स्याङजामा चितुवाको आक्रमणबाट ३ जना घाइते
स्याङजा । चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान दुई महिला र एक पुरुष घाइते भएका हुन् ।
वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन् । कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा र लक्ष्मी घाइते भएका हुन् ।
घाइते भएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ । न्यौपानेको छाती तथा पाखुरामा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ ।
घाइते तीनै जनालाई उपचारका लागि गह्रौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको अस्पतालका वरिष्ठ ल्याब अधिकृत ईश्वर कोइरालाले जानकारी दिए । चितुवालाई इलाका वन कार्यालय वालिङको टोलीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया थप्नुहोस्