७ बैशाख २०८१, शुक्रबार

अपरिचित प्रेमिका [भाग–२]

सायद ऊ जीवनभरी दुख्न लेखेकी थिई र त मबाट पनि ऊ लुक्न जानिन् । एक बर्ष अघिको लामो रात्री यात्रामा भेटिएको कोही अपरिचित सुन्दरी फेरी पनि फिल्मी कथामा जस्तै कही कतै भेटिन्छे भनेर के तपाई विश्वास गर्नुहुन्छ ? हो, ऊ मबाट लुक्न नसकेको एउटा अविश्वसनीय कथा छ मसँग । म त भन्छु, जुन दिनदेखि ऊ मबाट लुक्न जानिन, त्यहि दिनदेखि ऊ पनि मेरो आँखाबाट सुक्न जानिन ।

मध्य रातमा सिरानीनिरै रहेको मोवाईलमा राज सिग्देल गुन्गुनाइरहे ‘दुख्ने पनि आफ्नै मन त हो........मैले आफुलाई सताउन छोडेँ ..........’ तर गीतले भनेजस्तै मलाई उसको यादले भने सताउन छोडेन । त्यही बेलामा युट्युवमा गीत अटो चेन्ज भयो । अब भने अरुण थापाको गीत गुञ्जिन थाल्यो ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौँ ........’ । यो गीतले उसको याद झन ताजा भएर बिउँझियो । 

अब भने उसँग परिचित हुँदाताकाका पुराना दिनहरु फिल्मको रिलजस्तै आँखामा लगातार घुम्न थाले । साँच्चिकै अजिव थियो त्यो दिन, जुन दिन म उसलाई पुनः दोस्रो पटक भेटेको थिएँ । विश्वासै गर्न नसकिने, मानौँ न एउटा सपना जस्तै या त भनौँ, एउटा फिल्मी कथा जस्तै ।

केहि समय अगाडिको कुरो हो । म बागलुङसम्मको यात्राको लागि बसको प्रतिक्षामा पोखराको हरिचोकमा प्रतिक्षालय अगाडि ज्याकेटका दुवै गोजीभित्र हात हालेर उभिरहेको थिएँ । करिब आधा घण्टाको भारी बर्षापछि मौसम भर्खर खुलेको थियो । सडकमा भएका धुलोमैलो पानीले बगाएर होला, बर्षापछिको सडक चकाचक सफा थियो । बस आउने अनिश्चयले मन आत्तिरहेको थियो । 

अश्चानक एउटा निलो रङको स्कुटर मेरो अगाडि आएर रोकियो । स्कुटरमा एउटी २०/२१ बर्षकी केटी थिई । निलो कलरको कुर्ता, सेतो सलवार अनि सेतै रङको सल । आकाशे रङको पेपर मास्क र कालो रङको हेलमेट । मास्क र हेलमेटले उसको पुरा रुप देखिएको थिएन तर त्यो मास्कभित्र सुन्दर मुहार छिपेको छ कि जस्तै मनमा लागिरहेको थियो । अर्को प्रश्न पनि थियो, ऊ मेरै अगाडि किन रोकिई ? यो प्रश्न पुरा गर्न मनले भ्याएकै थिएन । अचम्म ! उसले मलाई स्कुटरबाटै ‘हाइ’ भनेर दायाँ हात हल्लाई । म अन्योलतामा परेजस्तै गरी गोजीबाट हात नझिकेरै हाइ भनेँ । सायद उसले अन्योलतामा रुमलिएको मेरो अनुहार राम्ररी पढिसकेकी थिई । एक हातले हेलमेट र अर्को हातले कानमा अल्झिएको मास्कलाई हटाई र फिस्स हाँस्दै बोली, “चिन्नुभएन ?”

म निःशब्द जस्तै भएँ । त्यहि अनुहार, जुन अनुहार एक बर्ष अघि काठमाडौँसम्मको रात्रि यात्रामा देखेको थिएँ, मेरै अगाडि सिनेमा हलको पर्दाजस्तै सामुन्ने उभिएको थियो । उहि सुन्दर र काला आँखा, उसैगरि दायाँ कानतिर लत्रिएको सिल्कि कपाल, उहि डिम्पल पर्ने गोरो गाला अनि उहि गुलाबी कलर पोतिएको कोमल ओठ । मैले एकतमासले उसलाई हेरिरहेको रहेछु । “अझै चिन्नुभएन ? पोहोर साल काठमाडौँ जाँदा भेट भाथ्यो नि ?” उसको दोस्रो प्रश्नले म झसङ्ग भएँ । म सम्हालिन खोजेजस्तो गरि बोलेँ, “अम्, बल्ल याद आयो । हजुरको लागि ट्याक्सी खोजेका थियौँ नि है, नयाँ बसपार्कमा ?” उ हाँस्दै मुन्टो हल्लाई । हामी बिचमा खास अरु कुरा भएन । उसले आफ्नो घर पोखरा न्यू रोड भएको कुरा बताई । मैले घर बागलुङ भएको र काम विशेषले केहि दिनको लागि घर जान लागेको कुरा बताँए । उसको मनमा के बितिरहेको थियो, खोइ ? यो पटक पनि मलाई उसको नाम सोध्ने हिम्मत जुटिरहेको थिएन । 

अचानक ! “नयाँ पुल, डिमुवा, कुश्मा पर्वत, बागलुङ” भन्दै खलासी कराउँदै गरेको बस हामीभन्दा पारीपट्टी आएर रोकियो । यो अन्तिम गाडी थियो । मैले आफुलाई हतार भएको संकेत गरेजस्तै गरी हातको घडि हेरेँ । खलासी भाइले त्यहि बेलामा सोध्यो, “जाने हो दाइ ?” मैले जाने हो भनेँ । उसले पोखरा—बागलुङ सडकखण्डको बीचतिर कतै बाटो बनाउन लागेको कारण जाम नहुँदै पुग्नुपर्ने भन्दै छिटो चढ्न अनुरोध ग¥यो । म फेरी भेट्ने वाचा गरेर सडक क्रस गरेर बस भएतिर गएँ । बसमा अन्तिमको सिट खाली थियो । त्यहि गएर दायाँ झ्यालतिर बसेँ । झ्यालबाट बाहिर हेर्दा उसले हेलमेट लगाउँदै थिई । ऊ मतिर फर्की अनि देब्रे हातको हत्केलामा दाहिने हातको चोर औँलाले केही लेखेजस्तो गरेर नबोलेरै मुख आँ गरेर ओठ जोडी । मलाई अनुमान लगाउन गाह्रो भएन, उसले मेरो नाम सोधेकी थिई । बस बिस्तारै गतिमा जाँदै थियो । मैले झ्यालबाट थोरै टाउको निकालेर केहि जोडले कराएँ “सजल” ।

त्यहि बेलामा म चढेको बस जोडले हुइँकियो । कोहि सुन्दर केटीले आफ्नो नाम सोधेकोमा मनको कुनै कुनामा आनन्दले सयर गरिरह्यो । तर अफसोच ! दोस्रो पटक पनि उसको नाम सोध्ने सामथ्र्य नराखेकोमा लज्जाबोधले पनि पिरोलिरह्यो । उसले मेरो नाम सुनि या सुनिन, तर कमसेकम मेरो नाम सोध्ने हिम्मत त रैछ उसँग । उसँग मेरो भेट यसरी नै फेरी पनि हुन्छ भन्नु नै कहाँ छ र ? यो त संयोगको भेट थियो । संयोग सधै कहाँ हामीसँग हुन्छ ? यि यस्ता कुराहरुले यात्राभरी मन पिरोलिरह्यो ।

१ दिनको बागलुङको बसाइपछि गाउँ गएँ । दुर्भाग्य, गाउँ पुग्दाबित्तिकै मोवाईल बिग्रियो । नयाँ मोवाईल किन्नलाई पैसा थिएन । बिना मोवाईल नै करिब १५ दिन जति गाउँतिरै बसेँ । बेलुका सुत्नुभन्दा अघि पनि र विहान उठेपछि पनि मोवाईल खेलाउनैपर्ने बानी परेको मलाई यो १५ दिन कटाउन निकै मुस्किल भयो । तर भाग्यवस, १६ औँ दिनमा मेरो हातमा नयाँ मोवाईल प¥यो । कोरिया गएको एक जना साथीले उपहार स्वरुप मोवाईल पठाउने वाचा गरेको थियो एक बर्ष अघि । त्यहि वाचा स्वरुप, उसले अरु कसैको हातमा मोवाईल पठाएको थियो । नयाँ मोवाईल पाएको दिनै म पोखरा फर्कनु थियो । पोखरा पुगेर नयाँ नम्बर लिने मनसाय बोकेर म पोखरा फर्किएँ । 

साँझतिर पोखरा पुगेर एनसेलको नयाँ सिमकार्ड किनेँ अनि नयाँ मोवाईलमा राखेर एक्टिभेसन गरेँ । रुममा पुगेर मोवाईललाई स्वीच अफ गरेर चार्ज गरेँ । धेरैदिनपछि रुममा फर्किदाँ रुम घुलोले फोहोर भएको थियो । केहिबेर रुम सफा गरेँ । टेवलका किताबहरु मिलाएँ । खाना पकाएर खाएँ अनि साढे नौ बजेतिर मोवाईल अन गरेर बेडमा पल्टिएँ । केहिबेर मोवाईलका एप्सहरु चेक गरेँ र फेसबुक खोलेँ । फेसबुकमा १२ जना नयाँ साथीहरुको रिक्वेस्ट आएको रहेछ । केहि चिनेको साथीहरुको रिक्वेस्ट एक्सेप्ट गरेँ । ५ जना अपरिचित रिक्वेस्टलाई पेन्डिङ मै राखेँ । मोवाईल पठाउने साथीलाई 'Thanks for this gift' लेखेर अफलाइन म्यासेज छोडेँ । केहिबेर अरु न्यूज फिडमा रियाक्ट र कमेन्ट गर्दै बसेँ । अनि फेरी पनि फ्रेण्ड रिक्वेस्ट पठाउने अपरिचितहरुको प्रोफाइल खोल्न थालेँ । 

ति रिक्वेस्टहरुमध्येको एक नामले मलाई ध्यानाकर्षिक ग¥यो । रिक्वेस्ट आएको थियो, ‘लावारिस गर्ल’ बाट । यो आइडीमा कुनै पनि फोटोहरु थिएनन् । प्रोफाइल पिक्चरमा सुनसान रातको समयमा हातमा स्यान्डल बोकेर कुनै गल्लीमा हिडिरहेकी कुनै केटीको तस्बिर थियो । यो नामको आइडीमा साथीहरु मुस्किलले सयभन्दा पनि कम थिए तर ति कुनै पनि मेरा साथीहरु थिएनन् । आइडीमा केही स्टाटसहरु थिए :

‘फेवातालले कहिलेकाहिँ सोध्छ मलाई, तिमीभित्र कति पानी छ ?’

‘खै कुन चिजले रोकेको छ मलाई, म बर्सिन बिर्सिसकेछु ।’

उसका स्टाटसहरु यस्तै यस्तै अरु पनि थिए । जति थिए, सबै अजिव जस्ता । सवै स्टाटसहरुमा साझा गुण थिए ‘पीडा’ । मैले अरु चार रिक्वेस्टलाई अझै पेन्डिङमा राखेर ‘लावारिस गर्ल’ लाई एक्सेप्ट गरिदिएँ ।

दिनहरु बित्दै गए । बि.ए. तेस्रो वर्षको परीक्षा नजिकिदैँ थियो । मनमा कहिलेकाहीँ लाग्थ्यो, त्यहि सुन्दर केटी फेरी पनि बाटोमा कतै भेटिए हुन्थ्यो, एक्सिडेन्ट जस्तै गरी । यो पटक त मुटु निलेरै भएपनि कमसेकम उसको नामसम्म सोध्ने हिम्मत जुटाउन मन थियो । कहिलेकाहीँ न्यूरोड हुँदै माइक्रोमा यात्रा गर्दा उहि गोरो डिम्पल पर्ने गाला, सुन्दर आँखा, दायाँ कानतिर लत्रिएको सिल्की केश र गुलाबी ओँठ लगातार आँखामा घनचक्कर लगाउँथे । मनले उसैलाई खोजेर होला सायद, आँखाहरु हमेसा झ्याल बाहिरै दौडिन मन पराउँथे । कहिलेकाहीँ उस्तै जिउडाल र सिल्की केस भएकी केटी पछिबाट देख्दा पनि उहि हो की भन्ने आश मनभित्र पलाउँथ्यो तर त्यो आश छिनभरमै सेलाउँथ्यो । 

परीक्षाको चापले करिब १ महिना म फेसबुकमा त्यति सक्रीय भइन । फेसबुक खोल्दै नखोल्ने होइन, तर खोलेपनि कसैसँग बोलिन । धेरैबेरसम्म किताबमा घोक्रिएपछिको मानसिक तनावलाई कम गर्न कहिलेकाहीँ मात्र फेसबुक खोल्ने गर्थेँ । परीक्षा सकिएको एक साँझ केही साथीहरुसँग ट्याक्सी चोकतिर टहलिएँ । आठ बजेतिर रुम पुगेर फेसबुक खोलेँ । म्यासेन्जरले केही म्यासेजहरु आएको संकेत ग¥यो । ति मध्ये एक म्यासेज थियो—लावारिस गर्लबाट । उसले अंग्रेजीमा लेखेकी थिई, ‘हाई ! हाउ आर यू ?’

कुनै समय मेरो ध्यानाकर्षण गरेको आइडी थियो त्यो । परीक्षा चल्दाताकाका दिनहरुमा कहिलेकाहीँ फेसबुक खोल्दा म आफैँले पनि बोलाउन प्रयास गरेको थिएँ, लावारिस गर्ललाई । तर, कहिले पनि यो आइडीलाई अनलाइनमा देखेको थिएन । अफलाइन म्यासेज छोड्छु भनेर पटक–पटक प्रयास नगरेको पनि होइन, तर उसले के सोँच्ला ? यहि प्रश्नले नै मलाई रोकिराखेको थियो । आज त ऊ आफैँले म्यासेज गरेकी थिई । मैले पनि ढिला नगरेर नेपालीमा रिप्लाई गरेँ— “ठीक छ, अनि हजुरलाई कस्तो छ ?”

केहीबेरमा उसले नेपालीमा लेखेर पठाई— “मेरो पनि ठिकै छ” उसको यो रिप्लाई पछि हाम्रो कुराकानी केहिछिन बन्द भयो । उसले अरु केहि लेख्छे कि भनेर प्रतिक्षा गरेँ । उसले केही नलेखेपछि म आफैँले टाइप गरेँ— ‘हजुरको घर कहाँ हो र.... ?’ तर तत्कालै मेटेँ अनि टाइप गरेर सेन्ड बटन थिचेँ—“कहाँ हो हजुर ?

ऊ— पोखरा अनि हजुर ?

म— म पनि पोखरा नै हो । गाह्रो लाग्दैन भने नाम भन्नुस् न ?

ऊ— ल......... नचिने रै बोलेको ? (साथमा हा.. हा... रियाक्ट पनि पठाई ।)

म— हजुर 

ऊ— म त चिन्छु त हजुरलाई ।

म— हो र ? हजुरको त फोटो नै छैन आइडीमा । कसरी चिन्नु ?

ऊ— गेस गर्नुस् न त 

म— नो आइडिया । (मैले पनि हा.. हा... रियाक्ट पठाएँ साथमा ) 

उसले पनि हा... हा... रियाक्ट मात्र पठाई । मैले फेरी पनि सोधेँ— प्लिज भन्नु न ?

उसले मेरो म्यासेजलाई सिन गरी तर रिप्लाई गरिन । केहीबेरमै ऊ अफलाइन भई । केहिबेर मलाई मोवाईल पठाइदिने साथीसँग च्याटमा कुरा गरेँ अनि मोवाईल सिरानी मुनि राखेर सुतेँ । बिहान उठेर फेसबुक खोलेँ । लावारिस गर्लबाट मेरो म्यासेन्जरमा फोटो पठाइएको थियो । मैले फोटो खोल्न खोजेँ । खोइ के कारणले हो ? घरबेटीको वाइफाइ निकै स्लो भएछ, फोटो खुल्न मानेन । 

उत्साहित हुँदै एनसेलबाट डाटा किनेँ र म्यासेन्जर खोलेँ । म्यासेन्जरमा डेभिस फल्समा खिचिएको ३०/३२ बर्षको एक अपरिचित युवाको फोटो देखियो । मैले कल्पना गरेको थिएँ, रियल फोटो नराख्ने यो आइडी कुनै सुन्दर केटीको आइडी होला । या त मैले चिनेकै अरु कोही केटी साथीले फरक नाममा आइडी खोलेको होला । तर, अफसोच ! फोटोमा कुनै अरु केटाको फोटो देखेपछि मलाई खोई एक्कासी रिस उठेर आयो र मैले तत्कालै रिप्लाई गरेँ— “मलाई सबैभन्दा रिस केटीको नाममा फेक आइडी बनाएर झुक्काउनेसँग उठ्छ । के हामी एक आपसमा कहिल्यै चिनजान गरेका छौँ ?”

तत्काल उताबाट कुनै रिप्लाइ आएन । दिनभरी आफ्नै काममा व्यस्त भएँ । साँझ रुममा फर्किएर फेसबुक खोलेँ । लावारिस गर्लबाट म्यासेज आएको थियो— “सरी ! यो दाइको फोटो हो । म हजुरसँग मजाक मात्र गरेको हो ।” मलाई अझै रिस उठेको थियो, त्यसैले लेखेँ— “अन्यथा नलिनुहोला, हामी चिनजान गरेका छौँ भने नाम भन्नु ।”

मैले यति लेखेर मोवाईल बेडमा राखेँ अनि खाना पकाउन लागेँ । खाना पाकेपछि बिहान भिजाएका केहि कपडाहरु धोएर छतमा सुकाएँ । खाना खाएपछि फेरी बेडमा पल्टेर म्यासेन्जर खोलेँ । लावारिस गर्लको नाममा फोटो आएको म्यासेन्जरले बतायो । फोटो खुल्न केहि बेर पनि लागेन ।

साँच्चिकै सपना जस्तै थियो त्यो पल । आँखाहरु एकतमासले फोटोबाट हट्न मानिरहेका थिएनन् । ओठहरु मुस्कुराउन खोजिरहेका थिए । सरप्राइजले नै होला सायद, मुटुको धड्कन प्रतिमिनेट १०० भन्दा माथिको दरले उफ्रिरहेको थियो । 

तस्बिर मस्तिष्कमा कोरिन समय नै लागेन । सराङ्कोटमा खिचिएको त्यो तस्बिर, फेअरी टेलको परी जस्तै । पृष्ठभूमिमा माछापुच्छ्रे हाँसिरहेको थियो । ग्राउन्ज गरेको निलो जिन्स, सेतो टिसर्ट, झण्डै कम्मर कम्मर आउने गरी अघिल्तिर छोडेको सिल्की कपाल । बिछट्टै राम्री । उसले मोवाईल समातेको देब्रे हातले पाखुरा पर्ने गरी रेलिङमा अडेस गरेकी थिई भने कालो रङको ज्याकेट दायाँ नाडीमा बेरेर पेटनेर हात खुम्चाएर उभिएकी थिई । 

त्यो उसैको तस्बिर थियो, जसलाई एक वर्ष अघि काठमाडौँसम्मको रात्री यात्रामा भेटेको थिएँ । त्यो उसैको तस्बिर थियो, जसलाई करिब साढे एक महिना पहिले पोखरा हरिचोकमा भेटेको थिएँ । दोस्रो भेटमा उसले नाम सोध्दा जति खुसी थिएँ नि ? त्यो भन्दा कयौँ गुणा खुसी त्यो बेलामा थिएँ म । जब ‘लावारिस गर्ल’ अपरिचित थिई, बोलाउने प्रशस्त आधारहरु थिए । अब ‘लावारिस गर्ल’ परिचित थिई, बोलाउने कुनै आधार नभए जस्तै शुन्यतामा अल्झिरहेँ म । धेरै कुराहरु टाइप गर्दै मेट्दै गरेँ । केहि नलागेपछि अंग्रेजीमा लेखेँ—Sorry for this morning ! I wrote rudely. 

‘लावारिस गर्ल’लाई अनलाइनमा देखाएको थिएन तर पनि उसले रिप्लाइ दिई । सायद उसले च्याट लिष्टलाई इनभिजिवल गरेकी थिई । उसले लेखेकी थिई— “केहि छैन । मैले त्यसो नगर्नुपर्नेथ्यो ।” ऊ परिचित भएपछिको पहिलो रिप्लाइ थियो उसको, कमसेकम मेरा लागि । हामी बीचमा धेरै कुराहरु भए । एक वर्ष अघिको काठमाडौँ रात्रीयात्राको कुराहरु भए । मलाई उसले यात्राको क्रममा मेरो काँधमा निदाएर दुख दिएको कुरा पनि गरी । हरिचोकमा मेरा नाम थाहा पाएपछि केही दिनमै मेरो नाम सर्च गरेर रिक्वेष्ट पठाएको कुरा गरी । यि कुराहरु सुन्दा मनमा अजिव आनन्दले सयर गरिरह्यो । हामी बीचमा धेरै कुरा भएपछि बल्ल मैले उसको वास्तविक नाम सोधेँ । तर उसले आफ्नो नाम फेरि पनि बताउन मानिन । उसले भनी—“सवै कुराहरु एकैपटक भन्नुहुँदैन । सस्पेन्स त विस्तारै पो रिभिल हुनु पर्छ त ।” मैले सोधेँ—“कम्तिमा पनि नामको मिनिङ त भन्नु ।” उसले एकपटक हाँसेर रियाक्ट पठाई अनि अंग्रेजीमा टेक्स्ट गरी—I judge your smartness. Guess my name. 

त्यसपछिका हेरक रात हामी बीचमा रमाइला कुराकानी भएर बित्न थाले । हामी बीचमा कुरा हुन थालेको पनि १० दिन भैसकेको थियो । यो १० दिनमा हामीले एकले अर्कालाई तिमी भनेर सम्बोधन गर्ने भैसकेका थियौँ । हरेक पटक मैले उसलाई नाम सोध्थेँ तर हरेक पटक नै उसले नाम पत्ता लगाउने जिम्मा मलाई सुम्पन्थी । मैले उसको बारेमा लगभग सबै जानेँ । ऊ, बाबा, आमा र एक जना दाइ गरी चार जनाको परिवार । उसको दाइ नेडरल्याडबाट ३ महिनाको छुट्टीमा नेपाल आएको थियो । बाबा एक सरकारी कर्मचारी, आमा गृहणी । ऊ +2 साइन्सको विद्यार्थी । 

एक विहानै मैले म्यासेन्जरमा सोधेँ—“लावारिसको अर्थ त ठेगाना नभएको भन्ने लाग्दैन र भन्या ?” ह्या ! यस्तो जे पायो त्यहि नाम त नराख ।” उसले रिप्लाइमा लेखी—“म साइन्सको विद्यार्थी भएपनि साहित्यमा रुचि राख्छु । यहिभित्र त मेरो नाम छ, बुद्धु ।”

उसले भनेकी थिई, लावारिसभित्र नै उसको नाम छ । मैले लावारिस शब्दलाई कापीमा लेखेर कहिले अघिबाट, कहिले पछिबाट, कहिले अक्षर काटेर त कहिले अक्षर जोडेर नयाँ—नयाँ नाम बनाएँ । ति बनाएका अजिव नामहरु मैले उसलाई लेखेर पठाउँथे । ऊ हाँसेर रियाक्ट पठाउँथी । 

एक पटक मैले उसको नामको पहिलो अक्षर मेटेर बाँकी तीन अक्षरको नाम बनाएँ—‘बारिस’ । हिन्दी शब्द ‘वारिस’को नेपाली अर्थ हुन्छ, ‘वर्षा’ । मैले उसको नाम वर्षा भनेर अनुमान लगाएँ । उसको रिक्वेस्ट एक्सेप्ट गर्ने बेलामा उसका केहि स्टाटसहरु पढेको थिएँ । उसका दुई स्टाटसहरु ‘फेवातालले कहिलेकाहिँ सोध्छ मलाई, तिमीभित्र कति पानी छ’, ‘खै कुन चिजले रोकेको छ मलाई, म बर्सिन बिर्सिसकेछु’ फेरी एकपटकक स्मरणमा आए । यि दुबै स्टाटसहरु पानीसँग सम्बन्धित थिए । अब भने म निश्चिन्त भएँ, उसको नाम वर्षा नै हो । 

मैले तत्कालै उसको म्यासेन्जरमा लेखेर पठाइदिएँ— “तिमी त साइन्सको विद्यार्थी, रसायनिक प्रतिक्रिया राम्ररी बुझेकी हौली । म त कति वर्ष भयो विज्ञान पढ्न छोडेको । कक्षा ९ मा हो कि कक्षा १० मा हो, पढेको जस्तो लाग्छ । तर अलिअति याद चाहिँ रहेछ ।” 

सायद मैले केलाई इन्कित गर्दै छु, उसले बुझेकी थिई । तर उसले नबुझेजस्तो गरेर प्रश्न गरी—“के भन्न खोजेको ? बुझेन ।” 

“तिम्रो नाम”— मैले जवाफ दिएँ ।

“रसायनिक प्रतिक्रियासँग मेरो नामको के सम्बन्ध ?”—उसले अझै नबुझेजस्तो गरी ।

“हाइड्रोजनको एक अणु र अक्सिजनको २ अणु मिलेर पानी बन्छ । त्यहि पानी वाष्पिकरण भएर आकाशमा पुग्छ, अनुकुल वातावरणमा चिसिन्छ अनि जमिनमा बर्सिन्छ ।”—मैले रिप्लाइ दिएँ ।

“वाउ ! स्मार्ट । अनि के त ?”—उसले अझै प्रश्न गरी ।

“आकाशबाट पानी पर्नुलाई वर्षा भनिन्छ । त्यहि वर्षालाई हिन्दी भाषामा वारिस भनिन्छ ।”—मैले अझै स्पष्ट पारे जस्तै गरी रिप्लाई पठाएँ । 

“बारिस होइन, लावारिस छ त नाममा ।”—उसले अझै अड्को थापी ।

“हुन सक्छ, अगाडिको यो ‘ला’ अक्षर शब्दलाई सेन्टिमेन्ट देखाउन प्रयोग भएको हो । या त हुन सक्छ, यसले तिम्रो थरलाई रिप्रिजेन्ट गर्छ ।”— मैले अड्कल काटेर भनेँ । 

केहीबेर ऊ मौन बसी । उसले रिप्लाई गरिन । म आफैँले फेरि सोधेँ—“भन न । मेरो गेस मिल्यो कि मिलेन ?” उसले सुरुमा थम्स अप (ओके) साइन पठाई अनि रिप्लाइ गरी—“बर्षा लामिछाने ।” मेरो अड्कल सहि निस्कियो । धेरै दिनपछि एउटा सस्पेन्स आज रिभिल भएको थियो । उसैको भाषा प्रयोग गरेर भनौँ न, स्टेप वाइ स्टेप, सस्पेन्स रिभिल हुनुको मज्जै बेग्लै, कुनै एक सस्पेन्स फिल्म हेरे जस्तै...

क्रमश...

प्राप्त प्रतिकृयाहरू

H B लेख्नुहुन्छ (२०७६ भदौ १० मंगलबार ६:०६ pm )

Dherai ramro x

रबिन्द्र कडेल लेख्नुहुन्छ (२०७६ असार २७ शुक्रबार ८:२८ pm )

........त्यसपछिका हेरक रात हामी बीचमा रमाइला कुराकानी भएर बित्न थाले । हामी बीचमा कुरा हुन थालेको पनि १० दिन भैसकेको थियो । यो १० दिनमा हामीले एकले अर्कालाई तिमी भनेर सम्बोधन गर्ने भैसकेका थियौँ । ....पहिलो र तेस्रो जति खै किन हो दोस्रो लाई उस्ले महत्त्व दिएन .. ती 2 भाग उस्कै बाट हेरे .. दोस्रो भाग खोजेर ..जीवन मा एक पटक न एक पटक हरेक मान्छे प्रेम मा पर्छ नै मलाई लाग्छ हरेक प्रेमिल मन ले यी हरप लाई आफ्नै कथा ठान्नेछ । ... अर्को भाग को पर्खाई मा धन्यवाद ।????

Radhika kunwar लेख्नुहुन्छ (२०७६ असार २० शुक्रबार ९:५६ pm )

Wow

हेमन्त परियार लेख्नुहुन्छ (२०७६ असार २० शुक्रबार १:२५ pm )

धेरै भन्दा धेरै राम्रो छ, सर मनै छुने मत बच्चै देखि तपाईं को फ्यान तपाईंको सुभचिन्तक ### हेमन्त (best of luck )

Jinx bijay Magar लेख्नुहुन्छ (२०७६ असार १९ बिहीबार ११:४८ am )

Mind-blowing!!!!!!! While I start to readed some step, immediately story turn me into as a main character of this story. It was feeling falled in deep emotional during reading period. So I shamed myself because of my eyes were tearing ???? ???? ????

Jeet anjan Pariyar लेख्नुहुन्छ (२०७६ असार १९ बिहीबार ११:३२ am )

धेरै बधाई छ भाईलाई

सागर लेख्नुहुन्छ (२०७६ असार १९ बिहीबार ११:१९ am )

कथावस्तुको समायोजन खत्रा लायो जस्तोकी,लावारीस- वारीष - वर्षा

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्