१६ चैत २०८०, शुक्रबार

ढोरपाटनको नीति कार्यक्रम : कृषकलाई सहुलियत कर्जादेखि स्वरोजगारसम्म 

बागलुङ । ढोरपाटन नगरपालिकाले असार १० गते पाँचौं नगर सभामा पेश गरेको नीति तथा कार्यक्रम, दफावार छलफलपछि असार १७ गते संशोधनसहित पारित गरेको छ । नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा नगरका कृषकलाई सहुलियत कर्जाको व्यवस्थादेखि उद्यम विकास गरी स्वरोजगार बनाउने नीति पारित भएको छ ।  
 
नगरसभाबाट हालै पारित भएको नीति तथा कार्यक्रममा नगरपालिकाको आफ्नो पालिकाको आर्थिक सम्वृद्धिको पहिलो आधार कृषि भएको ठहर गरेको छ । नगरका कृषकहरुका लागि कृषि उत्पादनमा व्यवसायीकरण, कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण तथा बजारीकरणमा ध्यान दिंदै आगामी वर्षको वजेट तर्जुमा गर्ने नीति कार्यक्रममा उल्लेख छ । त्यस अनुसार सामुहिक खेति प्रणाली, पशुपालन मार्फत कृषिपेशाबाटै नागरिकलाई आत्मनिर्भर बनाउने नीति कार्यक्रममा लेखिएको छ ।
 
त्यसका लागि कृषि बजार सूचनाको व्यवस्थापन गर्ने, कृषि बजार स्थापना गर्ने, साना सिंचाई आयोजना सञ्चालन गर्ने, कृषि तालिम तथा प्रविधि प्रचार प्रसारका कार्यक्रम गर्ने, क्रियाकहरुलाई कृषि सामाग्रीको आपूर्ति गर्ने, कृषि मेलाको आयोजना गर्ने, उत्कृष्ट किसान प्रोत्साहन गर्ने, नगरभित्र कृषि सूचना केन्द्र सञ्चालन गर्ने र कृषि पाठशालाको समेत सञ्चालन गर्ने नीति अवलम्बन गरिएको छ ।
 
यस्तै किसानले उत्पादन गरेको कृषि उपज भण्डारण तथा शित भण्डारको व्यवस्था गरिदिने, कृषकका उत्पादन क्षेत्रसम्म कृषि सडक पु¥याउने, कृषि उपजमा उत्पन्न हुनसक्ने समस्या निराकरणको उपायसहितको कार्यक्रम, योजना बनाउने नीति कार्यक्रममा उल्लेख छ ।
 
यस्तै ढोरपाटन नगरपालिकाका बढि भन्दा बढी आलु उत्पादन क्षेत्र रहेकाले आलु उत्पादन, नगदेवाली उत्पादन, फलफूल तथा आवश्यक कृषि उपजका लागि नर्सरीको समेत प्रबन्ध यसै आर्थिक वर्षबाट मिलाउने उल्लेख छ । भूगोल र हावापानी हेरी आवश्यकता र मागको आधारमा कृषकहरुका लागि विउ, मल, किटनाशक औषधि र कृषकका लागि तालिमको प्रबन्ध गरिदिने नगरपालिकाले नीति ल्याएको छ । नगरपालिकामा मासु तथा दुग्धजन्य उत्पादनका लागि आवश्यक पशुपंक्षी र चौपाया पालनका लागि नगरले सहुलियत दरमा कृषि ऋणको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ ।
 
यस्तै नगरले पारित गरेको नीति कार्यक्रममै नगरका सबै वडा–वडामा कृषि सहकारी र हरेक गाउँ–गाउँमा कृषक समुह निर्माण गर्ने नगरपालिकाले नीति ल्याएको छ  । तरकारी तथा अन्नबाली उत्पादनमा अर्गानिक उत्पादन अर्थात प्राकृतिक उत्पादनमा जोड दिएको छ । दुग्ध उत्पादनमा लाग्ने कृषकलाई अनुदानको व्यवस्था, पशु नश्ल सुधार कार्यक्रम तथा नगरपालिका भित्र रहेका एग्रो फर्म, भेटेनरी फर्मलाई अनिवार्य दर्ताको व्यवस्था, कृषि तथा पशु बिमाको व्यवस्थापन गर्ने नगरपालिकाले नीति पारित गरेको छ ।
 
यसैबीच ढोरपाटन नगरपालिकाले सहकारी नीति बनाउँदा ‘गाउँ–गाउँमा सहकारी घर–घरमा भकारी’ भन्ने नीति पारित गरेको छ । राज्यको नीति अनुसार, सार्वजनिक, निजि र सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा विकास गर्न विशेष जोड दिने नीति कार्यक्रममा उल्लेख गरेको छ । नगरमा स्थापना भएका सहकारीहरुको अवस्था विश्लेषण, उनीहरुको संस्थागत विकास, पूर्वाधार निर्माण र व्यवसायिक विकासका लागि दर्ता सम्बन्धि ऐन तत्काल जारि गर्दै कार्यान्वयनमा ल्याईने नीति पारित भएको छ । कृषि उत्पालन र बजारीकरणमा लागेका सहकारीहरुलाई प्रोत्साहन र अनुदानको व्यवस्था गर्ने, सहकारी मार्फत कृषि फर्म र उद्योग सञ्चालनको व्यवस्था गर्ने, सहकारी मार्फत नै लघु कर्जा लगानीका लागि वित्तिय संस्थामा पहल गर्ने नगरको नीति रहेको छ ।
 
उद्योग तथा वाणिज्य  तर्फ ठूला मझौला तथा साना उद्योगहरु स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने भनेको छ । नगरपालिकाको नीति कार्यक्रममा नगर क्षेत्रका उद्योग तथा वाणिज्य तर्फ उद्योगमैत्री वातावरण तय, उद्योग स्थापनामा प्रोत्साहन, औद्योगिक करिडोरका रुपमा ठूला मझौला र साना उद्योग स्थापनामा आवश्यक सम्भाव्यता अध्ययन गरिने योजना बनाइएको छ ।  

नगरमा उद्योगहरुको स्थापनामा जोड दिंदै बढ्दो विदेश पलायनलाई रोक्ने, स्थापना भएका तथा हुने उद्योग व्यवसायलाई नगरमा अनिवार्य दर्ता प्रक्रियामा ल्याउने, उपभोक्ता हित संरक्षणमा ध्यान दिने, लघु, घरेलु तथा साना उद्योग दर्ता, नविकरण, खारेजी र नियमनको व्यवस्थापन गरिने नीतिमा उल्लेख छ ।
 
ढोरपाटन नगरपालिकाको नीति कार्यक्रम अनुसार ढोरपाटन नगरक्षेत्रमा अनियन्त्रित रुपमा खोलाको ढुँगा गिट्टी, बालुवा र माटो उत्खननमा रोक लगाउने भएको छ । खानी खनिज सम्बन्धी सूचना तथा तथ्यांक संकलन र अभिलेख राख्ने, ढुँगा, गिटुटी बालुवा र माटो संरक्षण र उपयोग सम्बन्धी दर्ता, अनुमति र नवीकरण प्रक्रिया थलानी गर्ने, नगरका सबै वडामा आर्युवेद सेवा विस्तार गर्ने, ढोरपाटन नगरका जडिबुटि व्यवस्थापन, प्रशोधन गर्न प्रदेश र केन्द्रसँग समन्वय गर्ने नीति पारित गरिएको छ ।   
 
यस्तै नगरपालकाले आफ्नो पालिकामा रोजगार सिर्जना गर्नका लागि गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड र नियमनसँगै अध्ययन अनुसन्धान प्रारम्भ गर्ने भएको छ । गरिब घर परिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन, नियमन कार्य अघि बढाउने नीतिमा उल्लेख छ । पहिचान भएका गरिब परिवार, लक्षित समुह, सुकुम्वासी समस्या सम्बन्धी योजना कार्यक्रम निर्माण गरि स्रोतको परिचालन गर्ने नीति ल्याइएको छ ।

शिक्षा तर्फ आगामी ३ वर्षभित्रमा नगरलाई पूर्ण साक्षर नगर बनाउने, विद्यालयमा शुसासन र पारिदर्शिताका लागि अनिवार्य सामाजिक परिक्षण, सार्वजनिक लेखा परिक्षण र अन्तिम लेखा परिक्षण गराउने नीतिमा आएको छ । नगरपालिकाले नगर स्तरीय बहुमुखी प्राविधिक शिक्षालयको स्थापना सँगै नगर शिक्षानीती समेत ल्याउने जनाएको छ । आगामी शैक्षिक शत्रबाट नगरमा सञ्चालित विद्यालयहरुले प्राविधिक शिक्षा सञ्चालन गर्न चाहेमा विशेष अनुदानको व्यवस्था गर्ने, सबै सामुदायिक विद्यालयमा वर्षको एक पटक अनिवार्य स्वाथ्य परिक्षणको नगरले व्यवस्था गर्ने, नगरका सबै विद्यालयको रंग रोगन तथा शिक्षक पोशाक एकै प्रकारको बनाउने नीति बनाएको छ ।

यस्तै स्वास्थ्य तर्फ नगरका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, सबै स्वास्थ्य संस्थामा निशुल्क औषधिको व्यवस्था गर्ने, नगर स्तरमा १५ शैयाको अस्पताल निर्माण गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई जनस्तरसम्म लैजाने नीति ल्याएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्