सामाजिक परिक्षणले जनताप्रति थप उत्तरदायी बनाउन भुमिका खेल्छ : गैरे 

बागलुङ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सामाजिक परीक्षण कार्यले स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई यथार्थमा राम्रो प्रतिफल दिने बताएका छन । जनताप्रति सम्बन्धित निकाय र स्वास्थ्यकर्मी उत्तरदायी छन कि छैनन, आर्थिक पार्दर्शिता छ कि छैन भन्ने यसले छर्लङ्ग पार्ने उनको भनाई छ ।

शुक्रबार गलकोट नगरपालिका ३ को हटिया स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै उनले सँधै नकरात्मक कुराहरुको मात्रै नदरअन्दाज नगरी स्वास्थ्य संस्थामा भएका राम्रा पक्ष पनि उजागर गरि थप प्रेरणा र उर्जा प्रदान गर्न आवश्यक रहेको बताए । 

त्यस्तै नगर उपप्रमुख रेनुका काउचा मगरले सम्पुर्ण जनसमुदाय आफनो स्वास्थ्यप्रति सचेत रहनु पर्ने बताईन । सामाजिक परिक्षण कार्यक्रमले हरेक संघ संस्थालाई प्रभावकारी र व्यवस्थित ढंगले अगाडी बढन सहयोग मिल्ने उनको भनाई छ । गलकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रको विकासको निमित्त आफुहरु प्रतिवद्व रहेको भन्दै काउचाले सबैको सुझाव सल्लाह आवश्यक रहेको बताईन । 

कार्यक्रममा सरकारले प्रदान गर्ने सेवासुविधा र अत्यावश्यक औषधीको नियमित व्यवस्थापन गर्दै स्वास्थ्य चौकीका  सेवालाई समय सापेक्ष सुधार गर्दै थप प्रभावकारी बनाउन स्थानीयले सुझाव दिए । हटिया बजारमा दिनहुँ मानिसहरुको चाप बढदै गएकाले स्वयंसेविकालाई कामको भार बढेकोले एकजना स्वयंसेविका थप गर्न उनीहरुले सुझाए । कार्यक्रममा सहभागीले स्वास्थ्य चौकीमा उपलब्ध सेवा सुविधा सहज रुपमा प्राप्त गर्न सकेको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा उठेका प्रश्नहरुको गलकोट नगरपालिकाका स्वास्थ्य संयोजक मिनराज गैरे, हटिया स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष एवम वडाध्यक्ष विरजंग भण्डारी र वडा सदस्य झर बहादुर खत्रीले जवाफ दिए ।

सामाजिक परिक्षणको पहिलो चरणमा हटिया स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु, तेस्रो चरणमा स्वास्थ्य आमा समुह र चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो । अभियानको क्रममा गलकोट नगरपालिका ३ र ४ को हटिया स्थित विभिन्न गाउँ तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । 

स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहितालाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रममा सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी गराईन ।

हटिया स्वास्थ्य चौकीको सिमखेतमा नयाँ आधुनिक सुविधासहितको भवन निर्माण भईसकेकोले अब छिटै नयाँ भवनबाट सेवा दिने तयारी भएको हटिया स्वास्थ्य चौकीले जनाएको छ । नयाँ भवनमा तीन कोठे सहरी स्वास्थ्य  क्लिनिक समेत सञ्चालनमा ल्याउने तयारी छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय