ह्याप्पी बर्थ डे मेरी आमा...
बुडीको, छोराको, दाई–भाई र नानी–बाबु तथा साथीसंगीका बर्थ डे बरु कठस्त पारियो । आमा तिम्रो बर्थ डे बिरलै बर्षमा सम्झिएँ । अहिले तिम्रो बर्थ डे सम्झने कोशिसमा अल्ली पहिलेबाटै थिएँ । किनकी फेसबुकमा फोटो राखेर ह्याप्पी बर्थ डे आमा लेख्न ।
तिम्रो गुन त जुनै बर्थ डे मा पनि तिर्न के सकुँला र आमा । तिमीले मेरो लागि बिताएका भोका र अनिदा रातको गुन मैले फेसबुकमा ह्याप्पी बर्थ डे आमा लेखेर पुग्दैन ।
म सहितका पाँच भाईलाई पेटमा राखेर बोकेका गरुङ्गा भारीका कारण अहिलेसम्म एक पसर औषधी खान्छौ । दुःख पोख्ने माइती थिएनन्, कुचो छोप्ने छोरी र हत्तर उचाल्ने छोरा । चप्पल भएनन भुइँ टेक्ने, आफन्त थिएनन दुःख देख्ने । मेरा लागि तिमीले लगाएका पर्म, बोकेको पानी, पिसेको झाँतो, नखाएका गास, नगरेका आश र अडकलेर फेरेको सासको गुन तिर्न ह्याप्पी बर्थ डे लेखेर पुग्दैन आमा ।
म जन्मिदाँ दुध घिउ सोधे वा सोधेनन् ? खै कति दिन सुत्केरी बस्यौ । मैले कहिल्यै सोध्न पाइन । त्यो चलन, त्यो व्यवहार, त्यो बुर्हातन । पहिले थिएन, अहिले शरिरले दिएन । त्यसैले कमजोर छौ आमा । बुझेको छु अझै पनि रोग र पटपटी फुटेका खुट्टाले ठिङ्ग उभिएर सास फेरेकी छैनौ । ८२ पुगेका बा । रोगले च्यापेको शरिर । अवसर कुरेका छिमेकी । चाडपर्व कुरेका छोरा बुहारी । त्यसैले तिमीले खोजेको बिहानी आएको छैन् । किनकी औषधीले भेटेपछि खुल्छन् तिम्रा ओठहरु । मैले फेसबुकमा ह्याप्पी बर्थ डे लेखेर पुग्दैन आमा ।
दुई परिवार । दुई परिस्थिति । उपाध्याय गाउँमा जैसी बुहारी । त्यो बेला गाउँभरका सासु–ससुरा र देउरानी–जेठानीका कति बचन सहेर हिडेकी हौली । भान्सा उम्काउन मसुरो, रोग उम्काउन असुरो । व्याथा च्यापेर पनि जीन्दगीको कथा कहिल्यै भनिनौ आमा ।
मैले बल्ल बुझेको छु, त्यो बेला तिमीले मेरा लागि पर सरेको रगतले लतपतिएको फरिया पनि फेरिनौ । मेरो शिक्षादिक्षा र रहर मेटन आफ्नो पेट हेरिनौ । अहिले उमेर ढल्कियो, रोग पल्कियो । अझै पनि घाँस टुटेको छैन डोकामा । तिम्रो खुसी खोग्न थैलामा बर्थ डे केक होइन औषधी बोकिरहेको छु । फेसबुकमा ह्याप्पी बर्थ डे लेखेर पुग्दैन आमा । तै पनी ह्याप्पी बर्थ डे मेरा आमा ।।
टोपलाल अर्याल
अध्यक्ष, पत्रकार महासंघ गुल्मी
इस्मा गाउँपालिका–४, गुल्मी
प्रतिक्रिया थप्नुहोस्