रोपाई गर्ने सिजनमा रामपुर नहर भत्कियो 

पाल्पा । जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालित रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको नहर अहिले धान रोप्ने समयमा भत्किएपछि कृषक चिन्तित बनेका छन । 

धान रोप्न कृषक आत्तिएपछि काम नसकिँदै पानी सञ्चालन गर्दा भत्किन पुगेको उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताए । विभिन्न भागमा निर्माणकार्य भइरहेका बखत नहरमा एक्कासि ठूलो पानी छाडेकाले बन्दै गरेको पर्खाल भत्किन पुगेको हो । गत वैशाखको पहिलो हप्ताबाट मर्मतकार्य शुरु भएको मूल नहरको रजघरा क्षेत्रमा करीब ८० मिटर पर्खाल भत्किएको छ ।

असारको अन्तिमसम्म काम गरेका निर्माण व्यवसायीले सल्लाह नै नगरी एक्कासि ठूलो पानी छाड्नाले करोडैको क्षती भएको भएको ब्रदर्श कन्ट्राक्टिङ एण्ड कन्स्ट्रक्सन प्रालिका समशुलहक मियाँले बताए । “साउन १ गतेदेखि तीन चरण गरेर पानी छाड्ने समितिसँग कुरा भएकामा एक्कासि एक मिटर २० सेमीको उचाइसम्म पानी छाड्दा भर्खर ढलान भएको पर्खाल थेग्न नसकेर भत्कन पुग्यो”, उनले भने ।

समयमा निर्माण नगर्ने तथा आलटाल गरेर बस्ने, अन्तिममा आएपछि ठेक्का आह्वान गरेर काम गराउने परिपाटीले नहर क्षति हुन पुगेको स्थानीय पिताम्बर गौतमले बताए । प्रदेश ५ भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत १० करोड बोलपत्र आह्वान भएकामा ७ करोड ४१ लाखको लागतमा नहर मर्मतको कार्य शुरु भएको थियो ।

मूल नहरको दुई हजार ८ सय मिटर बढी आरसीसी पर्खालसहितको ढलान, ३ हजार ३ सय मिटर बढी शाखा नहरको मर्मतका लागि रहेको छ । शाखामा विभाजन गरी तीन निर्माण कम्पनीले खुला प्रतिस्पर्धाबाट सात करोड ५१ लाखमा नहर ठेक्का लिएका थिए ।

निर्माणकार्य सम्पन्न हुन बाँकी रहेकाले अहिले भत्केका संरचना निर्माण गर्ने र बाँकी भाग बाली भित्र्याएपछि शुरु गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख श्रीधर भट्टराईले बताए ।

साविक रामपुर, दर्छा र खालिवन गाउँ विकास समितिका तल्लो क्षेत्रमा रहेका जमीनलाई सिँचाइ गर्नका लागि ठूलो लगानीमा नहर निर्माण गरिएको हो । साविक दर्छा गाविसको ओइरेघाटमा बाँध बाँधेर निस्दीखोलाको पानीलाई सिँचाइका लागि ल्याएपछि बाँझिएका जमीन सदुपयोगमा आएका छन्।

झण्डै २२ किमी लम्बाइ रहेको यस नहरबाट ३ हजार ९ सय १० घरपरिवारको ७ सय ७० हेक्टर क्षेत्रफल जमीन सिञ्चित हुने गरेको छ । अहिले भने पुनःनिर्माणको सर्वेक्षण गरेपछि सिञ्चित क्षेत्रफल १ हजार २ सय पुगेको छ ।

यस नहरबाट यहाँका १९ हजार ९२१ जनसङ्ख्या लाभान्वित भएका छन्। मूल नहरबाट पाँच शाखा र ४१ उपशाखा रहेको छ। नहरबाट सिञ्चित क्षेत्रफल घट्दो र मालपोत कार्यालयबाट लगत कट्टा हुने क्रम बढ्दो छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय