आयुर्वेदिक औषधीले रोग टकरक्कै निको हुन थालेपछि बढे विरामी

पाल्पा । रामपुर नगरपालिका–५ मटेरी बस्ने हरिकला रेग्मीले मेडिकलका औषधीमा धेरै रकम खर्च गरिन । उनलाई लामो समयदेखि ग्याष्ट्रिक, पेट दुख्ने, खाना खान पटक्कै मन नलाग्ने समस्याले पिरोलेको थियो ।

यी समस्याका लागि पटक पटक निजी मेडिकल, अस्पतालमा धाएकी उनले धेरै रकम खर्चिइन, तर बेथा पीडा भने निको होलाभन्दा उस्तै रह्यो । “सञ्चो होला भनेर मेडिकलमा गएर औषधि ल्याएर खान थालेको झन बेथा बल्झिन थाल्यो”, उनले भनिन । छ महीना अघिदेखि उनले आयुर्वेदिक औषधि नियमित रुपमा सेवन गर्दै आएकी छन ।

“आयुर्वेदिक औषधालयमा गएर स्वास्थ्यकर्मीसँग जाँच गराएर नियमित औषधि खाएपछि बेथा ठीक हुँदै गएको छ, मेडिकलको औषधि प्रयोग गर्न छाडे”, रेग्मीले भनिन । उनले अहिले बेला बेलामा आयुर्वेदिक औषधालय गएर स्वास्थ्य जाँच, औषधि खाने गर्छिन । 

देवका ढकाल पनि पेट दुख्ने समस्याले धेरै ठाउँमा उपचार गराउन पुगिन । मेडिकलको औषधि सेवनले निको होलाभन्दा झन बेथा बढ्दै जान थालेपछि उनी पनि आयुर्वेदिक औषधालय अहिले धाउन थालेकी छन ।

“आयुर्वेदिक औषधि खाएर शरीरलाई ठीक पनि भएको छ, अहिले त तन्दरुस्त छु” उनले भनिन, “पेट दुख्ने समस्या पनि कम हुँदै गएको छ, औषधोपचार सेवा सबै निःशुल्क पाइने रहेछ ।” 

अहिले पाल्पाको रामपुर आयुर्वेदिक औषधालयमा सेवा लिनेको चाप बढ्दो छ । पेट, ग्याष्ट्रिक, खाना मन नलाग्ने, गानोगोलाजस्ता समस्या लिएर बिरामी अस्पतालमा जाने गरेको पाइएको छ । रामपुर औषाधालयमा दैनिक २५ देखि ३५ सम्म बिरामीले सेवा लिँदै आइरहेको वरिष्ठ कविराज चेमनप्रकाश पोखरेलले बताए । उनका अनुसार एक महीनामा ३५० को हाराहारीमा बिरामीले सेवा लिएका छन । नेपाल सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यस औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ ।

सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन । यस औषधालयमा सेवा लिनेमध्ये बढी महिला छन । विभिन्न जडीबुटीबाट उत्पादित औषधि भएकाले पनि हिजोआज आयुर्वेदिक औषधि प्रयोगकर्ता बढ्दै गएका हुन ।

पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधवप्रसाद बस्यालले तानसेनमा रहेको कार्यालय र विभिन्न क्लिनिकबाट जिल्लभरमा चालू आर्थिक वर्षमा ३३ हजार ६२३ ले आयुर्वेदिक सेवा लिएको जानकारी दिए । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजितलगायतका विभिन्न वनस्पति वस्तु मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि हित मानिन्छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय