कपिलबस्तु–१ का प्रतिनिधिसभा उम्मेदवार बलदेवलाई ६ प्रश्न
कपिलवस्तु । चक्रपाणी खनाल (बलदेव) कपिलवस्तु क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फका साझा उम्मेदवार बनेका छन् । विभिन्न विकासका एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेका नेपाल पूर्वमन्त्री बलदेवसँग भुपाल थापाले गरेको कुराकानीको सम्पादित अंश
चुनावी प्रचार–प्रसारलाई कसरी अगाडि बढाईरहनु भएको छ ?
मंसिर ४ गतेको निर्वाचनका लागि बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोलाकार भित्रको हसियाँ हथौडा चुनाव चिह्न लिएर चुनावी मैदानमा छौं । हामीले निर्वाचन क्षेत्र नम्बर १ मा प्रचारप्रसारलाई चरणबद्ध रुपमा अघि बढाएका छौं ।
पहिलो चरणमा हामीले घरदैलो अभियान चलायौं । त्यसबाहेक हामीले चुनावी सभा, प्रत्यक्ष परोक्ष रुपमा भेटघाटलाई प्राथमिकतामा राखेका छौं । मतदाताको गठबन्धनप्रति आकर्षण देखिएको छ ।
हाम्रो प्रयास सम्पूर्ण मतदातालाई उहाँहरुको घरमै भेट्ने प्रयास हो । मतदाताहरु अहिले धान स्याहार्न र खेतीपातीको काममै ब्यस्त हुनुभएको छ । घरमै भेट हुन नसके पनि हामीले उहाँहरुलाई खेतबारीमा पुगेरै भेट्ने गरीरहेका छौं । निर्वाचन आचारसंहितालाई पनि ध्यानमा राखेका छौं ।
यस्तै हामीले घरदैलोबाहेक उद्योगी, व्यवसायी, समाजसेवी, पत्रकार एवम् समाजका बुद्धिजीवीहरुलाई पनि समय मिलाएर भेट गरिरहेका छौं । हामीले जति मतदातालाई भेटेका छौं, सबै उत्साहित देखिनुभएको छ । यसले हामीलाई चुनावका क्रममा उत्साह थपेको छ ।
मैले चुनाव प्रचार तथा भोट माग्न सामाजिक सञ्जालको पनि प्रयोग गरेको छु । हाम्रो घोषणापत्र समेत डिजिटल प्रविधिमार्फत् सार्वजनिक भएको तपाईंलाई थाहा छ । मेरो सचिवालयले विशेषगरी फेसबुकको प्रयोग गरिरहेको छ ।
मतदाताको घरसम्म पुग्न नसके पनि सामाजिक सञ्जालमार्फत् पुगेका छौं । यो गज्जबको तरिका पनि हो । समय सुहाउँदो तरिका यसलाई पनि मैले मान्ने गर्याछु ।
तपाईं दोस्रोे पटक कपिलबस्तु १ बाट संघीय संसदको उम्मेदवार बन्नुभएको छ । फेरी कपिलबस्तुवासीले तपाईंलाई किन भोट दिने ?
राजनीतिमा प्रवेशको चारदशक लामो (२०३४) समयदेखि यही क्षेत्रलाई पहिलो रोजाइमा राखेको छु । विकास निर्माणका योजना अघि सार्दा मैले यही क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको छु । मलाई पार्टीको तर्फबाट संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेपछि कृषकका सरोकार, सवाल र समस्यालाई मूल मुद्धा बनाएर घनिभूत रुपमा काम गरेको छु । यस क्षेत्रका पुल, बाटो, सिंचाइ, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको सबैलाई थाहा छ ।
यस्तै कपिलबस्तुको समग्र विकास निर्माण गर्नका लागी पनि मलाई यस क्षेत्रका जनताले जिताउनुपर्ने भएको छ । कपिलवस्तुको विकासलाई प्राथमिकतामा राखेर २०४५ सालमा कपिलवस्तु विकास परिषद् गठन गरि ३२ बढि बिकासे मुद्धा उठाएको छु । १२ बुँदे बिस्तृत शान्ती सम्झौता गर्दा बिशेष भूमिका निर्वाह गरको छु । पार्टीका सिद्धान्तगत रुपमा अगाडि बढाइएका समुदायको उत्थान, बिकास र प्रवद्र्धनमा काम गरेको छु ।
किसान पेन्सन, गरिब परिचयपत्र बितरणको सुरुवात मैले गरेको हो । यहाँका किसानका समस्याको अधिकांश समस्या सिंचाईको सहजताका लागी डिपबोरिङ्ग जडान गर्ने कार्य अघि बढाएको छु । मैले नै श्रृङ्गीघाट सिंचाई परियोजनाको डिपिआर काम सम्पन्न भई कार्य अघि बढाएको छु । यस क्षेत्रका जनताको जीवनस्तर बदल्न अनि यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्न मलाई जिताउनुपर्छ ।
यस क्षेत्रका जनताको भावना, चाहनाअनुसार मैले काम गर्नेछु । सबैले मलाई उत्साह थप्नुभएको छ । मलाई यस क्षेत्रका जनताले जिताएपछि पछुताउनुपर्ने काम केही पनि गर्नेछैन् । क्षेत्र नम्बर १ संगै समग्र कपिलबस्तुको बिकासका लागी मलाई जिताउनुपर्छ ।
चुनाव जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ र जित्ने आधार के–के छन् ?
चुनाव जित्नेमा एकदमै विश्वस्त छु । जित्ने आधार जनताको जनमत हो । अघिल्लो कार्यकालमा मैले गरेका कामबाट प्रभावित भएर जनताले पुनः मलाई जिताउँछन् भन्नेमा म विश्वस्त छु । हामी कुरा भन्दा पनि काम गर्छौं भन्ने कुरा आम मतदाताले बुझिसकेका छन् ।
मप्रति जनताको विश्वास र जनताको समर्थन नै मैले चुनाव जित्ने आधार हो । यहाँबाट विजयी भएपछि सांसद र मन्त्री पदमा रहँदा मैले कपिलबस्तुका जनताको शिर ठाडो पार्ने गरी नै काम गरेको छु ।
जनताले मलाई भोट दिने आधार धेरै छन् । मुख्य आधार यहाँको जनप्रतिनिधि भएर मैले गरेका काम नै हुन् । यसलाई कपिलबस्तुवासी मतदाता, यहाँका बौद्धिक, नागरिक समाज र मिडियाका साथीहरूले बुझ्नु भएकै छ ।
स्वयम् मलाई र मेरो पार्टी नेकपा (माओवादी केन्द्र) साथै बाम–लोकतान्त्रिक गठबन्धनलाई जनताको पूर्ण विश्वास छ । हामीले अघि सारेका सम्पूर्ण उम्मेदवारलाई दैनिक जनताको विश्वास बढ्दै गएको छ । यसको मतलब हिजो हामीप्रति जनताको विश्वास नै थिएन भन्न खोजेको होइन् ।
आम जनताले विगतमा र बर्तमान समयमा माओवादी केन्द्र र नेपाली काँगे्रसको सरकार हुँदा उक्त सरकारले गरेका कामलाई मूल्यांकन गरेकै छन् । हामी जनताको सल्लाह सुझावका आधारमा सरकारले जनताका कुरालाई ध्यानमा राखेर काम गर्छौं भनेका छौं ।
कपिलबस्तु–१ का जनतासँग तपाईं के भनेर भोट माग्नु हुन्छ ?
मैले विगतमा गरेका धेरै काम गरेमध्ये केहि काम अधुरा छन् । ती कामलाई निरन्तरता दिनुछ । नीतिगत सुधारमा मेरो समय खर्चिएको छ । अब व्यवहारमा कार्यान्वयन गर्न पहल गर्नुछ । अबका दिनमा अलि धेरै युवाहरूमा आधारित काम गर्नुपर्ने छ ।
कपिलबस्तुको दक्षिणी क्षेत्रलाई शिक्षाको केन्द्रबिन्दु बनाउने गरेर हामीले कामलाई अघि बढाएका छौँ । हामीले गरेका कामलाई गठबन्धनले साझा रूपमा ‘वनरसिप’ लिने छ । जनताले यसको अनुमोदन गर्नेछन् ।
गजेहडामा कृषि उपज संकलन केन्द्र निर्माणको चर्चा चलेको धेरै भयो । तर काम अघि बढेको छैन, किन ?
हो, कृषि उत्पादन र उत्पादकत्वमा महत्वपूर्ण क्षेत्र कपिलबस्तु हो । यहाँका किसानद्धारा उत्पादित कृषि उपजको संकलन, भण्डारण तथा ब्यवस्थापनका लागी मैले ५२ करोडको लागतमा गजेहडामा कृषि उपज संकलन केन्द्र निमार्ण भइरहेको छ ।
बाणगंगा नगरपालिका वडा नं. ३ तिलकाना स्थित निर्माणाधिन कृषि उपज सँकलन केन्द्रलाई क्रमागत बजेट अनुरुप काम अगाडि बढाइनेछ । बजेट बिनियोजन उपयुक्त समयमा अव हुने र सो केन्द्र पनि सञ्चालनमा आउने छ । कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी, फलफूल लगायतका उपजको संकलन र सुरक्षणमा टेवा पुग्नेछ ।
कपिलबस्तु–१ मा तपाईंको उम्मेदवारीलाई सत्ता गठबन्धनका अन्य दलले कसरी लिएका छन् ? गठबन्धनका दलबाट तपाईंलाई पूर्ण सहयोग प्राप्त होला ?
अहिले गठबन्धनका दलबाट मलाई शतप्रतिशत नै सहयोग हुने विश्वास मैले लिएको छु । पहिलाका प्रतिस्पर्धी भए पनि यतिबेला हामी सहयात्रामा छौँ । हामी हरेक दिन छलफलमै हुन्छौँ ।
जिल्लाको निर्वाचन परिचालन समितिको कमाण्डर अतहर कमाल हुनुहुन्छ । वडा, टोल र बुथमा आवश्यकताको आधारमा निर्वाचन परिचालन समिति बनेका छन् । यो क्षेत्रमा हँसिया हथौडामा भोट दिनुपर्ने भएपनि हामी सबै पार्टी झण्डाहरू राखेर सबै लिडर एकै ठाउँमा बसेर निर्वाचन अभियानमा होमिएका छौँ ।
विगतमा हामी प्रतिस्पर्धी भए पनि अहिले राष्ट्रको आवश्यकताका आधारमा यो गठबन्धन निर्माण भएको हो । त्यसकारण अहिले सहयात्राको नयाँ प्रक्रिया सुरु भएको छ भनेर बुझिदिन र सहयोग गर्न पनि सबै साथीहरूमा अपिल गर्न चाहन्छु ।
प्राप्त प्रतिकृयाहरू
यसमा तपाइको मत
सम्बन्धित खबर
-
प्रदेशका काममध्ये वाग्मती अगाडि छ : मन्त्री पाण्डे
-
सन्तुलित र समानुपातिक विकास गरेका छौँ : नगरप्रमुख न्यौपाने
-
लालबन्दीलाई आत्मनिर्भर बनाउने योजना छ : नगर प्रमुख खड्का
-
पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरेका छौँ : पुन
-
तीन वर्षमा लुम्बिनी प्रदेशको विकास निर्माणमा अनुकूल आधार तयार भएको छः मुख्यमन्त्री पोखरेल
प्रतिक्रिया थप्नुहोस्