८ बैशाख २०८१, शनिबार

गौतमबुद्ध विमानस्थल निर्माणको समयावधि थप

बुटवल । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने उनले उल्लेख गरे । ‘आगामी पुससम्म सबै काम सक्ने योजनाका साथ काम भइरहेको छ, अहिले धावनमार्ग, एप्रोन, ट्याक्सी बे को निर्माण भइसकेको छ’ उनले भने, ‘अब, भवनको फिनिसिङ र लाइटिङको काम मात्र बाँकी भएकाले त्यो पनि छिट्टै सक्ने गरी काम अघि बढाइएको छ ।’

विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ । विमानस्थलको तीन हजार ६० मिटरको धावनमार्गको मुख्य काम पनि सकिएको छ । सन २०१७ को डिसेम्बर महिनामा निर्माण सक्ने लक्ष्यसहित निर्माण शुरु भएको विमानस्थलको यसअघि १८ जुन २०१८ मा सक्ने लक्ष्य गरिएको थियो । पछिल्लो पटक २८ जुन २०१९ भित्र निर्माण सक्ने योजना थियो ।

उक्त विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । विमानस्थल निर्माणमा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग छ । सन २०१४ को डिसेम्बर ३१ बाट निर्माण शुरु गरिएको गौतमबुद्ध विमानस्थलकोे ६ अर्ब २२ करोड ५१ लाख लगानी रहेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्