अन्जितको रहरलाग्दो व्यावसायिक कागती खेती, लोभलाग्दो कमाई

दाङ । तीन वर्ष जति निल काटा र सैंजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगरमा अहिले हिरयाली छाएको छ ।

हरियो बोटमा लटरम्म फलेको कागती छ । दुई वर्षको अन्तरालमा अहिले त्यहाँ पुग्ने मानिस झुक्किन्छन र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन । उनीहरुको ध्यान हरियालीले मात्र होइन लटरम्म फलेका कागतीले पनि तान्न थाल्छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका गाउँले पनि बारम्बार कागती खेती हेर्न पुग्ने गरेका छन ।

गढवा गाउँपालिका–३ गोबरडिहाका ३२ वर्षीय अन्जित चौधरीले व्यावसायिक रुपमा गरेको उन्नत जातको कागती खेतीले उनको जीवन राम्ररी चलेको मात्र होइन यस स्थानकै शोभा पनि बढाइदिएको छ । उनले डिएण्डके सिट्स कृषि फार्म खोलेर व्यावसायिक रुपमा उन्नत जातको कागती खेती गर्न थालेका हुन । 

विसं २०७४ मा यहाँको १० बिघा जमीन २५ वर्षका लागि भाडामा लिएर शुरुमा रु २० लाख लगानी गरी व्यावसायिक रुपमा उन्नत जातको कागती खेती थालेको कृषक चौधरीले बताए । उनले १० बिगा जमीनमध्ये साढे छ बिघामा कागती खेती गरेका छन भने अन्य जमीनमा रेशम खेती छ । 

धनकुटामा रहेको वनस्पति उद्यानबाट ‘सुन कागती–१’ र ‘सुन कागती–२’ नामका उन्नत जातको तीन हजार कागतीका बिरुवा खरीद गरी खेती थालेको उनको भनाइ छ । सो जग्गाको वार्षिक रु दुई लाख भाडा तिर्ने उनले अहिले दुई जनालाई पूर्णरुपमा र सात जनालाई आंशिकरुपमा रोजगारी दिएका छन । उनले भने, “दुई वर्ष भयो बिरुवा रोपेको एक वर्षमा नै फल्न थाले पनि शुरुको वर्षका अधिकांश दाना झरेर गए ।’

‘फल धेरै लाग्ने तर बोट साना भएकाले असर गर्ने हुँदा आम्दानी भएन । यसपटक भने कागतीको राम्रो आम्दानी हुन्छ भन्ने आशमा छु ।” उनले भने, “बाबुबाजेले धान, मकै, गहुँखती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नुभयो तर मैले अहिले क्याम्पसमा पढ्दै यो पेशा रोजेको हूँ ।” उनले थपे, ‘सफल हुन्छु भन्ने आशा पनि छ तर खेती फष्टाउन, सिँचाइ र रोग लागेमा कागतीलाई कसरी बचाउने भन्ने चिन्ता छ ।”

आफूलाई यो खेतीतर्फ उत्साहित गराउन गत वर्ष गाउँपालिकाले रु तीन लाख र घोराहीस्थित कृषि ज्ञान माला केन्द्रले रु दुई लाख अनुदान उपलब्ध गराएको कृषक चौधरिले बताए । उनको कागती फाराम यस क्षेत्रकै सबैभन्दा ठूलो रहेको र के कसरी खेती गर्ने भन्ने जानकारी लिन र अवलोकन गर्न अहिले सञ्चारकर्मी, सर्वसाधारण, कृषक र सरकारी उच्च ओदाका कृषि क्षेत्रका मानिस आउने गरेका छन ।

तुलसीपुर उपमहानगरपालिका–१० स्थायी घर भई हाल गोबरडिहामा डेरा गरी बस्ने तेजप्रसाद शर्माले आफू चौधरीले गरेको कागती खेती देखेर निकै उत्साहित भएको बताए । “म यहीँ नजिकैको गाउँमा बस्छु प्रायः बेलुकी घुम्न कागती खेतीमा नै आउने गरेको छु” उनले भने, “दुई वर्षअघि मात्र निकै ठूलो झाडी थियो तर अहिले हेर्दाहेर्दै कागतीको बगैँचा बन्यो ।” 

नेपालमा ८० प्रतिशत कागती भारतलगायत देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने केही वर्ष पहिले एउटा समाचार पढेकाले आफूलाई यस खेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको कृषक चौधरीले बताए । पूर्वी नेपालमा भ्रमण गएको बेलामा त्यहाँ गरेको कागती खेती अवलोकन गर्ने मौका पाएको र कागतीमा राम्रो सम्भावना देखेर खेतीमा लागेको उनको भनाइ छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय