दमकल खरिद गर्दै शिवराज नगरपालिका 

कपिलवस्तु । गर्मीको समय सुरु भएपछि दैनिकजसो घरमा आगलागी र क्षतीको समाचार सुनिरहन्छौँ । आगलागीबाट हुने क्षतीलाई कम गर्न शिवराज नगरपालिकाले दमकल खरिद गर्ने तयारी गरेको छ । नगरपालिका भित्र वर्षेनि आगलागीको कारण लाखौँको जनधनको क्षती हुने गरेकोले यसलाई नियन्त्रण र जनताको आवश्यकतालाई महशुस गर्दै दमकल खरिदको लागि बजेट विनियोजन गरेको नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।

नगरपालिकाले दमकल खरिदका लागि ९० लाख र व्यवस्थापनको लागि १० लाख गरी १ करोड विनियोजन गरेको छ । बजेट अपुग भएमा अन्य स्थानिय तह, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर आगामी वर्ष दमकल खरिद गरिने अधिकारीले जानकारी दिए । जिल्लामाका वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकामा मात्र दमकल रहेका छन । ती दमकल पनि सञ्चालनमा केही जटिलता देखिएको छ । 

शिवराज नगरपालिका, विजयनगर गाउँपालिका, महाराजगंज नगरपालिका, वुद्धभुमी नगरपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाले दमकल नहुँदा समस्या झेल्दै आएका छन । पश्चिमी क्षेत्रमा कृष्णनगर, उत्तरी क्षेत्रमा वाणगंगा र दक्षिणि क्षेत्रमा कपिलवस्तु नगरपालिकाको दमकलले काम चलाउँदै आएका छन । नगरपालिकाले दमकल खरिद गर्ने निर्णय गरेपछि नगरवासी हर्षित भएका छन  । नगरपालिकामा मात्र यस वर्ष करिब तीन दर्जन बढी घरगोठ जलेर नष्ट भएको थिए ।

आगामी भदौदेखी दमकल खरिद प्रक्रिया आगाडी बढाईने प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । अनुमानको भरमा बजेट छुट्याएको बताउँदै उनले दमकल व्यवस्थापन सम्बन्धी कुनै तयारी नभएको बताए । नगरपालिकाले खरिद गर्ने भएपनि दमकल सञ्चालनको लागी सुरक्षा निकायलाई जिम्म दिने नगरको मनसाय छ । शसस्त्र प्रहरीलाई दिएमा सहज तरिकाले सञ्चालन हुने विश्वास नगरपालिका जनप्रतिनिधिहरुको रहेको छ । 

दमकल सञ्चालन भएसँगै आगलागीबाट हुने क्षती कम हुने वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय