बागेश्वरी मन्दिरलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता

बाँके । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालगञ्जको मध्य भागमा रहेको यो मन्दिर आउजाउ गर्ने दुई बाटोमध्ये पश्चिमतर्पmको बाटो साँघुरो छ । बाटोको दुवै छेउमा ठेला र घुम्ती पसल राख्नाले बाटो अझ साँघुरो भएको छ । मन्दिर प्रवेश गर्ने पूर्वतर्पmको न्युरोडको बाटो भने फराकिलो छ ।

मन्दिर परिसरमा रहेका धार्मिकलगायतका सामग्री बिक्री गर्न खोलिएका पसलहरुका कारण दर्शन गर्न आउने भक्तजनहरुले कष्ट भोग्नुपर्ने स्थिति रहेको छ । नेपालगञ्ज–१३ शान्तिनगरका सीता पौडेलले भनिन, “मन्दिर परिसरभित्रै खोलिएका पसलका कारण देवीको ढोकासम्म पुग्न हम्मेहम्मे पर्ने गर्दछ ।”

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले पसल व्यवस्थापनका लागि सटरहरु बनाउन शुरु गरिएको बताए । उनका अनुसार मन्दिर क्षेत्रको नियमित सरसफाइदेखि अन्य भौतिक पूर्वाधार निर्माणका लागि पनि समितिले योजना निर्माण गरेको छ ।

सो मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन माता बागेश्वरीको दर्शन गर्न आउने गर्दछन । माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास छ । यो मन्दिरमा दशैँको अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा पनि रहिआएको छ ।

सतीदेवीको जिब्रो पतन भएको स्थानमा बागेश्वरी मन्दिर स्थापना भएको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए । “माता बागेश्वरीको श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेहरुको मनोकामना पूरा हुँदै आएको छ”, उनले भने, “बागेश्वरी मन्दिरमा विशेष सङ्कल्प गर्ने भक्तजनले तोकिएको समयमा बागेश्वरी माताको खुल्ला दर्शन गर्न पाउने व्यवस्था पनि गरिएको छ ।”
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय