उत्खननको पर्खाइमा फलामखानी, तामाखानी र सिसाखानी

बागलुङ । बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनीमा रहेका फलामखानी उत्खननको पर्खाइमा छन । जङ्गलभित्र फलामखानीका सुरुङ र भग्नावशेष भेटिन्छन । कुनै ताका गाउँलेले रैथाने प्रविधिबाट खानीबाट फलाम निकाल्ने काम गर्थे । स्थानीयवासीका अनुसार सो फलामखानी पाण्डवखानीको रमुवा र तमानखोलाको खुङ्गासम्म फैलिएको छ ।

“पहिले घरेलु औजार र सीप लगाएर फलाम निकाल्ने गरिन्थ्यो”, हर्कबहादुर विश्वकर्माले भने, “अहिले फलामखानी त्यसै अलपत्र छन ।” विशेष गरी विश्वकर्मा समुदायका कालिगढले सामूहिक रुपमा फलाम निकालेर घरेलु औजार र हातहतियार बनाउँथे । बलियो र टिकाउ हुने हुँदा त्यहाँ बनेका सामग्री प्रयोगकर्ताको रोजाइँमा पर्थे ।

ठूलो फलामखानी भेडिखोरको डहरेमा रहेको उनले बताए । कालो ढुङ्गाजस्तो देखिने कच्चा पदार्थलाई घरेलु प्रविधिबाट खारेर फलाम निकाल्ने गरिन्थ्यो । खार्नुअघि माटोका डरामा राखेर कच्चा पदार्थ गाल्नुपर्ने स्थानीय कालिगड बताउँछन । १० किलो कच्चा पदार्थबाट दुई किलो फलाम निकाल्ने गरिन्थ्यो । खानीबाट निकालेका फलाम गाल्न र औजार बनाउन धेरै कोइला खर्च हुन्छ । कोइलाका लागि वनमा भरपर्नुपर्छ ।

“आफैँले बनाएका भाँडाकुँडा, औजार, हातहतियार लगायतका सामग्री बेच्न कालिगढ गाउँगाउँ डुल्थेँ । स्थानीयवासीको आयआर्जन र जीविका खानीबाटै चलेको थियो । तर अहिले न खानी सञ्चालनमा छन, न गाउँमा उद्यमी छन”, विश्वकर्माले भने । गाउँलेले सरकारी तवरबाटै खानी संरक्षण, उत्खनन र सञ्चालनका लागि पहल हुनुपर्ने माग गरेका छन । “दुई वर्षअघि फलाम छ कि छैन भनेर परीक्षण गर्न मैले नै फलाम निकालेर औजार बनाए” विश्वकर्माले भने, “खानीमा फलाम छ उत्खनन गर्नुप¥यो ।” पछिल्लो पुस्ता पनि फलामखानीप्रति बेखबर छ ।

खानी सञ्चालनमा ल्याउनसके गाउँमै रोजगारी सिर्जना हुने देखिन्छ । स्थानीयवासीका अनुसार अन्यन्त्रको जस्तो रणसिंहकिटेनीको फलामलाई धेरै प्रशोधन गर्नु पर्दैन । वडाध्यक्ष हेमबहादुर श्रीसले खानी उत्खननका लागि गाउँपालिकाले पहल थाल्नुपर्ने बताए । “हाम्रै बाबुबाजेले यहीँको फलामबाट बनेका औजार प्रयोग गर्थे”, उनले भने, “खानी उत्खनन हुनसके गाउँको आर्थिक समृद्धिमा टेवा पुग्ने थियो ।” 

फलामखानीको सम्भाव्यता अध्ययनका लागि तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए । “म स्वयं खानीमा गएर सबै हेरेको, बुझेको छु”, उनले भने, “खानी सञ्चालनको राम्रो सम्भावना छ, हामी प्रयास गर्छौँ ।” उनले फलामखानी उत्खननका लागि सङ्घीय र प्रदेश सरकारको सहयोग चाहिने उल्लेख गरे । 

बन्द भएका फलामखानी सञ्चालनमा ल्याउन यसअघि प्रयास भए पनि त्यो सार्थक हुन सकेन । खानी तथा भूगर्व विभागले पनि चासो दिएको छैन । यस क्षेत्रमा फलामखानी उत्खनन गर्नसके जिल्लालाई मात्र नभएर देशलाई नै फाइदा पुग्ने अध्यक्ष पाइजाको भनाइ छ ।

बडिगाड गाउँपालिकामा तामा र सिसाखानी पनि रहेको बताइएको छ । गाउँपालिकामा सिसाखानी नाम गरेको सिङ्गै वडा छ । खानीको भौगर्भिक अध्ययन तथा खोज हुन आवश्यक छ । खानीको विषय सङ्घीय सरकारसँग जोडिएका कारण माथिल्लो तहबाटै पहल र चासो लिनुपर्ने देखिन्छ । भौगोलिक हिसावले दुर्गम मानिने रणसिंहकिटेनीवासीका लागि सडकलगायत विकासका पूर्वाधारमा समेत सहज पहुँच छैन ।

जिल्लाको गलकोट नगरपालिका, तमानखोला गाउँपालिका लगायतका क्षेत्रमा तामा र फलामखानी छन । कतिपय ठाउँमा उत्खननका लागि भौगर्भिक अध्ययनको कामसमेत अघि बढाइएको छ । संरक्षण र उत्खनन हुन नसक्दा खानीको अस्तित्व मेटिने खतरा बढेको छ । खानीको उत्खनन र उत्पादनको बजारीकरण गर्नसके नेपाली अर्थतन्त्रमा यसले ठूलो टेवा पुग्ने देखिन्छ ।
 

प्राप्त प्रतिकृयाहरू

Rudra Magar लेख्नुहुन्छ (२०७६ असार २३ सोमबार ०५:३७ am )

Ramro

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय