१६ चैत २०८०, शुक्रबार

स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन प्रतिवद्ध

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य नयनकली खडकाले वडाको स्वास्थ्य क्षेत्रलाई समय सापेक्ष अगाडी बढाउन आफुहरु जिम्मेवार रहेको बताउकी छन । मंगलबार गाउँपालिकाको वडा नम्बर ३ स्थित धम्जा स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै उनले स्वास्थ्य संस्थालाई गुणस्तरिय र प्रभावकारी बनाउनका लागि सुझाव दिन आग्रह गरिन । 

त्यस्तै वडा नम्बर ३ का वडा सदस्य खुम भण्डारीले सामाजिक परिक्षण कार्यक्रमले स्वास्थ्य संस्थालाई पारदर्शी, सुशासन र जवाफदेही बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताए । त्यसको लागि व्यवस्थापन समिति, समुदाय र  स्वास्थ्यकर्मी आफनो कार्य सम्पादनमा जिम्मेवार रहनुपर्ने उनको भनाई छ ।

भौगोलिक विकटता र सहज यातायातको पहुँच नभएको भन्दै साविकका वडाहरुमा स्ट्रेचरहरुको व्यवस्था गरिदिन स्थानीयले माग गरे । स्वास्थ्य चौकीका सेवा सुविधाहरुलाई समय सापेक्ष सुधार गर्दै औषधी व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सहभागीले सुझाए । सहभागीहरुले स्वास्थ्य चौकीमा उपलब्ध औषधीहरु सहज रुपमा पाउने गरेको, शौचालय, खानेपानी र सरसफाईको उचित व्यवस्थानका साथै स्वास्थ्यकर्मीहरुको व्यवहार पनि राम्रो रहेको बताए ।

विद्यालयहरुमा प्राथमिक उपचारका सामाग्री र समय–समयमा स्वास्थ्य शिक्षा उपलब्ध गराईदिन शिक्षाप्रेमीहरुले माग गरेका छन । धम्जा स्वास्थ्य चौकीमा भौतिक रुपमा आन्तरिक तथा बाह्य व्यवस्थापकिय पक्ष राम्रो रहेको भन्दै उनीहरुले खुसी व्यक्त गरे । कार्यक्रममा सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी गराईन ।

कार्यक्रममा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको धम्जा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितीका उपाध्यक्ष सुन्तली विश्वकर्मा, वडा सदस्य खुम भण्डारी, धम्जा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र महतोले जवाफ दिए ।

सामाजिक परिक्षण कार्य अन्तरगत पहिलो चरणमा धम्जा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु, तेस्रो चरणमा स्वास्थ्य आमा समुह र चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित अन्तरक्रिया गरिएको थियो । अभियानको क्रममा धम्जाका विभिन्न गाउँ तथा टोलहरुमा तथ्याङ्क संकलन समेत गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्