७ असोज २०८०, आइतबार

अधुरा कामको पूर्णताको लागि मेरो उम्मेदवारी : अर्याल (एजेण्डासहित)

गुल्मी । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन संघारमै रहेको छ । त्यसैले निर्वाचनको मिति नजिकिएसंगै उम्मेदवार नागरिकको नजिक पुग्न थालेका छन् । संघीयताको कार्यान्वयनसंगैको पहिलो कार्यकाल लगभग सकिएको छ ।

संघीयताको पहिलो कार्यान्वयन, जनप्रतिनिधीका नयाँ अनुभव, कानुन, कर्मचारी र सिमित श्रोत साधनका कारण नागरिकका असिमित आशा पुरा भएनन् । त्यसैले केहि जनप्रतिनिधीले अधुरा कामको पूर्णताको लागि दोस्रो कार्यकालका लागि पुनः उम्मेदवार बनेर चुनावी घरदैलोमा व्यस्त छन् ।

चन्द्रकोट गाउँपालिकामा पहिलो कार्यकाल सफल बनाएर स्थापित राधिका अर्याल सोही मध्येकी एक उम्मेदवार हुन् । प्रस्तुत छ उनीसंग धरातल अनलाईनले गरेको संवाद

फेरी घरदैलोमा हुनुहुन्छ ? 

हजुर अहिले मात्र नभएर म विगत छ बर्षदेखि जुन समयमा म चन्द्रकोट गाउँपालिकाको उपाध्यक्षको रुपमा यहाँका नागरिकको अमुल्य मत पाएर विजयी बनेँ सोही समयदेखि म यहाँका जनतासँगै छु ।

यस अघि म यहाँका स्थानहरुलाई के गर्नुपर्छ तपाईँहरुको आवश्यकता के हो ? विकासको खाका कसरी तयार गरौँ मेरा प्राथमिकतामा तपाईंका के सुझाव रहन्छ ? स्थानीय सरकारले के गरिदिनु प¥यो भनेर यसै ठाउँका जनतामाझ आउथेँ भने अहिले मेरो पहिलो कार्यकालको मुल्याङ्कन गरेर अझै एक कार्यकाल तपाईंको सेवामा लाग्नको लागि यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष पदमा मलाई निर्वाचित गर्नको लागि यहाँका मतदाताको अमुल्य मतको अपेक्षा गर्दै हिडिरहेकी छु ।

पहिलो कार्यकालमा गरेका कामको फेरेस्त भन्नुस न के–के गर्नुभयो ?

मलाई यहाँका जनताले मेरो एजेण्डा प्रति विश्वास गरेर मलाई माया गरेर गत स्थानीय तहको निर्वाचनमा मलाई उपाध्यक्ष पदमा विजयी बनाउनुभयो । सर्वप्रथम त यहाँका आम मतदाता प्रति म हार्दिक आभारी छु । फेरी पनि यो अवसरमा तपाईँको सञ्चार माध्यम मार्फत कृतज्ञता व्यक्त गर्दछु । हामी निर्वाचित भएर आएपश्चात नेपालको ईतिहासमा स्थानीय तहको पहिलो कार्यकालका जनप्रतिनिधी भएकोले नागरिकका निकै धेरै अपेक्षा सिमित श्रोत र साधन, विभिन्न कानुनी जटिलता तथा अभाव, कर्मचारी अभाव, हामी आफै अनुभवविहिन जनप्रतिनिधी जस्ता कुराका बाबजुत पनि हाम्रो कार्यकाल सफल नै रह्यो भन्ने लाग्छ ।

बिशेष गरेर पहिलो कार्यकालमा म गाउँपालिका उपाध्यक्षमा निर्वाचित भए पश्चात यहाँका महिला, दलित, अपाङ्ग, पछाडी पारिएका वर्गहरुका समस्याका समाधानका लागि लागिरहेँ । आफ्नो पदिय जिम्मेवारी र कानुनले तोकेका अधिकार क्षेत्रभित्र रहेर विभिन्न विकास निर्माणका काममा मेरो भुमिका निश्चय नै उल्लेख्नीय रह्यो । एक घर एक धारा कार्यक्रम, खरको छाना विस्थापन कार्यक्रम, हरेक वडामा यातायातको पहुँच, शैक्षिक क्षेत्रमा सुधारात्मक पहल, विभिन्न पर्यटकीय क्षेत्रहरुको पहिचान र संरक्षण, योजनाहरु मार्फत टोलटोलको विकास लगायतका कामहरुमा अनवरत रुपमा लागिरहेँ ।

कोभिड–१९ को विषम परिस्थितीमा त्यसको व्यवस्थापनमा म हरेक समय नागररिकसँगै रहेर एक जिम्मेवार जनप्रतिनिधिका हिसाबले काम गरिरहेँ । हामी जनप्रतिनिधीहरुको प्रतिस्पर्धा हुन्थ्यो त केवल विकासका पक्षमा मात्र । निश्चय पनि यस गाउँपालिकामा नेकपा (एमाले)को स्पष्ट बहुमत रहँदा समेत हामीले त्यसको कहिले पनि दम्भ देखाएनौँ । यसको लागि मैले उपाध्यक्षको नाताले केहि बढी संयोजन गरेँ ।

विपन्न नागरीकहरुलाई विभिन्न तवरले सुविधाहरु दिँदै गाउँपालिकास्तरीय अपाङ्गता समन्वय समितिको संयोजकको हैसियतले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र दिन कानुन निर्माण गर्न पहल गरेँ ।  हरेक महिनाको एक दिन विशेषज्ञ डाक्टरको व्यवस्थापन गरेर परिचयपत्र वितरण गर्यौँ । प्रत्येक वडामा गएर अपाङ्गगता परिचय–पत्र नवीकरण गर्ने, यस क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवालाहरुलाई संयोजन गरेर विभिन्न समाग्रीहरु वितरण गर्ने र गाउँपालिकाको बजेटबाट समेत यस्ता फरक क्षमता भएका व्यक्तिहरुको लागि विशेष व्यवस्था गर्न सफल भएँ ।

स्थानीय न्यायिक समितिको संयोजकको हैसियतमा स्थानीय तहमा रहेका विवादहरु निरुपण गर्नको लागि हरेक वडामा मेलमिलाप केन्द्रहरुको स्थापना गराएर प्रत्येक वडामा मेलमिलाप कर्ताहरुको व्यवस्थापन र केन्द्र व्यवस्थापन साथै उनिहरुलाई मेलमिलाप सम्बन्धी तालिम र पुनर्ताजगी तालिम समेत सञ्चालन गर्नको लागि आवश्यक बजेटको प्रबन्ध गरेँ ।

दर्ता भएका न्याय निरुपणका कार्यहरुमा अधिकांश मुद्दाहरु किनारा लागेको र थोरै मात्र माथिल्लो निकायमा जाने गरेको छ र स्थानीय तहको स्वमूल्याङ्कन नतिजामा गाउँपालिकाको न्यायीक कार्य सम्पादनमा शत प्रतिशत अंक पनि ल्याउन सफल भएका छौँ । म आफै महिला भएको नाताले यहाँका महिला दिदीबहिनीहरुको समस्यालाई म सहज रुपमा बुझ्न सकेँ सोही अनुरुप उहाँहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि क्षमता विकास सम्बन्धी धेरै किसिमका तालिमहरुको लागि रकम व्यवस्थापन गर्न पहल गरेँ ।

हरेक वडामा रहेका एकल महिलाहरुको एउटा छुट्टै सञ्जाल बनाएर उहाँहरुलाई क्षमता विकासका लागि र रोजगारीका लागि पहल गर्ने कुराको थालनी गरेका छौँ । महिला दिवस लगायतका दिवसहरुमा प्रत्येक वडामा महिला हिंसा न्यूनीकरण लगायत सम्बन्धी कार्यशालाहरु, महिला उत्थानका लागि विभिन्न  किसिमका प्रतियोगिताहरु सञ्चालन गरेर उनीहरुको क्षमता विकासका लागि अग्रसर रहिरहेको छु ।

आदीबासी जनजातीहरुको क्षेत्रमा पनि काम गर्न प्रत्येक बर्ष विभिन्न किसिमका रकमहरु विनियोजन गरेर अध्ययनरत विद्यार्थीहरुलाई लोकसेवा तयारी कक्षाहरु जस्ता क्रियाकलापहरु हुँदै आएका छन् । यसका अलावा टोल टोलमा रहेका महिला समुहहरुलाई परिचालन गरेर सामुहिकताको भावना विकास गराउन एक जिम्मेवार जनप्रतिनिधीको हिसाबले अनवरत रुपमा लागि नै रहेको छु । टोल टोलमा रहेका महिला र आमा समुहहरुलाई वार्षिक बजेट मार्फत रकम विनियोजन गरेर विभिन्न किसिमका फर्निचर खरिद लगायतका कार्यक्रमहरु पनि प्राथमिकतामा पार्दै गइरहेको छु ।

अनि तपाई राजस्व परामर्श र योजना अनुगमन समितिको संयोजक हुनुहुन्थ्यो । गाउपालिकामा राजस्व संकलन र योजनाको अवस्था कस्तो रहयो ?

मैले भुमिका अनुसार आन्तरिक आयलाई बृद्धि गर्नका लागि विभिन्न पक्षहरुसँग छलफल अन्तरक्रियाहरु गर्दै दायरा बढाउँदै आन्तरिक आयलाई हरेक बर्ष बृद्दि गर्दै लगिएको छ भने गाउँपालिका स्तरीय योजना अनुगमन समिति संयोजकको हैसियतले हरेक बर्ष विनियोजन भएका रकमबाट यस गाउँपालिकाभित्र सञ्चालन हुने जुनसुकै सानो वा ठुलो योजनाहरुको स्थलगत अनुगमन पश्चात प्राविधिकहरुको राय अनुसार आवश्यक सुझाव दिएर सोही बमोजिम भए पश्चात मात्र अनुगमन समितिको बैठकको निर्णय पछि मात्र योजना फरफारक हुने गरेको छ । जसले गर्दा योजनाहरुमा विभिन्न किसिमका हुने शंका र उपशंकाहरु निवारण भएका छन् । योजनाहरु सहि कार्यान्वयन गर्न सहज भएको छ । मुख्य कुराहरु यिनै हुन् । 

जहाँ सत्ता छ, त्यहाँ नागरिकका निराशा र कुण्ठा बढिरहेका छन् । अझ त्यसैमा तपाई फेरि दोहोरिन लाग्नु भएको छ । तपाईँलाई पुनः उपाध्यक्षको पदमा नागरिकले किन मत किन दिने ?

मैले पाँच बर्ष कार्यकालमा पुरा गर्ने लक्ष्य राखेका तर विभिन्न कानुनको अभाव, कर्मचारी अभाव, अन्तरतह समन्वय र स्पष्ट नीतिको अभाव, कोभिड–१९ जस्ता महामारी लगायतका कारण पुरा गर्न नसकेका अधुरा कामहरु जिम्मेवारीताको साथ पुरा गर्न र आगामी दिनमा जनताको पक्षमा गर्ने कामको प्राप्तीको लागि मलाई फेरी आम नागरिक र यहाँका मतदाताले सूर्य चिन्हमा मतदान गरी गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित गराउनुहुनेछ भन्ने पूर्ण विश्वासमा छु । मेरा योजनाहरु म बुँदागत बताउँछु 

  • पहिलो  काम त महिला तथा जेष्ठ नागरिकको लागि बिशेषज्ञसहितका बिभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्ने । महिलाहरुलाई विभिन्न किसिमका क्षेत्रमा उनीहरुको व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गर्नका लागि विभिन्न तालिमहरु सञ्चालन गर्ने तथा योजनाहरु मार्फत सीप विकासहरु तालिम सञ्चालन गरी आवश्यक प्रविधिहरु दिएर उनीहरुलाई उद्यमशील बनाउन । 
  • गाउँपालिकाभित्रका विद्यालय तथा कलेजमा अध्ययनरत छात्राहरुको लागि निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गर्न ।
  • प्रत्येक वडामा वडास्तरीय तथा पालिकामा गाउँपालिकास्तरीय महिला सञ्जालको गठन गरी उनीहरुको आवश्यकता अनुसारका क्रियाकलापहरु गर्न ।
  • एकल महिलाहरुको हकमा एकल महिला सञ्जाल गठन प्रक्रियालाई निरन्तरता दिने र उनीहरु क्षमता विकास गराई आत्मनिर्भर वन्नको लागि योजनाहरु सञ्चालन गर्ने ।
  • अपाङ्गता परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाउने र राज्यले सुविधा नदिएका ‘ग’ र ‘घ’ बर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष योजना ल्याउने साथै निर्माण हुने सार्वजनिक भवनलाई अपाङ्गमैत्री बनाउन विशेष पहल गर्ने ।
  • गाउँपालिकास्तरीय एक कानुनी सहायता कक्ष स्थापना गरी उक्त सेललाई आवश्यक रकम विनियोजन गरी विपन्न नागरिकहरुलाई न्याय प्राप्तिको लागि माथिल्लो निकायमा निःशुल्क बहसको लागि सहयोग गर्न ।
  • गाउँपालिकाको करका दर हैन दायरा बढाउनको लागि राजश्व सुधार योजना ल्याउने र सोहि अनुरुप विज्ञको सल्लाह लिई काम गर्न ।
  • गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई उनीहरुको सामाजिक योगदानको कदर गर्दै प्रत्येक बर्ष सम्मान गर्ने ।
  • असल बुहारी सम्मान, एक दम्पत्ति दुई सन्तान सम्मान जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने
  • गाउँपालिकाका प्रत्येक वडामा होमस्टे सञ्चालन गर्ने र प्रत्येक बर्ष आवश्यक बजेट समेत बिनियोजन गर्ने जसको माध्यमबाट नागरिकको आय आर्जन बढाउन सहयोग पुग्नेछ ।
  • चन्द्रकोट गाउँपालिकाको समग्र विकास साथै ठूलो महत्वका योजना सञ्चालनको लागि केन्द्र तथा प्रदेश सरकारका प्रतिनिधीहरुसँग आवश्यक समन्वय गरी बजेट विनीयोजनका लागि पहल गर्न ।

यो भन्दा धेरै त मैले अघिल्लो चुनावमा नागरिकमा गरेका बाचाहरु तथा निर्वाचित भइसके पश्चात र अहिले समेत जनताको घर घरमा पुग्दा उहाँहरुले गरेका मागहरु तथा स्थानीय सरकारको एउटा उपाध्यक्ष जस्तो पदबाट अपेक्षा गरेका कुराहरु पुरा गर्नकै लागि यहाँका मतदाताको अमुल्य मत प्राप्त हुने कुरामा विश्वस्त छु ।

साथै संविधानले स्पष्ट गरेको स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख पदमा एकजना महिलाको अनिवार्य व्यवस्थालाई यो वा त्यो वाहनामा नजरन्दाज गर्ने राजनैतिक संस्कारहरुलाई चिर्नको लागि र यहाँका महिला, दलित, अपाङ्गता भएका व्यक्ति, जनजाती बर्गहरुलगायत सवै पक्षको हक र हितका लागि पनि मलाई यस क्षेत्रका मतदाताले मत दिने कुरामा म विश्वस्त छु ।

अन्त्यमा केहि भन्नु छ  ?

धेरै कुरा त आईसके यद्यपी कुराहरु सीमित हुँदैनन् । म तपाईँ मार्फत यहाँका आम मतदाता साथै नागरिकहरुलाई के भन्न चाहन्छु भने विभिन्न कारणहरुले गर्दा अघिल्लो निर्वाचनमा गरेका केहि बाचाहरु पुरा गर्न सकेकी छैन । त्यो मलाई राम्रो सँग थाहा छ । अब यहाँको मतवाट विजयी भए भनेँ अघिल्लो पटक गरेका बाचाहरु र यसपटक गर्नुपर्ने नागरिकका दायित्वहरुलाई म जिम्मेवार रुपले पुरा गर्दै जानेछु । 

तपाईँहरुको घरदैलोमा सधै रहिरहने छु तपाईँकै छोरी चेली हुँ ठुलो विश्वास र अपेक्षाका साथ अहिले भने हजुरको आँगनमा यहाँको मतको अपेक्षा गरेर आएकी छु । मलाई मेरा मतदाता प्रति पूर्ण विश्वास छ । म विजयी हुनेछु । आगामी बैशाख ३० गते हुने निर्वाचनमा म लगायत सम्पूर्ण सूर्य ध्वजाबाहक उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरी बिजयी बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दै मलाई आफ्नो भनाई राख्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । 

प्राप्त प्रतिकृयाहरू

Nirmala kharel लेख्नुहुन्छ (२०७९ बैशाख २० मंगलबार १०:१५ pm )

Asa xa chandrakot 8 ka mahela bbikasma jyda pahal garnu hune xa best of luck????

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्