दही चिउरा खानुका फाईदा

आज असार १५ । कृषि प्रधान देश नेपालमा आजको दिनलाई मानो रोपेर मुरी फलाउँने दिनको रुपमा चिनिन्छ । आजको दिन असारे भाका गाउँदै रोपाई गर्ने अनि दही चिउरा खाने प्रचलन रहदै आएको छ । किसानहरुले त धान रोप्दै दही चिउरा खान्छन नै यसैगरी खेतमा नटेक्नेहरुले पनि आजको दिन दही चिउरा खानै पर्ने मान्यता लिएर दही चिउरा खाने गर्छन । 

सांस्कृतिक महत्व बोकेको यो परम्परा स्वास्थ्यको दृष्टीकोणले पनि राम्रो मानिन्छ । किनकी दहीमा पाइने ल्याक्टोब्यासिल जीवाणुले शरीरभित्र अन्य हानिकारक जीवाणुहरुको वृद्धि हुन दिंदैन । विशेष अमोबिक डिसेप्ट्रीका जीवाणुको वृद्धिलाई रोक्छ । पेट गडबडी हुँदा अर्थात पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम गर्छ ।

एन्टिबायोटिक औषधिको सेवनबाट पाचनक्रियामा भएको गडबडीलाई दहीले ठीक राख्न मद्दत गर्छ । यस्तो औषधिले शरीरमा भएका राम्रा तथा नराम्रा दुवै किसिमका जीवाणु नष्ट गर्ने भएकोले पाचनक्रियामा समेत असर पार्छ ।

यस्तो स्थितिमा घरमै बनाएको अमिलो नभएको दही खानाले नराम्रा जीवाणुको वृद्धि लाई रोकी पाचन अंगलाई पुनः साधारण अवस्थामा ल्याउन मद्दत गर्छ । 

यसैगरी महिलाहरुमा हुने योनिको संक्रमण (योनि चिलाउने तथा बाक्लो तरल पदार्थ बग्ने) लाई हटाउन दैनिक भोजनमा प्रशस्त मात्रामा दहीको समावेश गर्न सके फाईदा पुग्छ । दैनिक भोजनामा दही समावेश गर्न सकेमा यस प्रकारको संक्रमण तीन गुणाले कम हुनेछ ।

दहीमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । १०० ग्राम दहीमा प्रोटिन ३ दशमवल १ ग्राम, चिल्लो ४० ग्राम, क्यालोरी ६० र क्याल्सियम १४९ मि.ग्रा. पाइन्छ । दही भिटामिन बी, फोस्फोरस तथा पोटासियमको पनि राम्रो स्रोत मानिन्छ । एक कप दहीबाट २५० मि.ग्रा. पोटासियम पाइन्छ, जुन एक पाकेको केराबाट पाउने बराबरको हुन्छ ।

यसैगरी चिउरामा प्रशस्त मात्रामा कार्बोहाइड्रेडस पाईन्छ । दहीमा चिउरा मिसाएर खाए झनै उत्तम हुन्छ । गुणकारी दही र कार्बोहाइड्रेडको राम्रो श्रोत रहेको चिउरा खाँदा शरिरलाई फाईदा पुग्ने भएकाले नै परम्परादेखि नै दही चिउरा खाने प्रचलन रहँदै आएको हुन सक्छ । 

असारमा धान रोप्दा पसिना धेरै बग्ने हुनाले पानीको मात्रा छिटो छरितो रुपमा परिपुर्ती गर्न दही चिउरा खाने प्रचलन बसेको अनुमान लगाईन्छ । त्यसो त दही चिउरा खान असार १५ नै कुर्नु भने पर्देन तर असार १५ मा धान रोप्दै दही चिउरा खानुको मज्जा नै बेग्दै हुन्छ ।

दही खानुका फाईदाहरु

- दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ ।

- दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ ।

- यसले रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछ ।

- इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ । दहीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले धमनीको क्षेत्रमा कोलेस्टेरोल बन्न दिँदैंन । यसबाट हाइपरटेन्सन र उच्च रक्तचाप हुँदैंन ।

- दहीको सेवन उच्च कोलेस्टेरोलका रोगीलाई लाभदायी हुन्छ ।

- दहीमा क्याल्सियम, मिनरल बढीमात्रामा पाइन्छ । ओस्टियोपोरोसिस नामक रोगले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ ।

- दूध मन नपर्नेहरुले दही सेवनबाट पोषक तत्व प्राप्त गर्न सक्छन ।

- दहीमा ल्याक्टिक अम्ल बढी मात्रामा पाइन्छ । जसले ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु फूटरे फेक्टिभ  ब्याक्टेरियाको विकासलाई रोक्छ ।

चिउराका फाईदाहरु

- चिउरा आफैमा पाकेको खानेकुरा हो । जसमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ । त्यसैले भोक लागेको बेला छिटो छरितो रुपमा यसको सेवन गर्न सकिन्छ ।

- चिउरामा कार्बोहाइड्रेडको मात्रा धेरै हुनाले यसले शरिरमा शक्ति संचय गर्न मद्धत गर्छ ।

- फलामको ओखलमा कुटेको चिउरा खाए झनै उत्तम हुन्छ । किनकी त्यसमा आइरनको मात्रा अत्याधिक हुने गर्छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय