७ बैशाख २०८१, शुक्रबार

रेसुङ्गामा साउने मेला सुरु  

गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गुल्मीको रेसुङ्गामा साउने मेला सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घासको शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा मन्दिर व्यवस्थापन समितिले साउनभर मेला आयोजना गरेको हो  । 

विगतमा साउन १ गतेबाट मेला सुरु हुने गरेतापनि यसवर्ष चन्द्र ग्रहणको प्रभावले साउन २ गतेबाट मेला सुरु भएको हो । एक महिनासम्म धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पुजा संञ्चालन आयोजना हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेसचन्द्र भुसालले जानकारी दिए । धार्मिक स्थल रेसुङ्गमा पुजा आज गर्न गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा बागलुङ्ग प्यूठान, रुपन्देहीलगायतका नेपालका बिभिन्न ठाउँबाट  श्रद्धालु भक्तजनहरु मेलामा आउने गर्दछन् । धार्मिक स्थल पोखरीमा नुहाउन तथा पुजाआज गर्न साउन भर भक्तजनको भिडभाड लाग्ने गर्दछ  ।

नेपालकै चार धाम मध्येकै एक धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहिआएको छ । साउन भर सञ्चालन हुने मेलमा साउन १ गते र साउने औँशी, एकादशीका दिन बिशेष मेला लाग्ने गर्दछ । 

धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर धेरै मनमोहक दृश्य देख्न सकिन्छ ।  सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडिको यात्रापछि यहाँ पुग्न सकिन्छ । केहि वर्षअघि मात्र तपोभुमी रेसुङ्गामा सवारीका साधन पुगेको हो । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ । 

खास महत्व के छ ?

धार्मिक एवम् पर्यटकीय क्षेत्र प्रचुर मात्रामा प्रचार नहुँदा ओझेलमा परेको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा भएका महत्वलाई जनमानसमा ल्याउन नसक्दा ओझेलमा परेको  हो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ । प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको पुराणवाचक चैतन्य कृष्णले बताए ।

रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेको रेसुङ्गा संरक्षण समिति अध्यक्ष सुरेश चन्द्र भुसालले बताए । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै क्षेत्र भित्र पर्दछन् ।

रेसुङ्गाको द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको भुसालले बताए । सिद्धभूमि, तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास छ । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर, पुण्य भूमि बनेको छ ।

समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखलालगायतका दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्