विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन बुटवलको यस्तो तयारी 

बुटवल । तीन वर्ष अगाडि साउन महीनामा तिनाउ नदीमा आएको बाढीले झोलुङ्गेपुलसहित केही घर बगायो । बाढीले देवीनगर र बुद्धनगर जोड्ने पुलसँगै बुटवल ११ झोलुङ्गेपथ निवासी गीता विकको घर बगायो ।

“आँखा अगाडिकै पुल बगायो । हामी भागेर ज्यान जोगायौँ तर सामान जोगाउन सकिएन” विसं ०७३ को बाढी सम्झदै विक भन्छिन, “यसपाली यस्तो नहोस् ।” नौ जनाको उनको परिवारले बाढीपछि निकै समस्या झेल्नुपरेको थियो ।

वर्षा शुरुभएसँगै बुद्धनगरका ५५ वर्षीय नरबहादुर कनौजे पनि झस्किन्छन् । विसं २०३८ र ०७३ सालको बाढीको क्षति बेहोरेका उनी यसपालि कुनै पनि विपद् नआओस् भन्ने कामना गर्छन् । “आँखै अगाडि मानिस चिच्याउँदै बगेको देखेको छु” विसं २०३८ मा तिनाउ नदीमा आएको बाढी सम्झिदै उनले भने, “कतिका घर बगाए, जनावर बगाए, ठूलो बस्ती तहसनहस भयो ।”  

विसं २०७३ को बाढीले बुद्धनगरकी कला थापाको घरका दुई कोठा बगायो । कोठामा भएका सबै सामान बगे । अहिले बचेका साना दुई कोठामा उनको परिवारले गुजारा चलाएको छ । “बाढीले पकाउने खाने सामान बगाएपछि केही दिन निकै समस्या भयो । हामीले केही राहत पनि पाएनौँ”, उनी दुखेसो गर्छिन् ।

उनको परिवारमा बाढीले आपत् निम्त्याउँदा उनलाई सरकार भए नभएको कुनै महसुस भएन । नत सरकारका कुनै प्रतिनिधि राहत बोकेर आए । नत कसैले सहानुभूति नै दिए । त्यतिबेला स्थानीय सरकार प्रभावकारी थिएन । प्रदेश सरकार छँदै थिएन । जनप्रतिनिधि पनि थिएनन् ।

अहिले अवस्था फेरिएको छ । अहिले प्रदेश र स्थानीय सरकार प्रभावकारी ढङ्गले सञ्चालन भएका छन् । विपद्का कारण हुने सम्भावित क्षति न्यूनीकरण गर्न प्रदेश र स्थानीय सरकारले विभिन्न योजना बनाएका छन् । यतिसम्मकी उद्धार र राहतलाई प्रभावकारी बनाउन बुटवल उपमहानगरपालिकाले त प्रदेशस्तरीय विपद् व्यवस्थापन सामग्री भण्डारण गरेको छ ।

कार्यालय परिसरमा छुट्टै कन्टेनर बनाएर प्रदेशस्तरीय महिला तथा बालबालिकालाई लक्षित गरी विपद्को समयमा आवश्यक पर्ने सामग्री भण्डारण गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्यले बताईन । विपद्को समयमा महिला र बालबालिकालाई आवश्यक पर्ने लत्ताकपडा, सुत्केरी सामग्री, औषधि, पाललगायतका सबै सामान राखिएको छ ।

“उपमहानगरको योजनाका आधारमा प्रकोप जोखिम न्यूनीकरणका लागि गतिविधि सञ्चालन गरेका छौँ, उपप्रमुख आचार्यले भनिन, “महिला तथा बालबालिकामा प्रकोपको जोखिम बढी हुने भएकाले विपद् व्यवस्थापनमा उनीहरुलाई विशेष प्राथमिकता दिएका छौँ ।”

बुटवल उपमहानगरपालिकामा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोगमा रु ५० लाख बराबरको विपद् व्यवस्थापन सामग्री भण्डारण गरिएको हो । विपदमा परेकाको सहयोगका लागि उपमहानगरले प्रकोप व्यवस्थापन कोष खातासमेत सञ्चालन गरेको छ । खातामा अहिले रु १५ लाख बचत रहेको र आगामी वर्षका लागि रु ४० लाख विनियोजन गरिएको छ ।

उपमहानगरले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि पाँचवर्षे स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना बनाएको छ भने स्थानीय विपद् व्यवस्थापन तथा वातावरण समितिसमेत गठन गरेको छ । “सम्भावित विपद्को जोखिम कम गर्न र त्यस्तो अवस्थामा प्रभावकारी मानवीय सहायता उपलब्ध गराउन विपद् जोखिम न्यूनीकरण योजना बनाएका हौँ”, शाखा अधिकृत विजयदेव भुर्तेलले भने ।

बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै बाढी, पहिरो, हैजा, डेङ्गो जस्ता विपद्को जोखिम देखिन्छ । जसमध्ये बाढी र डेङ्गु प्रमुख प्रकोपको रुपमा देखिएका छन् । त्यस्तै विद्युत् करेन्ट, आगलागी र शीतलहर, हावाहुरी, सर्पदंश, तातोहावा, चट्याड., जङ्गली जनावर र कुकुरको टोकाइको पनि समस्या छ । उपमहानगरका–११ देखि १५ र वडा नं १८ को क्षेत्र अति सङ्कटासन्न क्षेत्र हुन् । उपमहानगरपालिकाको भौगौलिक अवस्था, उपलब्ध क्षमता र सङ्कटासन्नताका आधारमा सबै वडा मिल्दाजुल्दा भए पनि दक्षिणी क्षेत्रमा प्रकोपको जोखिम बढी देखिएको छ ।

बाढीप्रकोप नियन्त्रणका लागि पाल्पाको दोभान क्षेत्रमा पूर्वसूचना प्रणालीको व्यवस्थापन गरिएको छ । पूर्वसूचना प्रणालीका लागि दोभानमा सात जनाको क्याडर टिम छ । “तिनाउ नदीमा बाढी आउने वित्तिकै उनीहरुले बुटवलका विभिन्न स्थानमा सूचना दिन्छन्” वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेल भने, “तिनाउ नदीमा बाढीका कारण हुने क्षति नियन्त्रण गर्न नदी किनारमा रहेको हात्तीसुढ र पवित्रनगरमा साइरनसमेत जडान गरेका छौँ । यसले गर्दा बाढी आउनासाथ साइरन बजाएर सबैलाई सूचित गर्ने काम हुन्छ ।”
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय