सेनेटरी प्याड निर्माण तथा प्रयोग सम्बन्धी तीन दिने तालिम 

बागलुङ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमासेनेटरी प्याड निर्माण तथा प्रयोग सम्बन्धी तीन दिने आधारभूत तालिम सुरु भएको छ । ग्रामिण भेगका गृहणी महिला, किसोरी, स्वयम सेवीकाहरुलाई विशेष लक्षित गरी ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयले पहिलो पटक उक्त तालिमको आयोजना गरेको हो ।   

महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी) का समयमा अति आवश्यक पर्ने सेनेटरी प्याड आफै निर्माण गरेर स्वनिर्भर बनाउन तथा महिलाहरुलाई प्याड निर्माण सम्बन्धी सीप सिकाएर उद्यमशिलता तर्फ प्रोत्साहित गर्ने मुख्य उद्धेश्यसहित तालिमको आयोजना गरिएको नगर उप–प्रमुख करमती पुनले जानकारी दिईन । घरायसी कपडाको प्रयोग गर्दा निम्तिने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड बनाउने तालिमको आयोजना गरिएको उनले बताईन । 

तालिममा महिला तथा किसोरीहरुलाई घरमै बसेर सुरक्षित कपडाको प्रयोग गरी आफैले सेनेटेरी प्याड तयार गर्ने विधि सिकाइने तालिमकी प्रशिक्षक हरीमायाँ घर्ति मगरले बताईन । एक पटक निर्माण गरिएको उक्त सेनेटरी प्याड करिव २ वर्षसम्म प्रयोग गर्न सकिने प्रशिक्षक घर्तिको भनाई छ । सेनेटरी प्याडलाई एक पटक प्रयोग गरेर  राम्रोसंग सफा गरी २ घण्टा सम्म घाममा सुकाएपछि पुनः प्रयोग गर्न सकिने उनले बताईन । 

बजारमा पाइने सेनेटरी प्याडमा हुने प्लास्टिक र केमिकलका कारण वातावरण प्रदुषण बढिरहेको बताउँदै उनले घरमा निर्माण गरिने सेनेटरी प्याडलाई लामो समय सम्म प्रयोग गर्न सकिने भएकाले पनि प्रदुषण समेत कम हुने बताईन । 
 
आइतबारबाट सुरु भएको तालिमको उद्घाटन गर्दै नगर प्रमुख देव कुमार नेपालीले नगरपालिकाले सामाजिक विकासलाई विशेष प्राथमिकता दिएको बताए । उनले पहिलो पटक फरक खालको कार्यक्रम गरिएको बताए । महिनावारी हुँदाको समयमा महिला तथा किशोरीहरुका लागि अत्यन्तै संवेदनशिल र जोखिमपुर्ण रहने भएकाले उनिहरुको स्वास्थ्यलाई मध्यनजर गरी सेनटरी प्याड निर्माण सम्बन्धी तालिम अब नगरका प्रत्येक वडामा सञ्चालन गरिने उनले बताए ।

“नगरपालिकाबाटै सेनेटरी प्याड निर्माण गरी नगर स्तरका प्रत्येक विद्यालय र गाउँ÷गाउँमा वितरण गर्ने योजना नगरपालिकाले बनाएको छ” उनले भने, “तालिमबाट उत्कृष्ट बन्न सफल सहभागीलाई नगरपालिकाले रोजगारको व्यवस्था गर्ने छ ।” सेनेटरी प्याड ब्यवसायिक रुपमा निर्माण गर्न सके आर्थिक स्तरमा समेत वृद्धि हुने भएकाले महिलाहरुको आयआर्जनमा बृद्धिका लागि तालिमको अवसर सृजना गरिएको नगर प्रमुख नेपालीले बताए । 

तालिममा नगरका ९ ओटै वडाका ४६ जनाको सहभागिता रहेको छ ।  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय