१९ असोज २०८१, शनिबार

महंगी नियन्त्रण र सुशासनका लागि एमालेको जित आवश्यक : केसी

बागलुङ । बागलुङ–१ ‘१’ मा नेकपा (एमाले)का उम्मेदवार हिरा बहादुर केसीले आम निर्वाचन पछि पनि गठबन्धनको सरकार बन्यो भने देश बर्बादीतर्फ जाने बताएका छन् ।

चुनावी अभियानका क्रममा उनले डेढ वर्षको अवधीमा गठबन्धन सरकारले मुलुक श्रीलंकाको पथमा लैजान खोजेको भन्दै आगामी चुनावबाट यही सरकार रहने अवस्था आए मुलुकको बर्वादी रोक्न नसकिने दावी गरे ।

“मुलुकको अर्थतन्त्र अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ, बैकमा पैसा छैन, सहकारीमा पैसा छैन, वित्तीय संस्थामा पैसा छैन, जतासुकै पैसाको हाहाकार बनाएर मुलुकलाई बर्वादीको दिसामा धकेल्ने वर्तमान सरकारको विकल्पका लागि पनि एमाले सरकार आवश्यक छ” केसीले भने ।

वर्तमान सरकारले नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता राष्ट्र विरोधी कार्य गर्नुका साथै उपभोग्य वस्तुको मूल्य दोब्बर वृद्धि गरेर जनताको ढाड सेकेको बताए ।

उनले भने, “तपाइको भान्सामा चाहिने वस्तुको मूल्य, तपाईको बाइकमा हाल्ने पेट्रोल र डिजेलको मूल्य डेढ वर्ष पहिला पहिले र अहिले तुलना गरेर हेर्नुस त !”     

वर्तमान सरकारबाट राष्ट्रियताको संरक्षण हुन नसक्ने बताउँदै उनले नागरिकता विधेयक मार्फत विदेशीलाई नेपाली नागरिक बनाएर मुलुकको राष्ट्रियता कमजोर बनाउन वर्तमान सरकार लागि परेकोको आरोप लगाए ।

अर्थमन्त्रीले बजेट भाषण गर्ने अघिल्लो राती विचौलियालाई अर्थमन्त्रालयमा ल्याएर ७ सय भन्दा बढी करका दर हेरफेर गरेको भन्दै केसीले मुलुकको अर्थतन्त्र केही घरानाहरुका लागि पोस्ने वर्तमान सरकारको विकल्प एमाले सरकार आवश्यक रहेको बताए । 

यस्तै एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य तथा प्रदेशसभाका समानुपातिक उमेदवार कृष्ण पाठकले राष्ट्रियताको जर्गेना गर्न, आर्थिक तथा सामाजिक विकासका लागि एमालेको विकल्प नभएको बताए ।

गण्डकी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार र गठबन्धन नेतृत्वको सरकारले गरेका कामहरुको मूल्यांकन गरेर मतदान गर्न उनले आह्वान गरे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय