाई हृदयदेखि प्रेम गरेको मान्छे न थिएँ । उसको एक शब्द ‘ओइ काले’ नै काफि थियो, मेरो हप्तौँसम्मको मौनतालाई चिर्न ।

मलाई थाहा थियो, उसको जीवनमा मभन्दा पहिले अरु कोही थियो । अक्सर सम्बन्धलाई उसको जीवनमा मभन्दा पहिले अरु कोही थियो भन्ने कुराले पनि प्रभाव पार्छ भन्ने सुनेको छु । तर म सबै कुरा भुलेर उसँग समाहित हुन खोजिरहेको थिएँ । तर अहँ, उसले मलाई कहिल्यै पनि बुझ्नै सकिन, अझ भनौँ न बुझ्नै खोजिन । मलाई लाग्दै थियो, उसले आफ्नो पहिलो प्रेम बिर्सन मलाई प्रयोग गरिरहेकि छे । सुनसान मध्य रातसम्म पनि यहि एउटै कुराले मन दुखाइरह्यो । साँच्चिकै ! दिमागले अरुलाई दुःख दिन्छ त मनले आफैलाई । रिलिफ हुन्छ कि ठानेर मध्यरातमा पनि युट्युवमा आधुनिक गीतहरु सर्च गरेर सुनेँ । ‘दुख्ने पनि आफ्नै मन त हो........मैले आफुलाई सताउन छोडेँ ..........’ राज सिग्देलको आवाजमा यो गीत गुञ्जिरह्यो ।

क्रमश...

प्राप्त प्रतिकृयाहरू

रबिन्द्र कडेल लेख्नुहुन्छ (२०७६ असार १७ मंगलबार ५:२७ pm )

मन छोयो आँखा रसाए आफै लाई कसैले भने झै लाग्यो ... शब्द चयन र साना साना incident हरु को मिस्रण गज्जब छ । अर्को भाग को पर्खाई मा

Riblad noop लेख्नुहुन्छ (२०७६ असार १७ मंगलबार ०७:०५ am )

म्यासेज थियो "लावारिस गर्ल" साच्चिकै दिमाग् ले अरुलाई दुख दिन्छ भने मनले आफैलाई,अपरिचित प्रेमिका???Yes अपरिचित प्रेमिका ।।। आनन्द लाग्यो शुभ चिन्तक हरुलाई यसरी नै आनन्द दिन न भुल्नु।।

prem magar लेख्नुहुन्छ (२०७६ असार १५ आइतबार १०:२३ pm )

जो सुकैमा केही न केही क्षमता र प्रतिभा हुन्छनै फरक यति छ हजुरसंग अनगिन्ति प्रतिभा छ ।। यो मैले माट्र बुझेको कुरा होईन जसले हजुरको माट्र नाम सुनेको छ त्यसले हजुरको हरेक प्रतिभाको संवाद पाई सकेको छ।।।। जेठान जि सदा सदाको लागि शुभकामनाा,,।

Amar magar लेख्नुहुन्छ (२०७६ असार १५ आइतबार १०:१६ pm )

“वर्तमानलाई खुसी बनाउन अतितलाई भुल्ने सामथ्र्य राख्नुपर्छ” मन छोयो सर। लेख, रचनाहरु सिर्जना गर्दै जानुस। नेपाली साहित्यमा छलाङ मारेको हेर्ने मन छ।प्रशान्त सर।

kaveeta लेख्नुहुन्छ (२०७६ असार १५ आइतबार २:३३ pm )

मेरो दाई भविश्यको बरिष्ठ कवि, लेखक तथा नाटककार अवश्य बन्नुुहुन्छ यो ताल हो भने । नेपाली सेक्पियर,नेपाली होमर उपनामले प्रशिद्ध कमाएको हेर्न पाउने मेरो सपना छ ।

Rishi sapkota लेख्नुहुन्छ (२०७६ असार १४ शनिबार ०९:०३ am )

गज्जब लाग्यो दाजु

Tara argeja "स्टार" लेख्नुहुन्छ (२०७६ असार १३ शुक्रबार ६:४० pm )

लाग्छ यी शव्दहरूले "केही प्रेम गर्ने प्रेमीहरूको वस्तविकतालाइ स्पर्श गर्दैन भनेर भन्न नसकिने आधार देख्दिन। वाह दाजु लेख वाह ????????????️ अर्को भागको पर्खाईको हतारमा छ एक पाठक "स्टार"

Dinesh karki लेख्नुहुन्छ (२०७६ असार १३ शुक्रबार ५:५८ pm )

Keep it raja

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्