४९ जनाको एउटै परिवार

धनगढी । नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार ।’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ । मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन । कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन । 

तीन पुस्ते यो परिवारमा पाँच दाजुभाइका छोराछोरी/बुहारी र नातिनातिना छन ।  घरको जेठो अङ्ग्रेजीलालको सात छोरा र दुई छोरी गरी नौ जना सन्तान छन । सबैको विवाह भइसकेको छ । उसैगरी, माइलो रामचन्दरको तीन छोरामध्ये दुई जनाको विवाह भइसकेको छ । साइँलो लक्ष्मणको दुई छोरी, काइँलो चुन्नुको एक छोरा र दुई छोरी गरी तीन सन्तान रहेका छन । कान्छो भाइ दयाशङ्करको तीन छोरा छन । 

गत वर्षसम्म ५० जना सदस्य रहेको यो परिवारले साइँलो भाइ लक्ष्मणलाई भने गुमाइसकेको छ । गएको साउनमा लक्ष्मणको मृत्यु भएको थियो । संयुक्त परिवारको नमुना नै रहेको कठरिया परिवार अहिलेसम्म मिलेर बस्नुको प्रमुख कारण हो, कुशल पारिवारिक व्यवस्थापन । माइलो भाइका माइला छोरा डिल्लीराज परिवारको घरमूली छन । आफूले सबैको चित्त बुझाउन सकेका कारण अहिलेसम्म मिलेर बसेको उनले बताए ।

“सानोतिनो झगडा हुँदा पनि सबै मिलेर समाधान गर्ने गरेका छौँ”, घरमूली डिल्लीराजले भने, “अहिलेसम्म ४९ जना एउटै परिवारमा रहनुको कारण कुशल पारिवारिक व्यवस्थापन नै हो ।” यसका साथै, प्रायः सबैलाई आफूले काममा लगाएको उनको भनाइ छ । “सबै काममा व्यस्त भएपछि एकले अर्काको कुरो काट्ने कसैलाई फुर्सद छैन”, डिल्लीराजले भने । गोरखापत्रमा अविनाश चौधरीले समाचार लेखेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय