१६ चैत २०८०, शुक्रबार

भारतबाट ल्याएको लागुऔषध सहित सुर्खेतका तीन जना पक्राउ

नेपालगञ्ज । भारतबाट लागुऔषध बोकेर फर्कदै गरेका सुर्खेतका तीन जना पक्राउ परेका छन । भारतबाट ब्राउनसुगर बोकेर आउँदा अमृत विक, चन्द्रबहादुर विक र दिपेन्द्र ठाकुरलाई जमुनाहा प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरोका इन्चार्ज प्रहरी निरीक्षक बीरबहादुर थापाले लागुऔषध बोकेर आएका उनीहरुलाई जाँचका क्रममा पक्राउ गरिएको बताए । उनका अनुसार ठाकुरको साथबाट पाँच ग्राम र अमृतको साथबाट नौ ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर फेलापरेको थियो । चन्द्रबहादुरको साथबाट ब्राउनसुगर नभेटिए पनि उनीहरु एउटै समूहको भएका प्रहरीको भनाई छ ।

‘हिजो भारत गएर राती बसे । बिहान ब्राउनसुगर बोकेर फर्किदा नाकामा पक्राउ परेका हुन’, ब्यूरोका इन्चार्ज थापाले भने, ‘तीन जनाले ब्राउनसुगर प्रयोगकर्ता भएको स्वीकार गरेका छन्। । लागुऔषधको मात्रा हेर्दा उनीहरु प्रयोगकर्ता मात्रै होइन, कारोबारी नै हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।’

उनीहरुले भारतको नानपारा नजिकको मटेराबाट ब्राउनसुगर किनेर ल्याएका थिए । सीमावर्ती शहर रुपैडिहामा भारतीय प्रहरी र एसएसबीले कडाई गरेपछि लागुऔषधको कारोबार अहिले मटेरा, नानपारा, बाबागञ्जबाट भइरहेको छ ।

रुपैडिहामा लागुऔषधको सहजै कारोबार हुँदा नेपालतिर विकृति बढेको गुनासो बारम्बार गरेपछि भारतीय प्रहरीले रुपैडिहाका ‘डिलर’लाई निगरानी गरेका छन्। । जसले गर्दा अहिले कतिपय डिलर सञ्चालक फरार रहेका छन्। । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्