अपरिचित प्रेमिका [भाग–३]

कसैले भनेको सुनेको थिएँ, हरेक कुराको पछि कुनै न कुनै कारण अवश्य हुन्छ । हर कोही पनि कसैको जीवनमा बिना कारण आउँदैनन् । हो, ऊ पनि मेरो जीवनमा केहि कारण बोकेर आएकी थिई होला । तर जहिले आई, जति पटक आई, ऊ मेरो लागि सरप्राइज बनेर आई । मैले पहिले नै भनेको थिएँ नि मेरो लागि ऊ सस्पेन्स बोकेर आई, जसलाई म आफैले रिभिल गर्नुपरेको थियो । 

आफ्नै प्रयासले उसको नाम जान्न सकेको उमङ्ग बयान गरिनसक्नु थियो । उसको जवाफ ‘बर्षा लामिछाने’ ले ममाथि पनि खुसीका बर्षाहरु बर्साइरहे । उसको वास्तविक नाम पत्ता लगाएपछि हृदयको बोझ एक्कासी हटेर गएजस्तो भो । म आफुलाई कुनै युद्ध जितेर फर्किएको सिपाही जत्तिकै शक्तिशाली ठानेँ । मान्नुस् न, आफुले रोजेको चिज पाएपछिको बच्चा जत्ति खुसी हुन्छ नि ? हो उत्तिकै खुसी थिएँ म । उसैले भनेजस्तै म आफुलाई स्मार्ट नै सम्झिएँ ।

तर त्यो खुसी र उमङ्गको आयु यति छोटो भयो कि मैले उसको वास्तविक नाम जानेको भोलिबाटै ऊ बेपत्ता भई । ऊ फेसबुकमा एक्टिभ थिईन । मैले उसलाई हरेक दिन जसो अफलाइन म्यासेज छोडिरहेँ । उसको जवाफको प्रतिक्षामा राति अबेरसम्म अनलाइन बस्थेँ । तर अहँ, उसले जवाफ दिन त परै जाओस्, मेरो म्यासेस सम्म हेरेकी हुन्नथी । उसको जवाफको प्रतिक्षासँगै आँखाहरु निदाउँथे अनि बिउँझन्थे पनि । 

सेकेण्डहरु मिनेटमा, मिनेटहरु घण्टामा त घण्टाहरु दिनहरुमा बद्लिदै गए । तर उसको जवाफ कहिल्यै आएन । बस स्टेसनमा हातको घडि हेर्दै बस पर्खिदा मन जति बेचैन हुन्छ नि ? त्यो भन्दा बेचैन थिएँ उसको जवाफ पर्खिदा । हरेक दिन हरेक कोणबाट मन दुखाइरहेँ । कहिले ‘ऊ मेरो हो नै को र ? जवाफ फर्काउनलाई’ भनेर मन दुखाएँ । कहिले ‘यसरी एक्कासी बेपत्ता हुनेले मेरो जीवनमा इन्ट्रि किन मारी’ भनेर मन दुखाएँ । एक किसिमले भनौँ भने, पहिलो दिनमा गज्जबको सरप्राइज दिई, सम्हालिनै नसक्ने गरी । दोस्रो दिनमा झन ठूलो सरप्राइज दिई सहनै नसक्ने गरी ।  

१५ दिन भैसकेको थियो, ऊसँग मेरो कुराकानी नभएको । र पन्ध्रै दिन भएको थियो, लगातार उसको प्रोफाइल चेक गरेको । तर ऊ न त प्रोफाइलमा आई न म्यासेन्जरमा । उसको अनुपस्थितीमा सँधै रंगिन लाग्ने फेसबुकका भित्ताहरु पनि सादा लाग्न थालिसकेको थियो । हर एक दिन जसो उसले म्यासेन्जरमा पठाएको फोटो हेर्थेँ । उहि ग्राउन्ज गरेको निलो जिन्स, उहि सेतो टिसर्ट, झण्डै कम्मर कम्मर आउने गरी अघिल्तिर छोडेको उहि सिल्की कपाल । मन्द मुस्कान सहितको उहि सुन्दर अनुहार ! सराङ्कोटमा खिचिएको उसको त्यहि सुन्दर तस्बिर मेरो लागि आदत बनिसकेको थियो, अम्मलीलाई अम्मल जत्तिकै ! 

फेसबुकले कहिलेकाहिँ गज्जबले मन बहलाउँछ । फेरी, फेसबुकमा राखिने हर सबैको स्टाटस फेक पनि त हुँदैनन् । कसैका लागि त वास्तविक पीडा र खुसी पोख्ने माध्यम पनि हो फेसबुक । कमसेकम, मेरा लागि मनको बह पोख्ने सबैभन्दा प्यारो साथि बन्यो, त्यो बेला । उसले मेरो स्टाटस देखोस् अनि महसुस गरोस् न मभित्र के बितिरहेको छ ? यहि उद्देश्यले केहि स्टाटसहरु मेरो तर्फबाट पनि पोष्ट भए । भलै उसलाई ट्याग गरिएका थिएनन् तर परोक्ष रुपमा ति स्टाटसहरु उहिप्रति समर्पित थिए । 

मैले पोष्ट गरेका स्टाटसहरु पक्कै पनि अरुकै रचनाबाट साभार गरिएका थिए, तर ऊप्रतिको मेरा भावनाहरु कहिले पनि फेक थिएनन् । भनिहालौँ, सेन्टिमेन्टल स्टाटसका लागि रचनाहरु चोरिएका थिए, तर उप्रतिको मेरो प्रेम कहिल्यै पनि चोर थिएन । मैले एक दिन चर्चित गजलकार रावतको दुई लाइनलाई आफ्नै रचना जसरी पोष्ट गरिदिएँ—

तस्बिरसँग यदि मेरो संवाद नभइदिए !
रित्तो रित्तो हुन्थेँ तिम्रो याद नभइदिए !!

स्टाटस हेरोस् अनि बुझोस् भन्ने मेरो चाहाना उप्रति लक्षित थियो । उसले हेरी या हेरीन तर साहित्यमा रुचि राख्ने केहि साथीहरुको चाहिँ मज्जाले गालि पनि खाएँ, कमेन्ट बक्समा । उनीहरुको टिप्पणी थियो— ‘यो लाइनको सिर्जना रावत नाम गरेका चर्चित गजलकारले गरेका हुन् भने कमसेकम सर्जकको नाम पनि उल्लेख गर्नुपथ्र्यो ।’ पछि स्टाटस इडिट गरेर सर्जकको नाम पनि उल्लेख गरिदिएँ । 
 
मनको भावना पोख्नको लागि स्टाटसको बाढी नै बग्दै थियो, मेरो फेसबुकका भित्ताहरुमा । तर १६ औँ दिनमा उसले गज्जबको झट्का दिई, नयाँ आइडिबाट फ्रेण्ड रिक्वेस्ट पठाएर । त्यहि सराङ्कोटमा खिचेको फोटोलाई प्रोफाइल पिक्चर बनाएर रिक्वेस्ट पठाएकी थिई— ‘बर्षा लामिछाने’ । यसपटक उसले आफ्नो रियल नाममा आइडि बनाएकी थिई । यति दिनसम्म उसले दिएको पिडा यति छिटो बिर्सिएँ कि कुनै पल पनि ढिला नगरेर उसको रिक्वेस्टलाई एक्सेप्ट गरिदिएँ । एक्सेप्ट गरेको केहि मिनेटमै उसले म्यासेन्जरमा वेभ गरी । मलाई ऊसँग कताकति रिस पनि उठेको थियो, यति दिनसम्म प्रतिक्षाको पीडामा उसले जो राखेकी थिई । तर ऊप्रति आशक्ति बढेको पागल न भएँ म, औँलाहरु रोकिनै मानेनन् । मैले ‘हाई’ लेखेर पठाएँ ।

केहि बेरमा उसले लेखी— “सञ्चै छौ ?” उसको यो प्रश्नले मनमा केहि चिजले नमिठो प्रहार गरे जस्तै भयो । यतिन्जेलसम्म प्रतिक्षामा राखेर लेखेको उसको ‘सञ्चै छौ’ शब्दावली विरुद्ध थुप्रै जवाफ आए मनमा । सोध्न मन थियो, यति दिनसम्म पीडामा राखेर सोधेको यो प्रश्नको अर्थ के हो भनेर ? सोध्न मन थियो, यसरी पलमै खुसी पलमै पीडा दिने भए किन जीवनमा आयौ भनेर ? अनि सोध्न मन थियो, के यति दिनसम्म एक पल मात्रै, ......मात्रै एक पलपनि मेरो याद आएन भनेर ? तर, ऊ पो मेरो लागि खास बनेकी थिई, उसको लागि म त के नै पो थिएँ र ? यहि कुराले जवाफ दिन रोकिराखेको थियो । अन्तिममा रिप्लाई गरेँ—“श्वास फेर्नुलाई बाँच्नु भनिन्छ भने बाँचेकै छु ।”

सायद मेरो जवाफ उसलाई अजिव लाग्यो । उसले स्याड रियाक्ट मात्र पठाई । म आफैले सोधेँ—“अनि यति दिनसम्म कहाँ हराको त ?” उसले जवाफ दिई—“कहिँ नाइ । फेसबुक नचलाको मात्र हो ।” मलाई लागेको थियो, बिना कारण त यत्तिकै को सम्पर्कबिहनि भएर बस्छ ? केहि त विशेष कारण छ ? बल गरेर सोध्न मन पनि थियो । तर, अरुलाई नदुखोस् भनेर आफै दुख्नु पनि त प्रेम होला । मैले उसलाई दुखाउन चाहिन । हामी बीचमा करिब आधा घण्टा जति फेसबुकमा कुरा भयो । उसले यो आइडि नयाँ नभएर पुरानो आइडी भएको कुरा बताई । मैले वास्तविक नाम भएको फेसबुक आइडि हुँदाहँदै ‘लाबारिस गर्ल’ बाट रिक्वेस्ट पठाएर किन झुक्काएको भनेर प्रश्न गरेँ । उसले फेरी पनि सरप्राइजकै कुरा गरी । मैले पनि चित्त दुखाएको पारामा लेखेर पठाइदिएँ—“यो त पक्का हो । सरप्राइज दिन निकै सिपालु रैछ्यौ ।”

त्यसपछिका हरेक रातहरु भने फेरी पनि उसँग उसैगरी बोलेर बित्न थाले । १५ दिनसम्म ऊ नबोल्दा उसको तस्बिर आदत बनेको थियो । अब ऊ आफै आदत बनिसकेकी थिई । यो बिचमा हामीमा हरेक कुराको शेयर हुन थाल्यो । कहिलेकाहीँ एक अर्कालाई फोटो आदान प्रदान गथ्यौँ । मेरो फोटो हेरेपछि उसले म्यासेन्जरमा लेख्थी— “मलाई मङ्गोलियन फेस साह्रै मन पर्छ ।” उसले मलाई इङ्कित गर्दै छे भन्ने बुझेपछि मैले पनि खुसी भएर जवाफ दिन्थेँ—“मलाई फेरी आर्यन फेस मन पर्छ ।” मेरो जवाफपछि कुरालाई सन्तुलन गर्न उसले लेखेर पठाउँथी—“सायद आफुसँग नभएको चिज नै हो, सबैलाई प्यारो लाग्ने ।”

एक दिन कुरै कुरामा मैले उसलाई सोधेँ—“ब्वाइफ्रेण्ड छ ?” उसले मलाई पो प्रतिप्रश्न गरी—“तिमीलाई के लाग्छ ?” मैले जवाफ दिएँ—“लाबारिस गर्ल नामको तिम्रो आइडिमा लेखिएका स्टाटसहरुले त भएर पनि ब्रेकअप भाको जस्तो छ ।” साथमा हाँसेको रियाक्ट पनि पठाइदिएँ । उसले पनि हाँसेर रियाक्ट पठाई अनि लेखी—“तिम्रो गलफ्रेण्ड छ ? भनेर मैले त सोध्दैन ।” मैले किन भनेर सोधेँ । उसले जवाफ दिई—“केटा मान्छे, त्यसमाथि पनि तिमी देख्दा राम्रै नै छौ, सिङ्गल त खोई ? कसरी बसौला र ।” उसले पनि हाँसेर रियाक्ट पठाई । “म जस्तो चिम्सेलाई राम्रो देख्ने तिम्रा सुन्दर आँखाहरुप्रति आभारी छु ।”, यहि लेखेर जवाफ फर्काएँ । उसले लेखी—“कसम भन्या । तिमी राम्रो लाग्छ के ।” उसको यो जवाफले फेरी मनमा खुसीको सयर गराइदियो । आफुले प्रेम गरेकी कुनै सुन्दरीले ‘तिमी राम्रो लाग्छ’ भन्दा हरेक पुरुषको दिमाग हल्लिन्छ । म पनि यो कुरामा छुट पाउने कुरै थिएन । उसको व्याइफ्रेण्ड छ कि छैन भनेर जान्नलाई प्रश्न सुरु गरेको म आफै उत्तर भएर विषय परिवर्तन गर्न बाध्य हुन्थेँ । कारण, उसको ‘तिमी राम्रो लाग्छ’ भन्ने शब्दले मेरो प्रश्नको उद्देश्यलाई अल्मलाइदिन्थ्यो । 

कहिलेकाहिँ उसले तिमीलाई कस्ती केटी मन पर्छ भनेर पनि प्रश्न गर्थी । मैले जोक गरेजस्तो गरेर ‘ठ्याक्कै तिमी जस्ती’ भनेर जवाफ दिन्थेँ । उसले भन्थी—“केटा न प¥यौ । जात त जनाइहाल्न पर्छ । फ्लर्ट गर्नै पर्ने है, बुद्धु ?” मेरो यो जवाफ बनावटी नभएर मनभित्रको वास्तविक आभास थियो भनेर उसले बुझ्थी या बुझ्दैनथी, कमसेकम उसको ‘बुद्धु’ सम्बोधनले उसँगको आत्मियता झन बढेर जान्थ्यो, मेरा लागि । 

कहिलेकाहिँ उसका प्रश्नहरु कति अजिव लाग्ने के मलाई । एकपटक उसले प्रश्न गरी—“प्रेम पहिले हुन्छ कि मन पहिले पारिन्छ ?” यो प्रश्नले मेरो दिमागमा तर्कहरुको मन्थन भयो । यो कस्तो प्रश्न के ? के भनेर जवाफ दिउँ ? प्रेम पहिले हुन्छ भनौँ भने उसको अपेक्षा ‘पहिले मन पारिन्छ’ भन्नु पो हो कि । पहिले मन पारिन्छ अनि प्रेम हुन्छ भनौँ भने उसले खोजेको जवाफ ‘प्र्रेम पहिले हुन्छ’ पो हो कि । उसको मन जित्ने प्रयासमा लागेको म यो प्रश्नले निकै बेर घोचिरह्यो । के जवाफ दिउँ ? के जवाफ दिउँ भयो । अब त झन मेरो गलत जवाफले उसको मन भड्किने हो कि भन्ने डरले दिमागमा राज गरिरह्यो । केहि सिप नचलेपछि म आफैले प्रतिप्रश्न गरेँ—“तिमीलाई के लाग्छ नि ?”

मेरो प्रतिप्रश्नले ऊ केहिबेर मौन बसी । मैले फेरी पनि उहि प्रश्न दोहो¥याएँ । उसले अड्को थापेर रिप्लाई गरी—“पहिलो प्रश्न मेरो हो । पहिलो जवाफ पनि मैले नै पाउनुपर्छ ।” अब त मैले जवाफ खोज्नै पथ्र्यो । केहि बेर सोँचेँ अनि जवाफ दिएँ—“मन परेको चिजलाई त हो प्रेम गर्ने ।” उसले फेरी अड्को थापी—“मन परेको सबै चिजलाई प्रेम गर्ने भाग्य कहाँ हुन्छ ?” “तर प्रेम त मन परेको चिज सङ्ग त हुन्छ नि”, मैले जवाफ फर्काएँ । मेरो जवाफले ऊ शान्त त भई । तर, उसले चित्तबुझ्दो जवाफ पाएकी थिइन होला । कारण, उसको प्रश्न र मेरो जवाफको तालमेल मिलेको थिएन सायद । तालमेल यस कारण थिएन, उसको अपेक्षा ‘प्रेम गरिन्छ’ थियो, मेरो जवाफ ‘प्रेम हुन्छ’ थियो । 

हो, मेरो उसँग प्रेम थियो । पहिलो पटक काठमाडौको रात्रि यात्रामा देख्दा नै ऊ राम्री लागेर मन परेकी थिई । अब, ऊ मसँग नजिक थिई र त उसँग मेरो प्रेम भयो । उसले मेरो बारेमा के सोँच्छे थाहा छैन, तर ऊ मेरो जीवनको महत्वपूर्ण हिस्सा बने हुन्थ्यो भन्ने चाहत दिल र दिमागमा गर्भासयको भ्रुण जसरी बढिरहेको थियो । मैले धेरै पटक उसलाई ‘म तिमीलाई दिलैदेखि चाहान्छु’ भनेर भन्न नखोजेको होइन तर म आफैमा अन्तर्मुखी स्वाभावको मान्छे, त्यो हिम्मत मभित्र कहिले पलाउने ? लाखौँ पटक हिम्मत जुटाउँदा पनि उसलाई मैले प्रेम प्रस्ताव राख्न सकिरहेको थिएन । मलाई डर थियो, मेरो प्रस्तावले उसँगको सम्बन्ध नै बिग्रिएला भन्ने । कमसेकम, फेसबुकमै भएपनि पाएको यो मिठो सामिप्यता गुम्ला भन्ने ।

यो प्रेम भन्ने चिज नै के होला वास्तवमा ? खुसीले मन बोल्छ पनि, पीडाले मन पिरोल्छ पनि । कहिले गुलियोे कहानी बनेर हसाउँछ पनि, कहिले नुनिलो पानी बनेर रसाउँछ पनि । ऊप्रतिको एकोहोरो प्रेमलाई म के भनेर नाम दिउँ ? कहिले लाग्थ्यो, उसले पनि मलाई चाहान्छे र त मज्जाले बोल्छे । फेरी कहिले लाग्थ्यो, उसले मलाई टाइम पासको लागि प्रयोग गरेकी छे र त अभावमा मात्र बोल्छे । यि यस्ता कुराहरुले पनि हदैसम्मको आत्मचोट दिँदा रैछन्, नदेखिने गरी, अनि असह्य हुने गरी । कहिले लाग्थ्यो, मन—मन हैन जस्तो । कहिले लाग्थ्यो, जीवन—जीवन हैन जस्तो । ऊप्रतिको आशक्ति जति बढेर जान्थ्यो, दिल पनि भित्र—भित्रै त्यति डढेर जान्थ्यो ।  कहिलेकाहीँ सोच्थेँ, गल्ति मेरै हो । कि त मैले जे पर्ला त्यहि टर्ला भनेर मनको कुरा भन्नुपथ्र्यो । होइन भने त उसको दोष नै के छ र ? म आफैले प्रस्ताव राख्ने हिम्मत जुटाउन नसक्ने अनि उसको बारेमा अनेकधारी सोचाईँ राखेर किन आफैलाई पल—पल दुखाउने ? अन्त्यमा दोषी आफैलाई बनाउँथे र सान्त्वना दिएर मनलाई खुसी बनाउने अस्थायी प्रयास गर्थेँ । 

म कतिसम्म अन्तर्मुखी छु भने प्रेम प्रस्ताव राख्ने कुरा त परै छोडौँ, बोल्न थालेको यति लामो समय पुग्दासम्म पनि मैले उसको मोवाइल नम्बर माग्न सकिरहेको थिएन । रक्सीले कहिलेकाहीँ गज्जबको काम पनि गर्छ । एक साँझ साथीहरुसँग होटलमा बसेर राति १० बजेसम्म भोड्का पिएँ । थोरै होइन अलि बढि नै । एकजना साथीले फ्रान्सको लागि गरेको प्रोसेस सफल भएको खुसियालीमा दिएको ट्रिट । त्यो ट्रिट मेरो लागि त हिम्मत पो बनेर आयो । राति कोठामा फर्केपछि मैले म्यासेन्जरमा उसलाई नम्बर मागेँ । यदि मलाई रक्सीको नसाले छोएको हुन्थेन भने त्यो सायद सम्भव नै थिएन । तर उसको जवाफ छोरा मान्छेको हर्कतसँग जोडिएर आयो । लेखेकी थिई—“आखिर सबै केटाहरु उस्तै हुन् । आफ्नो स्वाभाव त देखाइहाल्छन् ।”

उसको यो जवाफले रक्सीको नसा पुरै उत्रे जस्तो भो । मोबाइलको अक्षर पढ्न खोज्दा आँखा तिरमिराउने नसाबाट म यसरी बाहिर निस्किएँ कि मैले ठूलो गल्ति गरेको जस्तो भान भो । अब, मलाई कता कति डर लाग्न थाल्यो । सोचेँ, कतै यहि कुरालाई इस्यु बनाएर म बाट टाढिने पो हो कि ? फेरी अर्को मनले सोचेँ, मैले बढी के नै गरेको छु र ? सिर्फ उसको नम्बर मागेको त हो नी ? अब भने मैले मेरो कुरालाई सन्तुलन गर्नु थियो, त्यसैले मैले टाइप गरेर सेन्ड बटन थिचेँ—“अन्यथा नलेऊ । मैले तिम्रो नम्बर मागेर ठूलै गल्ति गरेको रैछु भने एकदम सरी, कस्सम, मनैदेखि सरी ।”

मेरो यो रिप्लाइ पछि ऊ केहिबेर मौन बसी । मैले केहिबेर उसको रेस्पोन्स कुरेँ तर कुनै जवाफ आएन । मलाई लाग्दै थियो, ऊ साँच्चिकै रिसाएकी छे । मैले फेरी पनि लेखेँ—“विश्वास गर, म दोस्रो पटक यो गल्ति गर्ने छैन । हामी यति नजिक बनिसकेका छौँ भने सेल नम्बर सेयर गर्दैमा के फरक पर्ला र भनेर मात्र मागेको । आइ एम् सो सरी ।”

यसपटक भने उसले रिप्लाई गरी । तर उसले फेरी पनि उहि वाक्यलाई दोहो¥याएकी थिई—“आखिर सबै केटाहरु उस्तै हुन् ।” मैले यो वाक्य पढ्दै गर्दा उसको रिप्लाई बटनमा टाइपिङ देखाउँदै थियो, मतलब उसले अरु थप केहि लेख्दै थिई । मुटुको ढुकढुकी तेजले बढिरहेको थियो । बेचैन भएर म बाँकी जवाफ कुरेर बसेँ । जब उसको रिप्लाईमा दुई शब्द देखेँ, मन खुसी र उत्तेजनाले भरिएर आयो । उसका पछिल्ला दुई शब्दहरु थिए, “सिवाय तिमी ।” अब भने मैले अघिल्लो वाक्यसँग मिलाएर उसको जवाफ एकै श्वासमा पढेँ—‘आखिर सबै केटाहरु उस्तै हुन्, सिवाय तिमी ।’ 

यो उसको अर्को सरप्राइज थियो । मैले अघि नै भने नि ? साँच्चिकै ! ऊ सरप्राइज दिन सिपालु थिई । पहिले छोरा मान्छेको स्वाभावसँग दाँजेर मलाई जमिनमा पछारिदिर्ई, फेरी एकै छिनमा मप्रति धेरै विश्वास भएजस्तै गरी हर्षको आकाशमा माथि पु¥याइदिई । उसको यो जवाफले म अक्न न बक्क भएँ । के लेखम्, के नलेखम् भो । ऊ आफैले लेखी—“यति लामो समयसम्म च्याटमा बोलेपछि मलाई थाहा भैसकेको छ । तिमी फरक छौ । मैले तिमीसँग ठट्टा मात्र गरेको हो, बुद्धु ।” 

यस्तो बेलामा हामीलाई अनेक संवेदनाले सताउँदो रहेछ । कहिले अनेक जवाफ आउँछन् मनमा, त कहिले विल्कुलै शून्य भइँदो रहेछ । उसको यो वाक्यसँगै मनले थेग्नै नसक्ने गरी खुसीका छालहरु उर्लिरहे । म यतिबेला सबैभन्दा निःशब्द थिएँ । पीडाले मात्र होइन, कहिलेकाहीँ अधिक खुसीले पनि जवाफ दिने शब्दहरुको खडेरी पर्दो रैछ । हो, म यतिखेर यहि हालतमा गुज्रिएको थिएँ । 

जवाफ फर्काउनलाई केहि नभएपछि मैले ‘थ्याङ्क्स’ लेखेर पठाएँ । तत्कालै एनसेलको १० वटा अंकहरु मेरो म्यासेन्जरमा देखियो । उसले आफ्नो नम्बर मलाई पठाएको केहि बेरमै ऊ अफलाइन भई । मैले उतिबेलै म्यासेन्जरबाट नम्बर कपि गरेर फोन डायल गर्ने कि—प्याडमा पेष्ट गरेँ र उसको नाम दिएर सेभ गरेँ—‘बर्षा’ । अंग्रेजी अक्षर ‘बि’ बाट नाम आउने अरु केही साथीहरुको नाम पनि सेभ थियो फोनबुकमा — विकास, बिपिन, बिश्वास । अल्फाबेटिकल अर्डरले गर्दा यि नामहरुभन्दा माथिल्लो भागमा उसको नाम सुरक्षित भयो, आजकै दिनदेखि—‘बर्षा’, सबैभन्दा सुन्दर र आत्मीय नाम बनेर ।

क्रमश...

प्राप्त प्रतिकृयाहरू

अनुप बुढा मगर लेख्नुहुन्छ (२०७६ श्रावण १ बुधबार ०७:२६ am )

साह्रै मन छुने शब्दहरु लेख्नु भएको छ सर। यस्लाई प्रकाशित गरि हरेक पाठक वर्गको हातमा र मुखमा झुन्डिरहोस तपाईको नाम काम र यो लेखको विषयमा।

chandra bhandari लेख्नुहुन्छ (२०७६ असार ३० सोमबार ११:४८ am )

wa????????✌✌

Dilendra Budha Magar लेख्नुहुन्छ (२०७६ असार २७ शुक्रबार ८:२१ pm )

सारै नै मनमोहक ढड़्गमा लेखिएको कथा सर

रबिन्द्र कडेल लेख्नुहुन्छ (२०७६ असार २७ शुक्रबार ७:५९ pm )

प्रेम भन्ने चिज नै के होला वास्तवमा ? खुसीले मन बोल्छ पनि, पीडाले मन पिरोल्छ पनि । कहिले गुलियोे कहानी बनेर हसाउँछ पनि, कहिले नुनिलो पानी बनेर रसाउँछ पनि । ऊप्रतिको एकोहोरो प्रेमलाई म के भनेर नाम दिउँ ? ... उत्तर त म सङ पनि छैन .. प्रेम किन कसरी कहिले को सङ हुन्छ ? उतर सायद शेक्सपियर सङ पनि थिएन होला .. मन छोयो ..।।

Immanuel ido लेख्नुहुन्छ (२०७६ असार २७ शुक्रबार ०७:४१ am )

हिमशिखरहरु प्रकाशको प्रचण्ड तापले पग्लिएर तरल भै बगे जस्तै सजल पनि वर्षाको प्रेमको नदीमा बग्दै हुनुहुन्छ। श्रीङ्खला बद्द रूपमा लेखकको हृदयबाट शुद्ध र सरल भाषामा समायजित गरेर लेखिएको कथाले थप प्रिय पाठकहरूको मन जित्न प्रेरित गर्नेछ। अन्तमा कथाले कस्तो मोड लिने हो त्यसैको प्रखाईमा छु।

BIJAYA GARTI MAGAR लेख्नुहुन्छ (२०७६ असार २६ बिहीबार ११:२२ pm )

Mind blowing ????????

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय