८ बैशाख २०८१, शनिबार

बाँके र रोल्पामा आङ्गिक क्याम्पस 

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयलले आउँदो शैक्षिक सत्रबाट दुई वटा आङ्गिक क्याम्पस थप गर्ने भएको छ । बाँकेको खजुरा र रोल्पाको लिवाङस्थित माडीचौरमा कृषि स्नातक पढाउने गरी आङ्गिक क्याम्पस थप गर्ने भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा मनराज कोलक्ष्यपतिका अनुसार ती दुवै स्थानको जग्गा विश्वविद्यालयको नाममा आइसकेको छ । विश्वविद्यालयले जनशक्ति आपूर्तिका लागि विश्वविद्यालय सेवा आयोगमा पठाइसकेको छ । सम्पूर्ण प्रक्रिया पूरा भएकाले आउँदो शैक्षिक सत्रबाट ती दुवै ठाउँमा ५० जनाका दरले कृषि स्नातकका विद्यार्थी पढाइ शुरु गर्ने उनले जानकारी दिए ।

असोज महीनाको आसपासमा विश्वविद्यालयले नयाँ शैक्षिकसत्रका लागि भर्ना खुलाउने गर्दछ । यसअघि विश्वविद्यालयका छ वटा आङ्गिक क्याम्पस सञ्चालनमा रहेका छन । कास्कीको पुरनचौर, सिन्धुलीको कपिलाकोट, धनकुटाको पाख्रीबास, महोत्तरीको बर्दिवास र कैलालीको टीकापुरमा कृषि स्नातक पढाइ हुँदै आएको छ ।

उदयपुरको कटारीमा वन स्नातक पढाइ हुन्छ । ती सबै क्याम्पसमा ५० जनाको दरले विद्यार्थी भर्ना गरी पढाइँदै आएको छ । विश्वविद्यालयले अन्य पाँच वटा आङ्गिक क्याम्पस स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ । विश्वविद्यालयबाट सम्बन्धन पाएका सात निजी क्याम्पसले विद्यार्थी भर्ना लिई पठनपाठन गर्दै आएका छन । यो विश्वविद्यालय ११ वर्षअघि स्थापना भएको हो । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्