७ बैशाख २०८१, शुक्रबार

समय कटाउन दिवा सेवा केन्द्र

गुल्मी । धुर्कोट गाउँपालिका ५ को वस्तुमा दिवा सेवा केन्द्र खुलेको छ । सोहि स्थानकी ७६ बर्षीय कुवारी सुनार दैनिक त्यहि भेटिन्छन् । बुढेसकालमा काम गर्ने कुरा भएन । बुढा–बुढीलाई समय बिताउनै मुस्किल । ‘काम गर्न पाखुरीमा बल भएन, छोरा देश बाहिर म एक्लै छु’ उनले भनिन, ‘नाच्ने गाउने भएकाले दिन बताउन सजिलो भएको छ ।’ 

उनले केन्द्रमा नाच्ने, गाउने आफुजस्ता धेरै हुने भएकाले दुख–सुख साटासाट गर्न पाउँदा खुसी लागको बताईन । अचेल कुवारी जस्तै उमेर पाकेकाहरु दिवा सेवा केन्द्रमा भेला हुन्छन् । धुर्कोट गाउँपालिका ५ वस्तुमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएपछि ज्येष्ठ नागरिक खुसी छन् । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय र धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा जनविकास केन्द्रको समन्वयमा सेवाकेन्द्र सञ्चालन गरिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।
 
दिन बितेको पत्तै हुँदैन

केन्द्रमा नाच्ने, गाउने, भजन–कृतनलगायतका क्रियाकलाप गरिने भएकाले बृद्धबृद्धाहरुलाई समय बितेको पत्तै हुँदैन् । जसका कारण दिवा सेवा केन्द्र जेष्ठ नागरिकका लागि दिन बिताउने उपयुक्त माध्यम बनेको पोख्रेलले बताए । गाउँमा अहिले प्राय घरमा बुढाबुढी मात्रै रहेका छन् । घरमै भएका पनि काममा जानुपर्ने बाध्यता छ । 

स्थानीय ८६ बर्षीय देविराम भण्डारी नियमित केन्द्रमा जान थालेको एक महिना भयो । उनले घरमा बस्दा अल्छिपना आउने र दिक्क लाग्ने भएकाले सेवा केन्द्र समय कटाउन आउने गरेको बताए । आफुलाई गाउन–बजाउन नआए पनि अरुले गाएको र बजाएको देख्दा निकै आनन्द आउने गरेको भण्डारीले बताए । 

दुई सय वृद्धवृद्धालाई रेडियो र लठ्ठी

गाउँपालिकाले बृद्धबृद्धाहरुलाई रेडियो सेट र लठ्ठी बितरण गरेको छ । बिहिबार गाउँपालिकाका ७ वटै वडामा रहेका दुई सय जना बृद्धबृद्धाहरुलाई रेडियो सेट र लठ्ठी बितरण गरिएको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए । 

रेडियो मार्फत बृद्धबृद्धालाई समय बिताउन सजिलो हुने र हिडडुल गर्न लठ्ठीको शाहारा आवश्यक हुने भएकाले गाउँपालिकाले यो बर्ष रेडियो र लठ्ठी वितरण गरिएको पोख्रेलले बताए । गाउँपालिकाले ७५ वर्ष माथीका बृद्धबृद्धाहरुलाई रेडियो सेट र लठ्ठी बितरण गर्ने योजना बनाएको थियो । अहिले पहिलो चरणमा गाउँपालिकाबाट दुई सय जना बृद्धाबृद्धालाई सेट र लठ्ठी बितरण गरिएको छ । बाँकी सवैलाई सम्बन्धित वडा कार्यालय मार्फत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए । 

गाउँपालिका उपप्रमुख शिव बहादुर खत्रीले धुर्कोट गाउँपालिका गर्भवतीदेखि बृद्धबृद्धाको पक्षमा रहेकाले आगामी दिनमा अझै रचनात्मक काम गरिने बताए । ‘गाउँका घरमा बुढाबुढी मात्रै छन्, सहारा र समय बिताउने माध्यम छैन’ उनले भने, ‘त्यसैले रेडियो र लठ्ठी प्रदान गरेका छौ ।’

खाजाको समेत व्यावस्था

दिवा सेवा केन्द्रमा बृद्धबृद्धालले मनोरञ्जन मात्रै गदैैनन् । दैनिक विभिन्न प्रकारका खाजा समेत खाने गरेका छन् । दैनिक भजन कृतन गर्ने र फलफुल वितरण गरिने केन्द्रका सञ्चालन समितिका कार्यवहाक अध्यक्ष माधव भण्डारीले बताए । बृद्धबृद्धाहरुलाई केरा, स्याउ, मिठाईलगायतका दैनिक फरक–फरक खाजा प्रदान गर्ने पनि भण्डारीले जानकारी दिए । तर यो कार्यक्रमलाई दुई महिनासम्म मात्र सिमित नराखी सधैभरी सञ्चालन गर्नुपर्नेमा बृद्धबृद्धाहरुको जोड रहेको छ । केन्द्रमा भजन–कृतनमा आवश्यक सामाग्रीहरु उपलब्ध गराउने, खाजाको लागि आवश्यक समन्वय गर्ने लगायतका कामहरु जनविकास केन्द्रले गरिरहेको हरि मरासिनीले बताए ।

दुई महिनासम्म सञ्चालन

दिवा सेवा केन्द्र जेठ र असार गरी दुई महिनासम्म सञ्चालन हुनेछ । केन्द्रमा २०७३ सालदेखि नै औसीँका दिन भजन कृतन हुने गरेपनि १ जेठबाट दैनिक भजन कृतन सुरु गरिएको थियो । अहिले दैनिक २० देखि ३० जनासम्म जेष्ठ नागरिकहरु दिवा सेवा केन्द्रमा आउने गरेको केन्द्र सञ्चालन समितिका कार्यवाहक अध्यक्ष माधव भण्डारीले जानकारी दिए । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको चार लाख र गाउँपालिकाको पाचँ लाख गरी कुल नौ लाखमा केन्द्र नियमित रुपमा सञ्चालनमा आएको हो ।

दीगो बनाउँछौ : स्थानीय सरकार

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले अहिले बजेट अभावले दुई महिना मात्रै सञ्चालन गरेपनि अर्को बर्षबाट दिगो रुपमा सञ्चालन गर्ने बताए । उनले केन्द्रमा बृद्धबृद्धाहरुलाई समय कटाउन सजिलो भएकाले अव परिवारले पनि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश र स्थानीय सरकारसंगै परिवार र समुदायको सहयोग भए केन्द्र दिर्घकालिन रुपमा सञ्चालन गर्न सकिने पोख्रेलले बताए । उनले उक्त सेवा केन्द्रलाई दीगो सञ्चालनको लागि गाउँपालिकाले योजना बनाएको पनि जानकारी दिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्