१६ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आर्मी र एपीएफ क्लब भिड्ने

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।

आर्मीको जितमा रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले भने हरि चौहानले ७५ रनको योगदान दिए । राजेश पुलामीले अविजित ४३ रन बनाए भने शाहब आलम १ रनमा अविजित रहे ।

कप्तान विनोद भण्डारीले ३२ रन जोड्दा विक्रम सोबले ३० तथा अर्जुन साउदले ११ रन जोडे । भीम सार्कीले १० रन जोड्दा कुशल मल्ल शून्य रनमा आउट भए । पुलिसका करण केसी एक्लैले छ विकेट लिए भने राशिद खान र ललित राजवंशीले समान एकरएक विकेट लिए ।  

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३०४ रन बनाएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले सर्वाधिक १४० रन बनाए ।

यस्तै आरिफ शेखले अविजित रहँदै ९१ रनको अर्धशतकीय इनिङ खेले । त्यसैगरी करण केसी आठ रनमा अविजित रहे भने कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए ।

आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट लिए । अब उपाधि भिडन्तमा आर्मी र एपीएफ क्लब भिड्नेछन् । फाइनल खेल भोलि शनिबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउने छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्