७ बैशाख २०८१, शुक्रबार

कुलोमा डुबेर बालकको मृत्यु

दाङ । कुलोमा डुबेर दाङमा एक जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ अगरा बस्ने हर्कबहादुर खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्री रहेका छन ।

घर नजीकैको कुलोमा गएराति ९ बजे डुबेका बालकको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । उनको शव सोही अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बबई नदीले बगाउँदा बेपत्ता

बबई नदीले बगाउँदा बबई गाउँपालिका–१ का वडा सदस्य पूर्णकली विकका बुबा ६० वर्षीय भुपाल कामी बेपत्ता भएका छन । गङ्गटेस्थित वडा कार्यालयबाट भत्ता बुझेर घर फर्कने क्रममा बबई नदी तर्दै गर्दा उनलाई गत असार २७ गते करीब ५ः३० बजे नदीले बगाएको थियो ।

बेपत्ता भएका कामीको अवस्था अझै अज्ञात रहेको वडासदस्य विकले जानकारी दिए । विकट वडा भएकाले सञ्चारको पहुँच नहुँदा प्रहरी तथा गाउँपालिकासम्म खबर गर्न पनि समस्या भएको र हिजो मात्र जानकारी गराएको वडा सदस्य विकले बताए ।

स्थानीयवासीको सक्रियतामा खोजी जारी रहे पनि नदीमा पानीको सतह बढेकाले समस्या भइरहेको उहाँको भनाइ छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्